नेतृत्व नमूना भएपछि मात्र संस्था नमूना हुन्छः प्रमुख प्रजापति
न्यूज अपडेट संवाददाता
भक्तपुर, ४ असार
वागीश्वरी माध्यमिक विद्यालय, च्याम्हासिंहमा मंगलबार एक समारोहवीच अनिवार्य अवकास प्राप्त प्रधानाध्यापक कृष्णप्रसाद धन्छालाई विदाई गरी नवनियुक्त निमित्त प्रधानाध्यापक कृष्ण प्रसाद कर्माचार्यलाई पद हस्तान्तरण गरेको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नेतृत्व नमूना भएपछि मात्र संस्था नमूना हुने बताए । वागीश्वरी नमूना हुनुको पछाडी समर्पित भावना, निःश्वार्थी भावना, लगनशील भावना र दृढ इच्छाशक्तिले काम गरेको उनको भनाइ छ । साथै उनले व्यक्तिगत स्वार्थमा लाग्नेहरु सामुहिक स्वार्थका निम्ति काम गर्न नसक्ने औल्याए । विद्यालय र कलेजमा गरी जम्मा ५ हजार ५ सय जनाले अध्ययन गरेको वागीश्वरीको प्रगतिलाई कसैले पनि रोक्न नसक्ने उनको भनाइ छ । भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउन कुनै पनि राजनीतिक पार्टीले गर्ने बन्द हड्ताललाई समर्थन नगरेको उनले स्पष्ट पारे । उनले १६/१७ बर्ष नेतृत्व गरी देशकै नमूना विद्यालय बनाउन सफल भएकोमा सबैलाई बधाई दिए ।
भक्तपुर नगर शिक्षा शाखा प्रमुख साधुराम फुँयालले प्रधानाध्यापक धन्छाको जीवनी र योगदानको विषयमा सबैले अध्ययन गर्नुपर्ने बताए । पूर्व प्रधानाध्यापक एवम् वागीश्वरी कलेज व्यवस्थापन समिति सदस्य मोहन प्रसाद प्रजापतिले प्रधानाध्यापक धन्छाको विगत र वर्तमानबारे चर्चा गर्दै शिक्षकहरुले बोल्दा हरेक कुरालाई सोचेर मात्र बोल्नुपर्नेमा जोड दिए ।
प्लसटु संयोजक ज्ञानसागर प्रजापतिले प्रधानाध्यापक धन्छाको सम्झिनैपर्ने कुराहरुबारे चर्चा गर्दै नवनियुक्त निमित्त प्रधानाध्यापक कर्माचार्यले पनि वागीश्वरीको प्रगतिको लागि अहोरात्र खट्ने बताए ।
व्यवस्थापनतर्फ प्लसटु इन्चार्ज ग्याहेन्द्र प्रसाद दाहालले शैक्षिक उन्नयनमा धेरै अघि बढ्ने व्यक्तित्व प्रधानाध्यापक धन्छा रहेको बताउँदै उनी प्रेरणाको स्रोत रहेको औंल्याए । व्यवस्थापकीय पक्ष, आर्थिक अनुशासनका पक्षमा अब्बल उनी वागीश्वरीको समग्र प्रगतिको पथप्रदर्शक भएको दाहालको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक उकेश सुवाल, कृष्ण प्रसाद कर्माचार्य, शिक्षक राजन लाखा, शिक्षिकाहरु शोभालक्ष्मी गोसाई, श्रीया पहिजु, पूर्व विद्यार्थी समाजका अध्यक्ष रत्नप्रसाद प्रजापति, विहिसका सुवान सुवाललगायतले बधाई तथा नवनियुक्त प्रधानाध्यापक कर्माचार्यलाई शुभकामना व्यक्त गरे।
प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले कार्यकालमा भएका स्मरणीय घटनाको चर्चा गरको उक्त कार्यक्रममा नवनियुक्त प्रधानाध्यापक कृष्ण प्रसाद कर्माचार्यले वागीश्वरीको प्रगतिका लागि निरन्तर खट्ने प्रतिवद्धता व्यक्त गरे । अवकास प्राप्त प्रधानाध्यापक धन्छालाई दोसल्ला ओढाई सम्मान गरिएको उक्त कार्यक्रममा अवकासपछि पाएको रकम २ लाख रुपैया स्व.शोभा प्रधानस्मृति उपचार कोषका लागि प्रदान गरे ।
कार्यक्रमपश्चात अवकास प्राप्त प्रधानाध्यापक धन्छालाई बासुरी बाजाका साथ र्याली गरी धन्छा निवाससम्म पुर्याएको थियो ।