स्पेनमा ५० वर्षयताकै ठूलो हिमपात, देशका अधिकांश भूभाग रेड अलर्टमा

अन्तर्राष्ट्रिय पर्यटन विशेष समाचार समाचार

न्यूज अपडेट

एजेन्सी, २६ पुस

स्पेन। स्पेनमा भीषण हिमपात भएको छ। पछिल्लो ५० वर्षमा देखिएको सबैभन्दा ठूलो हिमपातका कारण आधा देश नै रेड अलर्टमा छ। सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक राजधानी म्याड्रिडमा ८ इन्चसम्म हिउँ जमेको छ।

हवाई उडानलगायत सहरका धेरै सडकहरू बन्द भएका छन् । शुक्रबार साँझ राजधानी नजीकका राजमार्गमा थुप्रै सवारी साधनहरु फसेका थिए। स्पेनको एक पत्रिका एलपाईसका अनुसार हिमपातका कारण अहिलेसम्म तीनजनाको मृत्यु भएको छ भने सयौं सवारी चालकहरू अलपत्र परेका छन्।

फिलोमेना नामको तूफान जिब्राल्टरको सामुद्रिक क्षेत्रबाट उत्तरतिर लागेकाले लगातार हिमपात भएको स्पेनको मौसम विज्ञान बिभाग (एईएमईटी) ले जनाएको छ। स्पेनका मिडियाहरुले शताब्दीमा नै देखिएको सबैभन्दा खराब हिमपात भनी उल्लेख गरेका छन् ।

राजधानी म्याड्रिड अलवा अल्बासेट, कुएन्का, टोलेडो, गुआडालाजारा, भ्यालेन्सिया, कास्टेलन, तारागोना,टेरुएल र सारगोजामा ८ इन्चसम्म हिउँ जम्ने अनुमान छ। मौसमविद्हरुले अझै केही समयसम्म भारी हिमपात हुनसक्ने बताएका छन्।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले नागरिकहरूलाई यात्रा नगर्न र आपतकालिन सेवाहरूको निर्देशन अनुसरण गर्न आग्रह गरेका छन्। उनले हिउँमा फसेको मानिसहरुलाई उद्धारकार्य जारी राखेको जनाएका छन्।

झन्डै डेढ दशकदेखि राजधानी म्याड्रिडमा बस्दै आएका एक नेपाली राककृष्ण पुडासैनीले हिमपातका कारण जनजीवन कष्टकर बन्दै गएको बताए। उनले भने, ‘पछिल्लो पटक सन् २००९ मा जनवरीमा पनि हिमपात भएको थियो तर त्यो सामान्य थियो। अहिले राजमार्ग नै बन्द भएका छन्।जनजीवन कष्टकर भएको छ। शुक्रबार दिउँसो ३ बजेदेखि अहिलेसम्म पनि हिमपात भइरहेको छ।’

राजधानी म्याड्रिडमा अन्य सार्बजनिक यातायात प्रभावित भएकाले भूमिगत मेट्रो सेवालाई भने २४ घण्टा नै खुलाईएको छ। हिउँमा रमाईलो गर्नेको संख्यामा पनि उत्तिकै रहेको छ। एनआरएनए क्षेत्रीय समिति म्याड्रिडका अध्यक्ष सुजिल गोले भन्छन्,’ कोरोना कारण बाहिर घुमफिर गर्न नपाएकाले लामो समयपछि मानिसहरु सडकमा आएर हिउँमा रमाइलो गरेका छन्।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *