‘अर्थतन्त्रले अब पुरानै गति लिन्छ, ७% को आर्थिक वृद्धि हासिल हुन्छ,’ अर्थमन्त्री खतिवडा

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ९ साउन

अर्थतन्त्रले अब गति लिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्। विश्व बैंकले आयोजना गरेको ‘नेपाल विकास अपडेट २०२०’ मा बोल्दै उनले साउनपछि अर्थतन्त्रले गति लिने बताएका हुन्।

कोभिड-१९ महामारीपछि नेपाली अर्थतन्त्र विस्तारै सामान्य लयमा फर्किने क्रममा रहेको मन्त्री खतिवडाको भनाइ छ। यस्तै, चालु आर्थिक वर्षमा लक्ष्य राखिएको ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने पनि उनले दाबी गरेका छन्।

कोभिड-१९ को असरबाट अर्थ-सामाजिक पुनरुत्थानमा विश्व बैंक, एशियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले दिएको ‘र्‍यापिड क्रेडिट फ्यासिलिटी’ले धेरै सहयोग पुगेको उनले बताए।

गत आर्थिक वर्षमा बजेट कार्यान्वयन सन्तोषजनक भएको उनले थपे। ‘गत आर्थिक वर्षमा आयात घटेको छ, निर्यात बढेको छ, खर्च र राजस्वको परिचालन सन्तोषजनक छ,’ उनले भने, ‘राजस्व चुहावटमा कमी आउँदा करदाताको संख्या बढेको छ।’

राजस्व  तथा अनुदान संकलनबाट गत वर्षको खर्च धानेर राज्यकोष अहिले नाफामा रहेको पनि उनले बताए। बैंकमा तरलता बढेको छ। वैदेशिक मुद्रा सञ्चिती बढेर बाँकी १३ महिनाको वस्तुको आयात धान्न सक्ने अवस्थामा हुनु राम्रो भएको खतिवडाको भनाइ छ।

यी सूचकहरुलाई समेत आधार मान्दै अब अर्थतन्त्र सकारात्मक गतिमा अघि बढ्ने उनले विश्वास व्यक्त गरे। नेपालको आर्थिक विकासका लागि दातृ निकायहरुको भूमिकालाई पनि उनले सराहना गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *