कैलालीमा बाढीले ४ जना बेपत्ता, ६ हजार बढी घर डुबानमा

विशेष समाचार समाचार

न्यूज अपडेट
कैलाली, १५ साउन


कैलालीमा बाढीले बगाउँदा चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जानकी गाउँपालिका–२ का ५४ वर्षीय कोबी सुनार, भजनी नगरपालिका–८ का सोनाफाटाका ११ वर्षीय स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ वर्षीय चक्र बिक बेपत्ता भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए । प्रहरी उपरीक्षक जबराका अनुसार काडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढीको भेल बस्तीमा पस्दा उनीहरुलाई बगाएको हो । ‘बुधबार अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेको थियो । बस्तीमा पसेको बाढीबाट सुरक्षित स्थानमा जान खोज्दा उनीहरु बेपत्ता भएका हुन,’ प्रहरी उपरीक्षक जबराले भने, ‘उनीहरुको खोजी कार्य जारी छ ।’७ जना बेपत्ता भएका मध्ये तीन जनाको भने बुधबार नै सकुशल उद्धार गरिएको उनले बताए । बेपत्ता रहेका चार जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा खोजी कार्य भइरहेको उनले बताए
अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा कैलालीमा ६ हजार भन्दा बढी घर डुबानमा परेका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार ६ हजार ३२० घर डुबानमा परेको छ । जोशीपुरमा २ हजार ३१५, भजनी नगरपालिकामा २ हजार १८०, टिकपुरमा नगरपालिकामा ८२५ र जानकी गाउँपालिकामा १ हजार घर डुबानमा परेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जानकारी दिए ।
अहिले पनि उद्धार कार्य जारी छ,’ उनले भने, ‘डुबानका कारण विस्थापित भएकाहरु सडक तथा विद्यालयमा बसेका छन् । पानीको बहाव घट्दो क्रममा रहेकाले केही व्यक्तिहरू भने घर फर्किसकेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *