कहाँ छन् भारतबाट फर्किएका सुदूरपश्चिमका १ लाख ४२ हजार नागरिक?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

जब भारतमा कोरोना भाइरसकाे रिपाेर्ट पोजेटिभ आउन थाल्याे त्यही बेलादेखि नेपाल प्रवेश गर्ने नेपालीहरुकाे सीमामा पनि भीड बढ्न थाल्याे। सुदूरपश्चिमका सीमा नाकामा नेपालीहरुकाे भीड लागेका भिडियो पनि सार्वजनिक भयो। काेराेना संक्रमणबाट जाेगिन सरकारले लकडाउनकाे घाेषणा गर्‍याे।

लकडानपछि पनि सुदूर तथा मध्यपश्चिमका सीमा नाकाबाट राेजगारीका लागि भारत गएका कामदार आउने क्रम रोकिएन। सुदूरपश्चिकै सीमा नाकामा लकडाउनकै अवधिमा २ पटक खोलियाे। त्योबेला सुदूरपश्चिम प्रदेशमा चिकित्सक तथा स्वास्थ्यकर्मी, नागरिक अगुवालगायतले छिमेकी मुलुक भारतमा कोरोना भाइरसको प्रभावबारे बारम्बार सतर्कता अपनाउन आग्रह  गरिरहे।

विभिन्न अस्पतालका चिकित्सकले स्थानीय सञ्चारमाध्यममार्फत् पटक–पटक सम्बन्धित निकायलाई आग्रह गर्दै भने, ‘कोरोनाको संक्रमण थप फैलिन नदिन आंशिक रुपमै भएपनि सीमानाकाबाट हुने आवागमन रोकौँ। भारतबाट फर्किने व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा राखौँ।’ तर, चिकित्सकहरुको आग्रह न धनगढीमै रहेको प्रदेश सरकारका मुख्यमन्त्रीले सुने, न मन्त्री, स्थानीय तहका जनप्रतिनिधि, न त प्रमुख जिल्ला अधिकारीहरुले नै सुने।

सीमा नाका र विमानस्थलमा तापक्रम मापन गर्न हेल्थ डेस्क स्थापना गरेपछि पनि चिकित्सकहरूले पटक-पटक भने, ‘तापक्रम मापन गरेर मात्र कोरोना संक्रमण भएको छ/छैन भन्ने जान्न सकिँदैन। यसको किटाणु शरीरमा प्रवेश गर्ने बितिकै देखिने नभई १४ दिनसम्म जुनसुकै बेला पनि संक्रमण देखिन सक्छ।’ तर त्यो आग्रहलाई पनि स्थानीय तह, प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयहरुले नसुनेझै गरिरहे।

बरु त्यहीबीचमा हेल्थ डेस्कलाई प्रभावकारी बनाउने भन्दै तीन वटै तहका सरकारका प्रतिनिधिहरुले पटक-पटक अनुगमन निरीक्षण गरे। त्याे बेलासम्म सुदूरपश्चिमका सीमानाका भएर हजारौँ मानिस भारतबाट फर्किसकेका थिए। भारतमा कोरोना भाइरसको संक्रमण फैलिएकाले जोगिन नेपाल फर्किनु परेको उनीहरुकाे प्रतिक्रिया थियाे।

भारतमा कोरोनाको संक्रमण देखिएपछि सीमा नाका भएर कति मानिस नेपाल भित्रिए भन्ने तथ्याङ्क सरकारसँग छैन। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव नभएको प्रतिक्रिया दिँदै आएको थियो। मन्त्रालयको भनाई थियो, ‘भारतबाट आउने हजारौँलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्न, खाना खुवाउन सम्भव छैन्।’

सरकारी निकायको बेवास्ता र उदासीनताकै कारण फागुन २३ गते यता सुदूरपश्चिमका सीमा नाका भएर भारतबाट करिब डेढ लाख नेपाली नेपाल भित्रिए। प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांकअनुसार फागुन २३ गतेबाट चैत १० गतेसम्म एक लाख ४३ हजार भित्रिएका छन्। यसरी भित्रिनेमा अधिकांश सुदूरपश्चिमकै रहेको अनुमान गरिएको छ। तर ती मध्ये कसैलाई पनि अनिवार्य क्वारेन्टाइनमा राखिएन।

तथ्याङ्कअनुसार प्रदेशका ९ वटै जिल्लामा २ हजार ३ सय ८३ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ। प्रदेशमा स्थानीय तह, प्रदेश सरकार र नेपाली सेनाले समेत गरी तीन हजार ९ सय ७३ शय्या बराबरकाे क्वारेन्टाइन स्थापना गरिएको छ। तर, भारतबाट फर्किएका क्वारेन्टाइनमा नबसेका डेढ लाखको अवस्थाबारे सम्बद्ध निकाय बेखबर छन्।

तर प्रदेश सरकारको शनिबार बसेको बैठकले भने भारतलगायतका अन्य देशबाट आउनलेलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्ने उल्लेख गरेको छ। शनिबारको निर्णय नम्बर ४ मा स्थानीय तथा सुरक्षा निकायको समन्वयमा क्वारेन्टाइनमा राख्ने भनिएको छ। तर यो काम प्रभावकारी बनाउन के गर्ने भन्ने विषममा भने सरकारको तयारी कमजोर देखिएको छ।

कैलालीका नागरिक अगुवा प्रमोद पाठकले भारतसहित तेस्रो मुलुकबाट हजारौँको संख्यामा फर्किएकाहरुको पहिचान गरी परीक्षणमा जोड दिनुपर्ने बताउँछन्। उनले परीक्षण बढाउन सकेमा मात्र कोरोनाको संक्रमण पुष्टि हुने र थप संक्रमण फैलिन नदिन गम्भीर बन्न सरकारलाई सुझाए।

अर्कोतर्फ भारतबाट फर्किएका कञ्चनपुर र कैलालीका दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिम अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी जोखिममा देखिएको छ। यसकारण पनि परीक्षणमा जोड दिन आग्रह गरिएको छ।

सामाजिक सञ्जालमा यसलाई खतराको घण्टीका रुपमा लिएर सरकार गम्भीर बन्नुपर्ने मत व्यक्त हुन थालेका छन्। अब स्थानीय तह र प्रदेश सरकार तथा संघीय सरकार मातहतका निकायले कोरोनाको थप जोखिम नियन्त्रणका लागि आवश्यक कदम चाल्नु पर्ने आवश्यकता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *