लाइसेन्सको अनलाइन फारम भर्दा समस्या

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २३ पुस

कोभिडका कारण गत चैतदेखि बन्द सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन खुला भए पनि फारम भर्नै समस्या भएको गुनासो सेवाग्राहीले गर्न थालेका छन् । यातायात व्यवस्था विभागले गत सातादेखि सवारी लाइसेन्सको आवेदन खुलाएको थियो ।

विभागले अनलाइन मार्फत लाइसेन्सको आवेदन खुला गरे पनि विभागको सर्भरमा देखिएको समस्याले फारम भर्न नसकिएको गुनासो सेवाग्राहीको छ । विभागको सर्भर नै नखुल्ने, खुले पनि फारम भरिसकेपछि अप्लाई नहुने गरेको कलंकीका किशोर अर्यालले बताए । ‘मैले फारम भर्न एक हप्तादेखि प्रयास गर्दा पनि भएको छैन,’ उनले भने ।

अनलाइनफार्मत फारम भर्ने कामसहज र छिटो हुनुपर्नेमा ठीक उल्टो भएको अर्का आवेदक किरणकुमार शाहले बताए । उनले भने, ‘कहिले सर्भर डाउन भन्छ, कहिले फारम भरेर अप्लाई गर्न खोज्यो हुँदैन ।’

दैनिक निश्चित कोटा निर्धारण गरिएकाले कोटा सकिँदा सेवाग्राहीले आवेदन फारम भर्न नमिलेको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए । हाल १९ ओटा कार्यालयबाट दैनिक ५ हजारसम्म मात्र आवेदन लिने गरिएकोमा त्यो कोटा पूरा भएपछि आवेदन भर्न नसकिएको उनको भनाइ छ । ‘९ महीनादेखि रोकिएको लाइसेन्सको आवेदनका लागि चाप बढेको छ । त्यसैले केही सेवाग्राहीलाई असहज भएको हो,’ उनले भने, ‘चाप कम भएपछि यो समस्या रहँदैन ।’ उनका अनुसार विभागले अहिले बिहान ६ देखि राति १० बजेसम्म आवेदन भर्न मिल्ने व्यवस्था गरेको छ ।

साथै विभागले आइतवारदेखि बुधवारसम्म मात्र लाइसेन्सका लागि आवेदन खुला गरेको जानकारी उनले दिए । अन्य दिनमा आवेदन भर्न खोज्दा फारम नभरिएकाले सेवाग्राहीले सर्भरमा समस्या भएको ठानेको उनको बुझाइ छ ।

विभागले अघिल्लो मंगलवारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको स्वास्थ्य मापदण्ड पूरा गरी पुनः लाइसेन्सको सेवा सुचारु गरेको थियो । प्राप्त आवेदनबाट प्रादेशिक कार्यालयमार्फत लाइसेन्सका लागि परीक्षा लिने व्यवस्था गरिएको विभागले बताएको छ । सेवाग्राहीले अनलाइनमार्फत फारम भरिसकेपछि मिति तोकेर लिखित तथा प्रयोगात्मक परीक्षा लिइने प्रवक्ता भुसालले बताए ।

यसअघि विभागले मागअनुसार लाइसेन्स छपाइ गर्न सकेको थिएन । पछि कोभिडका कारण लाइसेन्सको आवेदन बन्द भएको बेला सबै लाइसेन्स छापेर वितरणका लागि कार्यालयमा पठाइएको विभागले बताएको छ । आगामी दिनमा सेवाग्राहीले लाइसेन्स प्राप्तिका लागि परीक्षा पास गरेपछि पनि वर्षौं लामो समय कुनु नपर्ने प्रवक्ता भुसालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *