अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न

खेलकूद विशेष समाचार समाचार स्वास्थ्य

 

न्यूज अपडेट
भक्तपुर, १ चैत्र


भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम शनिबार सम्पन्न भयो । सहिद दिवसको अवसरमा आयोजित उक्त खेलकुद प्रतियोगिता कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले पानसमा दिप प्रज्ज्वल गरी गरे ।

कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेंले बुद्धिचाल खेल एक प्रकारको लडाईं हो भन्दै राजनीतिक कार्यकर्तामा भएको नागरिक भावनाको कमीले उनीहरुको उद्देश्य र व्यवहारमा भिन्नता देखिएको र यसमा शासक दल जिम्मेवार रहेको उल्लेख गरे ।

भक्तपुर नपाद्वारा विद्यालयस्तरमा लागू गरेको स्थानीय पाठ्यक्रममा नागरिक भावना र देशभक्तिपूर्ण पाठहरु समावेश गर्नुपर्ने बताउदै उनले खेलाडीहरुले खेलकुदको माध्यमबाट देशलाई चिनाउने अवसरको रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

बुद्धिचाल खेल बौद्धिक खेल भएको र यसले खेलाडीहरुको मानसिक विकासमा समेत टेवा पुयाउने बताउदै अध्यक्ष रोहितले खेलकुद मित्रताको लागि खेलिनुपर्ने र शारीरिक स्वस्थताको निम्ति पनि खेलकुद अपरिहार्य रहेको उल्लेख गरे ।

भक्तपुर नपाले आयोजना गरेको नगरस्तरीय र विद्यालयस्तरीय खेलकुद प्रतियोगितालाई खेलकुद महोत्सवको रुपमा व्याख्या हुँदै खेलाडीहरुलाई आत्मकेन्द्रित भई खेल–खेलको निम्ति मात्र नभई देशको सार्वभौमिकता रक्षाको निम्ति पनि हो — उनले भने ।

कार्यक्रमका सभापति एवं नगर प्रमुख सुनिल प्रजापतिले भक्तप्र नगर चार दिनसम्म खेलकुदमय हुने बताउदै प्रतियोगिता व्यवस्थित र अनुशासित ढंगले सम्पन्न हुने आशा व्यक्त गरे । भक्तपुर नपाले प्रतिकूल अवस्थालाई पनि अनुकूलतामा परिणत गरी यो वर्ष अन्तर नगर बुद्धिचाल प्रतियोगिता सञ्चालन गर्न लागिरहेको बताउँदै भक्तपुर नगरलाई बुद्धिचाल खेलमार्फत चिनाउन र खेलाडीलाई उत्साहित बनाउन यो खेल प्रतियोगिता आयोजना गरेको उनले बताए ।

कार्यक्रममा बागमती प्रदेशका सभासद सुरेन्द्रराज गोसाईले नयाँ पुस्तालाई भक्तपुरका अग्रज व्यक्तित्व र सहिदहरुको योगदानबारे यथार्थ जानकारी दिनु हाम्रो कर्तव्य हो भने । तीस वर्षमा शासक दलहरुले नेपालीहरुको जीवनमा कुनै परिवर्तन ल्याउन नसकेको बताउदै उनले दुर्गम जिल्लामा भोकमरी, अशान्ति, हत्या, हिंसाको समस्या ज्यूँका त्यूँ रहेको जिकिर गरे ।

सभासद गोसाईले युवा विद्यार्थीले देशको राजनीतिलाई अलग्ग राख्न नहुने बताउदै देशमा अहिले शासक दलका नेताहरुमा नैतिकताको चरम अभाव रहेको बताए । उनले खेलाडीहरुलाई मित्रवत् एवं अनुशासित ढंगले खेलमा सहभागी हुन सम्पूर्ण खेलाडीहरुलाई प्रोत्साहित गरे ।

भनपाका उपप्रमुख रजनी जोशीले भनपाद्वारा आयोजित खेल प्रतियोगिताले नगरबासी फूर्तिलो र उत्साहित हुनेमा आशा व्यक्त गर्दै भक्तपुर बुद्धिचाल खेलमा अग्रपंक्तिमा रहेको बताए । खेलकुद प्रतियोगिता हारजीत भन्दा पनि भाइचारा र सहिष्णुताको लागि खेलिनुपर्ने उनले बताए ।

कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले खेलकुद प्रतियोगिता र खेलाडी सम्मानले खेलाडीहरुमा उत्साह थप्ने र खेल विकासमा टेवा पुग्ने बताउदै खेलकुद प्रतियोगिताले विद्यार्थीको शारीरिक र मानसिक विकासमा मद्दत पुग्नुका साथै देशको गौरव पनि बढाउने उल्लेख गरे ।

नेपाल बुद्धिचाल संघका अध्यक्ष एकलाल श्रेष्ठले कोभिडको महामारी कम हुँदै गएको अवस्थामा नेपाल बुद्धिचाल संघले विभिन्न खेल प्रतियोगिताको शुभारम्भ गरिसकेको बताउदै खेलाडीहरुमा बौद्धिकता विकासको निम्ति बुद्धिचाल खेलमा संलग्नता आवश्यक छ भने । बुद्धिचाल खेल शारिरीक र बौद्धिक खेल भएको बताउदै नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा सर्वाधिक सहभागिता हुने लोकप्रिय खेलको रुपमा बुद्धिचाल रहेको बताए ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले खेलकुद मानव जीवनको अड्ड हो र व्यक्तित्व विकाससँग पनि खेलकुद जोडिएको हुँदा खेलकुदले मानव जीवनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले खेलकुदमा लागेका युवाहरु विग्रिन्छ भन्ने कथन गलत सावित हुँदै गएका छ भन्दै बौद्धिक खेलमा युवाहरुलाई उत्साहित गनुपर्नेमा जोड दिए ।

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले शुभकामना मन्तव्य दिनुहुँदै अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुको व्यक्तित्व विकासमा तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न मद्दत पुरयाउने बताए ।

कार्यक्रममा घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले प्रतियोगिताको पूर्ण सफलताको कामना गर्दै प्रतियोगितालाई मित्रताको हिसाबमा लिई खेलमा सहभागी हुन प्रेरित गरे । खेलकुद विकासले युवाहरुको सर्वाड्डिण विकासमा मद्दत पुरयाउने बताउदै उनले विद्यार्थीहरुलाई शिक्षा सँगसँगै खेलकुदमा पनि अगाडि बढाउनु आवश्यक छ भने ।

कार्यक्रममा भक्तपुर नगरपालिकाको तर्फबाट भनपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले धन्यवाद ज्ञापन गरेको थियो भने रेफ्रीको तर्फबाट निरन्जन प्रजापति र खेलाडीको तर्फबाट सुमन सुवालले खेललाई अनुशासित र निष्पक्ष ढंगले सञ्चालन गर्ने प्रतिबद्धता सहित सपथ ग्रहण गरेको थियो ।

अन्तर नगर खेलकुद प्रतियोगिताको उद्घाटन ¥याली भक्तपुर नगरपालिका वडा नं. १ वडा कार्यालय अगाडिबाट शुरु भई भार्वाचो, वंशागोपाल, नासमना, टौमढी, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रय, सूर्यमढी, च्याम्हासिंह हुँदै माहेश्वरी बैंक्वेटमा सभास्थलसम्म पुगी टुंगिएको थियो । रयालीमा मूल ब्यानर सहित जनप्रतिनिधिहरु, पूर्व जनप्रनिधिहरु, प्लेकार्डसहित सहभागी नगरपालिकाका पदाधिकारी तथा खेलाडीहरु, भनपाका प्रशिक्षार्थीहरु, महिला स्वास्थ्य स्वयम्सेविकाहरु, आत्मरक्षाका प्रशिक्षक, बक्सिड्डका प्रशिक्षक र प्रशिक्षार्थीहरु, विभिन्न बाजा समूहहरु तथा भनपाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

२२ वटा नगरपालिकाहरुको सहभागिता रहेको अन्तरनगर बुद्धिचाल प्रतियोगिता आज दिनको १ः०० बजेबाट माहेश्वरी बैंक्वेटको हलमा शुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *