चिसो मौसममा प्यारालाइसिसको जोखिम धेरै

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, ११ माघ

शरीरको कुनै एक भाग, हात, खुट्टा, मुख अथवा शरीरको पूरै भाग लाटो, बोधो भएर निदाएजस्तो, झमझमाएजस्तो गरेर हिँडडुल गर्न वा चलाउन नसकी कार्य सम्पादनमा सन्तुलन र समन्वय गुमाउनुलाई प्यारालाइसिस भनिन्छ। प्यारालाइसिसलाई तराइतिर लकवा पनि भनिन्छ।

प्यारालाइसिस प्रायः ६५ वर्षभन्दा बढी उमेरका पुरुषलाई बढी मात्रामा हुन्छ। करिब २० प्रतिशत मानिसलाई वंशाणुगत प्यारालाइसिस पनि हुनसक्छ। यो समस्याले विश्वमा प्रत्येक सेकेन्ड एक जना मानिसको ज्यान लिने गर्छ। विश्वमा अपांग हुने कारणमध्ये प्यारालाइसिस प्रमुख हो।

कसरी हुन्छ प्यारालाइसिस?   
मस्तिष्कमा शरीरका सबै भागहरु चलाउने केन्द्रहरु हुन्छन्। त्यसै अनुसार शरीरका सम्पूर्ण अंग चल्छन्। यदि मस्तिष्कमा भएका साना–साना नशामा केही कारणले अवरोध सिर्जना भई मस्तिष्कलाई चाहिने मात्रामा भिटामिन र अक्सिजनको कमी भई मस्तिष्कको केही भागमा कोषिकाहरु मर्न थाल्छन्। ती कोषिकाहरु कुन केन्द्रमा मर्छन्, त्यसैअनुसार शरीरका विभिन्न भागले काम गर्न छाड्छन् वा प्यारालाइसिस हुन्छ।

मस्तिष्कमा चाहिनेभन्दा बढी प्रेसरका कारण मस्तिष्कका साना–साना कोषिकाहरु फुटेर रगत जम्न जान्छ र जुन भागमा रगत जम्छ, त्यसको विपरीत दिशाका अंगहरुले काम गर्न छाड्छन् र प्यारालाइसिस देखा पर्छ।

कारण
– वंशाणुगत कारण
– उच्च रक्तचाप र चिनी रोगका कारण
– रगतमा कोलेस्ट्रोलको मात्रा अत्यधिक बढ्नु
– धूमपान र मद्यपान
– शारीरिक अभ्यासको कमी
– मोटोपना
– अत्यधिक तनाव
– नुन र चिनीको अत्यधिक सेवन
– ब्रेन टिबी र ब्रेन क्यान्सर
– मस्तिष्कमा चोटपटक लाग्नु
– ब्रेन ट्युमर
– स्पाइनल इन्जुरी

उपचार तथा व्यावस्थापन
सबैभन्दा पहिला प्यारालाइसिस हुनुको कारण पत्ता लगाएर कारणको उपचार गर्नु जरुरी छ। प्यारालाइसिस आफैंमा रोग नभएर लक्षण भएको हुँदा यसका कारणहरुले महत्वपूर्ण भूमिका खेल्छ।

बिरामीको अवस्था जटिल भएमा तुरुन्त अस्पताल भर्ना गर्नुपर्छ। संसारमा प्यारालाइसिसको उपचार गर्ने धेरै विधि र पद्धति छन्। त्यसमध्ये होमियोप्याथी उपचार पद्धतिलाई महत्वपूर्ण रुपमा लिन सकिन्छ। यसले प्यारालाइसिसका बिरामीलाई निको बनाउन महत्वपूर्ण भूमिका खेल्छ। यो व्यक्तिपरक उपचार पद्धति भएको हुँदा लक्षण अनुसार फरक–फरक बिरामीहरुलाई फरक–फरक औषधि दिनुपर्ने हुनसक्छ। यसमा बिरामीहरुको शारीरिक, मानसिक र भावनात्मक अवस्थासमेत बुझेर सम्पूर्ण लक्षणहरुलाई एकीकृत गरी औषधि दिएमा यो पूर्ण रुपमा निको हुनसक्छ। तर यसमा बिरामीको अवस्था कस्तो छ निको हुने कुरा त्यसमा निर्भर गर्छ। होमियोप्याथीमा प्यारालाइसिसलाई निको बनाउने थुप्रै औषधि छन्। तीमध्ये कष्टिकम, लेकिएसिस, नक्सभोमिका, जेल्सेमियम, कुरारी, नाजा, बोथोरप्स, ओपियम, डल्कामारा आदि औषधिहरुलाई बिरामीको अवस्था र लक्षण अनुसार दिन सकिन्छ।

यस बाहेक अक्युपन्चर फिजियोथेरापी लगायतका उपचार विधिहरुसमेत समावेश गरी उपचार गरेमा प्यारालाइसिसलाई अझ चाँडै निको बनाउन सकिन्छ।

कसरी बच्ने?
आजकाल दिनानुदिन प्यारालाइसिसका बिरामीको संख्या बढिरहेको छ। प्रायः चिसो मौसममा मानिसले पचिहाल्छ भनेर बढी मात्रामा खानपिन गर्ने र शारीरिक अभ्यास नगर्ने कारणले तथा चिसो समयमा रक्तनलीहरु साँघुरो हुने हुँदा उक्त रक्तचापको जोखिम बढेर प्यारालाइसिस हुने खतरा बढ्छ।
–  चिसोको समयमा घरमा नै शारीरिक अभ्यास गर्ने बानी बसाल्ने
–  घाम देखिएपछि दिनमा कम्तीमा ५ किलोमिटर पैदल यात्रा गर्ने बानी बसाल्ने
–  झोलिलो र तातो चाँडै पच्ने खालका खानेकुरा खाने
–  चिल्लो, नुन, चिनी, मसला, मासु र दुग्धजन्य खानाका परिकार कम खाने
–  मौसम अनुसारका फलफूल खाने
–  धूमपान र मद्यपान नगर्ने
–  तनावबाट मुक्त हुन व्यायाम, योग र ध्यान गर्ने
–  मोटोपन कम गर्ने
–  समयमा नै सुत्ने र उठ्ने बानी बसाल्ने
–  सात्विक खाना खाने बानी बसाल्ने
–  न्यून रक्तचाप भएका बिरामीले तितो खाना कम खाने वा राति तितो नखाने
–  उच्च रक्तचाप र कोलेस्टेरोलका बिरामीले परेवाको मासु नखाने
–  आफ्नो स्वास्थ्य समस्याका बारेमा परिवारका सदस्यहरुलाई जानकारी गराउने
–  बेलाबेलामा सुगर, प्रेसर, कोलेस्टेरोल लगायत स्वास्थ्य परीक्षण गराउने
–  केही समस्या आएमा, हातखुट्टा लुलो, लाटो भएमा, मुख बाङ्गिएमा, आँखा तिर्मिराएमा, बोली लर्बराएमा वा मुखबाट ¥याल चुहिरहेमा तुरुन्तै नजिकको स्वास्थ्य केन्द्र वा अस्पतालमा चाँज गराउने।

(डा ओली इटहरीस्थित इन्खा पोलिक्लिनिक प्रालिका निर्देशक हुन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *