जापानको टोकियो र वरपरका क्षेत्रमा कोरोना संक्रमण बढेपछि आपतकाल घोषणा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

एजेन्सी, २४ पुस

कोरोना संक्रमण तीव्र भएपछि जापानको राजधानी टोकियो र त्यसवरपरका क्षेत्रमा आपतकाल घोषणा गरिएको छ। टोकियो र छिमेकी तीन वटा प्रिफेक्चरहरु चिवा, साइतामा र कानागावामा आपतकाल लगाइएको हो। यो प्रावधान आगामी फेब्रुअरी ७ सम्म लागू हुने जनाइएको छ।

प्रधानमन्त्री याोशिहिदे सुगाले सबै कार्यालयहरुलाई कर्मचारी उपस्थिति ७० प्रतिशत घटाउने गरी घरबाटै काम गर्न निर्देशन दिएका छन्। आपतकाल लागू भएका क्षेत्रमा अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन निर्देशन दिइएको छ। रेष्टुँराहरुलाई ८ बजे बन्द गर्न र खेल गतिविधिलाई निश्चित संख्यामा दर्शक रहने गरी सञ्चालन गर्न निर्देशन दिइएको छ।  प्रधानमन्त्री सुगाले रेष्टुँराहरुलाई प्रतिमहिना १७ हजार ४ सय डलर राहत दिइने जनाएका छन्।

तर कडाइकाबीच विद्यालय भने खुला रहनेछ। प्रधानमन्त्रीले बालबालिकाको सिकाइ अवसरलाई रक्षा गर्न विद्यालय खुला राखिने जनाएका छन्।

जापानमा बुधबार ५ हजार ९ सय ५३ नयाँ संक्रमित थपिएका छन्, जुन महामारी सुरु भएयताकै रेकर्ड हो। हालसम्म जापानमा संक्रमितको संख्या २ लाख ५९ हजार १ सय ५ पुगेको छ भने ३ हजार ८ सय ४ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *