भक्तपुर बचतको २३ औं साधारणसभा सम्पन्न

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, २५ पुस


‘सहकारिता, लगनशीलता र पारदर्शीता हाम्रो प्रतिवद्धता’ नाराका साथ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २३ औं वार्षिक साधारणसभा शनिवार संस्थाकै प्राङ्गणमा सम्पन्न भएको छ ।

आ.व. २०७६/०७७ को जम्मा वासलात २ अर्ब ४२ करोड ७७ लाख ७० हजार बनाउन सफल उक्त संस्थाले १ रोपनी १२ आना ३ पैसा साढे २ दामको जग्गा र दुईवटा सांस्कृतिक स्वरुपसहितको भवन निर्माण सम्पत्तिकरण गरिसकेको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका सचिव पूर्व संघीय सांसद प्रेम सुवालले भारतबाट ग्यास खरिद गरेर मल कारखाना चलाउन खोजेको नेपाल सरकारले आत्मनिर्भर बन्ने सोच नराखेको स्पष्ट पारे । उनले नेपाल सरकारले अझैपनि भारतीय एकाधिकार पूँजीअन्तर्गत नै राख्न खोजेको औल्याए । पूँजीवादी बन्दोबस्तमा सबै जनताले भविष्यको चिन्ता गर्नुपर्ने र समाजवादी बन्दोबस्तमा सरकारले नै सबै व्यवस्था गर्ने भएकोले कुनै चिन्ता लिन नपर्ने भएकाले हामीलाई समाजवादी बन्दोबस्तको आर्थिक व्यवस्थापनको आवश्यकता भएको बताए । बचत संस्थाले हाम्रो सांस्कृतिक स्तर उकास्नका लागि विभिन्न क्रियाकलापहरु गर्दै जानुपर्ने र दैनिक जीवनोपयोगी तालिमहरु दिँदै जानुपर्नेमा जोड दिए ।

सामूहिक ढंगबाट काम गर्दा बहुसंख्यक जनताको फाइदा हुने भएकोले कुनै खालको अप्ठ्यारो भए तुरुन्तै छलफल गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय अन्तरराष्ट्रिय चासोका विषयमा सहकारी संघ संस्थाले जानकारी दिँदै जानुपर्ने उनको धारणा छ । उनले नेपाली जग्गामा विदेशीहरुको सहयोगमा निजी आवास प्लानिङ्ग गर्दै जाँदा समस्या आएको उल्लेख गर्दै नगरपालिकाबाट गरेको आवास योजनामा जनतालाई बढी लाभान्वित भएको बताए ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा सुपरीवेक्षण समितिका संयोजक बालमुकुण्ड उपाध्यायले आर्थिक र भौतिक रुपमा संस्था सबल र सुदृध भइसकेपछि अबको उद्देश्य गुणस्तरीय सदस्य सेवा रहेको बताए । सरकारले ल्याएको एक व्यक्ति एक संस्थाको संघले विरोध गरिरहेको बताउँदै उनले सदस्यहरुको आर्थिक सांस्कृतिक रुपान्तरण गर्न संस्थाले योगदान गर्दै आएको बताए ।

संस्थाका सल्लाहकार कृष्णप्रसाद धन्छाले बचत संस्था सानो ठूलो जस्तोसुकै भएपनि त्यसको कारोबारले ठूलो सामथ्र्य राख्ने बताए । उनले सामुदायिक संस्थाको छुट्टै महत्व हुने बताए । उनले हरेक १० वर्षमा पूँजीवादी शासन व्यवस्थामा संकट आउने भएकाले समाजवादी अर्थतन्त्रको व्यवस्थालाई अवलम्बन गर्नुपर्ने बताए ।

भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले स्थानीय उत्पादनलाई देश विदेशसम्म पुर्‍याउनका लागि यस संस्थाले युवालक्षित विभिन्न रोजगारमूलक तालिम प्रदान गर्नुपर्नेमा जोड दिए । उनले नगरपालिकाबाट प्रदान गर्ने शैक्षिक ऋणको जानकारीका साथै भक्तपुर अब मेडिकल हब हुने बताए ।

संस्थाका सञ्चालक सदस्य जगनाथ प्रजापतिले आफ्नो प्रबन्धकीय जिम्मेवारीको समयमा भएका क्रियाकलापहरु र प्रगति विवरण पेश गरेको उक्त कार्यक्रममा सञ्चालक सदस्य विष्णुकुमार प्रजापतिले धन्यवाद ज्ञापन गरेको थियो । संस्थाका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष निर्मल प्रजापतिले स्वागत रामेश्वरी काेजूले सञ्चालन गरेको थियो ।

उक्त कार्यक्रमको बन्दसत्रबाट संस्थाका सचिव लक्ष्मी प्रसाद कुसीद्वारा प्रस्तुत सञ्चालक समितिको प्रतिवेदन, कोषाध्यक्ष राम प्रसाद प्रजापतिद्वारा प्रस्तुत आ.व.०७६/७७ को वित्तीय विवरण र ०७७/७८ को अनुमानित वार्षिक बजेट, लेखा सुपरीवेक्षण समितिका संयोजक कृष्णसुन्दर प्रजापतिद्वारा प्रस्तुत लेखा सुपरीवेक्षण समितिको प्रतिवेदनका साथै शेयरसदस्यद्वारा पेश गरिएका विभिन्न प्रस्तावसहित १० वटा कार्यविधि उक्त साधारणसभाबाट पारित गरेका थिए । कार्यक्रममा १२२ जना असल ऋणीहरुको घोषणा गरेको उक्त कार्यक्रममा पूर्व प्रबन्धक जगनाथ प्रजापतिलाई प्रमुख अतिथिबाट कदर पत्र वितरण र अतिथिहरुलाई मायाको चिनो प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *