कोरोना भाइरसको नयाँ स्वरुप बी.१.१.५२९ ‘ओमिक्रोन भेरियन्ट’- खतराको घन्टी 

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, १४ मंसिर

दक्षिण अफ्रिकामा कोरोना संक्रमणका नोभेम्बरमा संकलन गरिएका नमुनाको भाइरसको जेनेटिक सिक्वेन्सिङ (आनुवंशिक) अन्तर्गत अनुसन्धान र विश्लेषण गर्दा सार्स कोभ-२ को आरएनए अक्षरहरुमा उत्परिवर्तन पहिलेको डेल्टा भेरियन्ट (९ वटा परिवर्तन) को तुलनामा ३ गुणा बढी (३२ परिवर्तन) देखिएकोले छ।

विश्व स्वास्थ्य संगठनले “ओमिक्रोन भेरियन्ट”लाई ‘भेरियन्ट अफ कन्सर्न’मा नामकरण गर्दै संसारमा “खतराको घन्टी बजेको” चेतावनी पनि दिएको छ। ओमिक्रोन भेरियन्ट भाइरसको बाहिरी सतहमा रहेको स्पाइक जीनमा बत्तीस (३२) वटा उत्परिवर्तनहरु आनुवंशिक अध्ययनले पुष्टि गरेको छ।

सार्स-कोभ-२ को स्पाइक प्रोटिनमा रहेका १२७३ एमिनो एसिड (प्रोटिनका इकाइ) मध्ये ओमिक्रोन भेरियन्टमा ३० एमिनो एसिड परिवर्तनलाई महत्त्वपूर्ण र गम्भीर रुपमा हेरिएको छ। साथै, १५ वटा म्युटेन्स भाइरस – कोशीका बाँधिने जेनेटिक संमचनामा (Receptor binding domain residues 319-541) हुँदा विद्यमान खोपहरूलाई चुनौती दिन सक्ने पनि हुनसक्छ।

जेनेटिक अध्ययन अनुसार फ्युरिन क्लीवेज साईटमा भएका तीनवटा उत्परिवर्तनहरूले ओमिक्रोन भेरियन्टको संक्रमण बढाउने अनुमान गरेका छन। प्राय सम्पूर्ण विद्यमान खोपहरु र संक्रमणबाट शरीरमा उत्पन्न हुने एन्टिबडीले स्पाइक प्रोटिनलाई टार्गेट गर्ने हुँदा यो भेरियन्टको स्पाइक प्रोटिनमा रहेका धेरै परिवर्तनले भाइरसलाई पूर्ण निर्मुल पार्न/मार्न नसक्ने आकलन साथ जनस्वास्थ्य विज्ञ र वैज्ञानिकहरु गम्भीर र सतर्क भएका छन्।

अफ्रिका, अमेरिका, अष्ट्रेलिया/ओशिनिया, युरोप र एशिया महादेश (हङकङ – ३ केसहरू) का १७ देशहरूमा आज सम्म ओमिक्रोन भेरियन्टका कोभिड-१९ केसहरू पुष्टि भइसकेका छन्।

प्रारम्भिक अध्ययनले ओमिक्रोन भेरियन्टसँग सम्बधित चिन्ताका बिषयहरु उजागर गरेको छ: 
१. नयाँ ओमिक्रोन भेरियन्टसँग सम्बन्धित समग्र “विश्वव्यापी जोखिम धेरै उच्च” रूपमा मूल्याङ्कन गरिएको छ।

२. दक्षिण अफ्रिकामा देखिएका प्रारम्भिक प्रमाणहरूको आधारमा ओमिक्रोन भेरियन्ट डेल्टा भेरियन्ट भन्दा छिटो प्रसारण भइरहेको छ। यदी यस ओमिक्रोन भेरियन्टमा भएको उत्परिवर्तनले संक्रमण, प्रसारण र प्रतिरक्षाबाट बच्न सफल भए यसले गम्भीर परिणामहरू निम्त्याउन सक्छ।

३. ओमिक्रोन कोभिड-१९ संक्रमणहरूको वास्तविक संख्या अज्ञात छ र आधिकारिक रिपोर्टहरू ठूलो मात्रामा कती देशहरुमा भाइरसको जेनेटिक सिक्वेन्सिङ (आनुवंशिक) अन्तर्गत अनुसन्धान र विश्लेषण गर्न सक्ने क्षमता, विशेषज्ञता र सक्षम छ भन्ने कुरामा धेरै निर्भर गर्दछ।

४. देश र त्यहाँका प्रशासनले यो भेरियन्टको संक्रमण र प्रसारण रोक्न कस्ता जनस्वास्थ्यका मापन, नियम, उपायहरू र तयारी गर्छ भन्नेमा निर्भर गर्दछ।

ओमिक्रोन भेरियन्टका बारेमा थप अनुसन्धानले उजागर त गर्ने नै छ। तर कोभिड-१९ बाट आफूलाई सुरक्षित गर्न जनस्वास्थ्यका नियम र नियन्त्रणका उपायहरु कडाईका साथ पालना गर्न जरुरी छ।

(डा दुलाल सुक्ष्म जीवाणु विज्ञ हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *