टेकु अस्पतालको सर्भे : वयस्कमा भन्दा ६५ वर्ष माथिकालाई खोपले देखाउने असर कम

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

कोभिड १९ विरुद्धको खोप लगाएपछि शरीरमा त्यसको विभिन्न प्रतिअसरहरु देखिने गर्छन्। त्यो प्रतिअसर सामान्यदेखि जटिल खालका हुन्छन्।

सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, थकाई र आलस्य महसुस हुने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी हुने, वान्ता आउने, माशंपेसी वा जोर्नी दुख्ने र फ्लुको जस्तो लक्षण यसको सामान्य असरहरु हुन्।

तर खोप लगाएपछि शरीरमा एलर्जिक प्रतिक्रिया पनि देखिन्छन्। जसलाई चिकित्सकले गम्भीर खालका असरको रुपमा परिभाषित गरेका छन्।

सरकारले फागुन २३ गतेदेखि ६५ वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई खोप लगाइरहेको छ। उनीहरुमा खोपले देखाउने असर कस्तो हुन्छ?

यो प्रश्नमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु) अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला भन्छन्, ‘६५ वर्ष माथिका व्यक्तिमा वयस्कमा भन्दा खोपले देखाउने असरको समस्या कम देखिन्छ।’

वयस्कमा भन्दा यो उमेर समूहका व्यक्तिमा खोपले देखाउने प्रतिअसर कम देखिने कारणबारे यकिन नभएपनि इम्युन रेस्पोन्स कम भएका कारण यो हुन सक्ने उनी बताउँछन्। उनीहरुमा सामान्य मात्र नभई गम्भीर खालका प्रतिअसर समेत देखिने संभावना कम हुने उनले बताए।

यद्यपि कोरोना संक्रमणका कारण सिकिस्त नभई निमोनिया हुने जोखिम भने बढी हुने भ्एकाले सर्तक रहन उनको सुझाव छ। विशेषगरी दीर्घ रोग हुनेहरुमा कोरोनाले जटिलता बढाउने खतरा धेरै हुने उनले बताए। कोरोना संक्रमण र यसले निम्त्याउने जटिलताबाट बच्नका लागि खोप लगाउन डा बास्तोलाको सुझाव छ।

उनले भने, ‘कोरोना संक्रमणको जोखिममा उहाँहरु पर्नुहुन्छ। त्यसैले सरकारले उपलब्ध गराएको खोप लगाउन सबैलाई आग्रह गर्छु।’

शुक्रराज अस्पतालले फागुन २३ गते खोप लगाएका ज्येष्ठ नागरिकलाई खोप लगाएपछि के कस्तो असरहरु देखियो भनेर ९४ जनासँग सम्पर्क समेत गरेको थियो। उनीहरुको औसत उमेर ७१ थियो। ९४ जनामध्ये ४७ जनामा खोप लगाएपछि कुनै न कुनै समस्या देखिएको डा बास्तोलाले बताए।

२४ जनामा खोप लगाएको ठाउँमा दुखेको, १४ जनामा शरीर दुखेको, १० जनामा जाडोको अनुभव भएको, ७ जनामा ज्वरो आएको, ५ जनामा थकान महसुस, ५ जनामा रिगंटा लागेको र १/१ जनामा पखाला तथा जोर्नीको दुखाई र कमजोरी भएको पाइएको छ।

यी समस्याहरु आफैँ निको भएका र कसैले सामान्य औषधिको प्रयोगबाट ठिक भएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *