कोरोनाको पहिलो आक्रमण फोक्सोमै किन? कसरी नष्ट गर्छ फोक्सो? 

विचार विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३१ असार

३१ डिसेम्बर २०१९ मा पहिलो पटक चीनको वुहान सहरमा देखिएको कोरोना भाइरसको आतंक आज ६ महिना बितिसक्दा पनि सामान्य हुन सकेको छैन। लकडाउन फितलो हुँदै गए पनि भाइरसको त्रास र सङ्क्रमण हुनेको सङ्ख्या भने झन् बढिराखेको छ।

विश्वमै स्वास्थ्य क्षेत्रमा सङ्कटकाल निम्त्याएको यो भाइरस नयाँ भएकाले धेरै अध्ययन र अनुसन्धान भइराखेका छन्।

आजका दिनसम्म कोरोना भाइरस के हो, केकस्ता माध्यमबाट सर्छ, लक्षण केकस्ता हुन्छन् र सावधानी कसरी अपनाउनु पर्छ भनेर विभिन्न लेख, समचार र सञ्चार माध्यमबाट हामी सबैले जानकारी पाइसकेका छौं। र, त्यही अनुसार आआफ्नो ठाउँबाट कर्तव्य पनि निभाइरहेका छौं।

तर, विश्वमा आजसम्म जति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्, जतिको मृत्यु भएको छ तीमध्ये अधिकांशको फोक्सोमै असर गरेको छ। कोरोना भाइरसले सबभन्दा पहिले फोक्सोमै आक्रमण गर्ने भएकाले अहिलेको समयमा ‘कोरोना भाइरसको पहिलो आक्रमण फोक्सोमै किन?’भन्ने जिज्ञासा उत्पन्न भएको छ।

सबैलाई थाहा भइसकेको कुरा हो, कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो। फोक्सो श्वासप्रश्वासका लागि महत्वपूर्ण अंग हो र शरीरमा फोक्सोका दुई भाग हुन्छन्, दायाँ र बायाँ, जुन श्वासनलीसँग जोडिएको हुन्छ। हामीले एकपटक श्वास तान्दा ५ सय मिलिलिटर हावा तान्ने र फाल्ने गर्छौं। एक मिनेटमा हाम्रो फोक्सोबाट ४ देखि ६ लिटर हावा आवतजावत हुन्छ। हावा फोक्सोको रहेको अल्भिओलाईमा पुगेपछि रगतमा मिसिन्छ जहाँ अक्सिजन र कार्वनडाइअक्साइड साटफेर हुन्छ र अक्सिजन मुटुमा जान्छ। अनि मुटुको देब्रे भागले पम्प गरेर शरीरभरि फैलाउँछ र कोष–कोषमा पुग्छ।

मानव शरीरको श्वासप्रस्वास प्रणाली (नाक, मुख, घाँटी, श्वासप्रश्वास नली र फोक्सो) मा इपिथेलियल लाइनिङ हुन्छ र त्यहाँ प्रशस्त मात्रामा ACE2 receptor पाइन्छ। कोरोना भाइरस ACE-2 Receptor भएको  कोषिकाहरूसँग बढी आकर्षित हुने भएकोले सुरूमा श्वास नलीमा यो भाइरस प्रवेश गर्छ। त्यहाँ ACE2 receptor ले entry point बनाएर राखेको  हुन्छ। जब कोरोना भाइरस मिसिएको थुक वा ड्रपलेट अर्को व्यक्तिको नाक, मुख, आँखाबाट छिरिसकेपछि नाक र घाँटीको भागबाट भित्र जाने योग्य ठाउँ भेट्छ अनि फैलिन केही समय लाग्छ। त्यही समयमा भाइरसले आफूलाई स्थापित गराउन मानव शरीरको कोषकोषिकाहरूमा पसेर आफ्नो नियन्त्रणमा लिन्छ। र, केही समयमा त्यही कोषहरूमा आफ्नै भाइरस उत्पादन गर्न थाल्छ।

कोरोना भाइरसले फोक्सोमा छिर्न आफ्नो स्पाइकको सहायता लिन्छ, जुन प्रोटिनले बनेको हुन्छ। फोक्सोमा ACE2receptor प्रशस्त पाइने भएकाले यो भाइरसले फोक्सो, श्वासनलीलाई टार्गेट गरेको हुन्छ। जब यो भाइरस फोक्सोमा छिर्छ र अल्भिओलाई आक्रमण गर्छ। त्यही समयमा भाइरसले आफ्नो आरएनए अन्य कोषकोषिकाहरुमा छोड्छ र विस्तारै फोक्सोमा भएका सबै कोषहरू नष्ट पारिदिन्छ। यो प्रक्रिया हुँदै गएपछि फोक्सो र अन्य भागमा अक्सिजन कमी हुन थाल्छ अनि बिरामीमा श्वासप्रश्वासको समस्यासँगै अरू लक्षण देखिन थाल्छन्। जसलाई अल्भिओलाई कोल्याप्स अथवा सरल भाषामा निमोनिया भनिन्छ।

के शरीरको अन्य भागमा कोरोना भाइरसले आक्रमण गर्छ?
कोरोना भाइरस कुनै पनि अंगमा छिर्न र आफ्नो कब्जा जमाउन entry point (ACE2 receptor) चाहिन्छ। यो इन्जाइम श्वासप्रणाली बाहेक शरीरका अन्य भागहरूमा पनि पाइन्छ। जस्तै: मुटु, कलेजो, रक्तनली आदि। तर फोक्सोको तुलनामा यी भागहरूमा कमै मात्रामा पाइन्छ। थोरै मात्रामा पाइए पनि रक्त सञ्चारको माध्यमबाट कोरोना भाइरसभित्र गएर अर्को अंग नष्ट नगर्ला भन्न सकिँदैन। यसबारे अझै धेरै अध्ययन र अनुसन्धान भइराखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *