सेतो मच्छिन्द्रनाथको प्रवलीकरण शुरु

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडौं, १७ फागुन

काठमाडौं महानगरपालिका–३५ जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणको कार्य शुरु भएको छ ।
आइतवार बिहान मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले यी कार्यको संयुक्त रुपमा शिलान्यास गरे।
०७२ को भूकम्पबाट क्षतिग्रस्त यो मन्दिरको भारत सरकारको ६ करोड २६ लाख रुपैयाँ अनुदान सहयोगमा प्रवलीकरण हुन लागेको हो ।
सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्घता जनाएको करिब ५ अर्ब ८० करोड  रुपैयाँ (५० मिलियन अमेरिकी डलर) आर्थिक अनुदानअन्तर्गत पुनर्निर्माण हुन लागेका २८ सम्पदामध्ये यो पहिलो परियोजना हो ।
शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरानै प्रविधि, परम्परागत निर्माण सामग्री प्रयोग गरेर मन्दिरको प्रवलीकरण गरिने बताए । भूकमपबाट क्षतिग्रस्त ४६५ पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भइसकेको उल्लेख गर्दै उनले भारत सरकारको सहयोगमा पुनर्निर्माण हुने सम्पदाहरुको काम अगाडि बढ्ने जानकारी दिए।
भारतीय राजदूत क्वात्राले नेपालका पुरातात्विक सम्पदा दुई देशको सम्बन्धमा आधारशीला भएको उल्लेख गर्दै यी सम्पदा संरक्षणमा गर्न पाउनु भारतका लागि खुशीको कुरा भएको उल्लेख गरे।

सो अवसरमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले विभिन्न सम्पदाहरुको संरक्षण तथा पुनर्निर्माणमा सहयोग गरिरहेको जानकारी दिए ।
सम्पदा पुनर्निर्माण तथा प्रवलीकरणको डिजाइन तथा पुरातात्विक अनुगमन पुरातत्व विभागले गर्दछ भने प्राधिकरणमातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले ठूला सम्पदाको कार्यान्वयन गराउँछ । यी सम्पदाहरु नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्डअनुरूप प्रवलीकरण गरिने छन् ।
सबै सम्पदाको पुनर्निर्माण गर्ने क्रममा तिनको मौलिकता, परम्परागत महत्व, स्थानीय परम्परा, मूल्य र मान्यतालाई ध्यानमा राख्दै प्राचीन सामग्री प्रयोग गरिने जानकारी केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले दिए ।
सेतो मच्छिन्द्रनाथको मन्दिर १० औँ शताब्दीमा मल्ल युगमा निर्माण गरिएको विश्वास छ । यो मन्दिर सामाजिक, धार्मिक सहिष्णुताका लागि प्रख्यात छ । सेतो मच्छिन्द्रनाथलाई हिन्दू र बौद्ध धर्मावलम्बीले समान आस्थाका साथ पूजाआजा गर्दै आएका छन् ।
शिलान्यास अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *