भक्तपुर, २६ असोज
दशैँ नजीकिँदै गर्दा उपभोक्तालाई ठगिनबाट जोगाउन सूर्यविनायक नगरपालिकाले बजार अनुगमन शुरु गरेको छ ।
नगरपालिकाले आज सल्लाघारी, सूर्यविनायक र चुनदेवी क्षेत्रमा खाद्यान्न, फलफूल, तरकारी र मिठाइ पसलको अनुगमन गरेको छ । उपप्रमुख जुना बस्नेतको नेतृत्वमा अनुगमन शाखाका कर्मचारी, स्वास्थ्य शाखाका कर्मचारी, नगर प्रहरी र सञ्चारकर्मीसहितले अनुगमन गरेका हुन् ।
सो क्रममा अधिकांश किराना पसल तथा मिनीमार्ट दर्ताविना नै सञ्चालन गरेको पाइएको छ । सल्लाघारी क्षेत्रका ठूला र वार्षिक करोडौँका कारोवार गर्ने पसलले नै नगरपालिकामा दर्ता नगरी पसल सञ्चालन गरेको र कर छली गरेको पाइएको उपप्रमुख बस्नेतले बताए । ठूला किराना पसल तथा मिनीमार्टमा म्याद गुज्रेका र अखाद्य वस्तुसमेत बिक्रीमा राखेको पाइएको तथा लेवल र मूल्य सूची नराखेको पाइएकाले एक पटकलाई सचेत गराएर छाडिएको छ ।
नगरपालिकाले पाँच महीनाअघि पसल दर्ता अभियान नै चलाए पनि साना कारोवार गर्ने अधिकांश पसल दर्ता भएका तर ठूला र करोडौँको कारोवार गर्ने पसल दर्ता नगरेको भेटिएको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताए ।