बर्डफ्लू : काठमाडौंको सांलेखोला वरपरका स्थानीयमा स्वास्थ्य समस्या देखिए खबर गर्न अनुरोध

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १८ माघ

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बर्डफ्लु (एच५एन८) देखिएको तारकेश्वर नगरपालिका सांलेखोलाका स्थानीयलाई स्वास्थ्यमा समस्या देखिए तुरुन्त खबर गर्न अनुरोध गरेको छ। पशु सेवा विभागले माघ १७ गते उक्त स्थानमा बर्ड फ्लू देखिएको पुष्टि गरेको थियो।

चरावर्गमा असर पार्ने यो भाइरसले मानव स्वास्थ्यमा समेत जोखिम पुर्‍याउने भएकाले महाशाखाले उक्त क्षेत्रका बासिन्दालाई खबर गर्न अनुरोध गरेको हो। महाशाखाले सो क्षेत्रका स्थानीयहरूको स्वस्थ्य अवस्थालाई निगरानीमा राख्न थालिएको समेत बताएको छ।

महाशाखाले सूचना जारी गर्दै तारकेश्वर नगरपालिका सांलेखोलाका कृषकले पालेका टर्की र हाँसमा बर्डफ्लु पुष्टि भइसकेकाले सो क्षेत्रका पंक्षीहरूसँग सम्पर्कमा आएका व्यक्तिलाई ज्वरो वा रुघाखोकीका लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न अनुरोध गरेको छ।

त्यसैगरी, महाशाखाले सो स्थान वा वरपर कुनै पनि पंक्षीको शंकास्पद मृत्यु भएका तुरुन्त सम्बन्धित निकायलाई खबर गर्न, वरपरका स्थानीयमा रुघाखोकीका लक्षण भएका व्यक्तिहरुसँग सावधानीका साथ सम्पर्क गर्न, पंक्षीहरुसँग काम गर्नुपरेमा आवश्यक व्यक्तिगत सुरक्षाका उपायहरु अपनाउन र पंक्षीको मासु तथा अण्डालाई राम्रोसँग पकाएर मात्र खानसमेत महाशाखाले अनुरोध गरेको छ।

मन्त्रालयले कुनै जानकारी लिनुपरे महाशाखाको टोल फ्री नम्बर १११५ मा बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म सम्पर्क राख्न समेत महाशाखाले सूचित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *