कोभिडको हल्ला बीच पहिरोको प्रकोप

विचार विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, ३० असार


नेपाल पहाडी मुलुक हो । यहाँका थुप्रै स्थान डाँडाकाँडा र भीरपाखाले भरिएका छन् । त्यसो भएर पनि प्रत्येक वर्ष जस्तै नेपालका विभिन्न स्थानहरुमा पहिरो गएर बाढी आएर थुप्रै मानिसहरुको मृत्यु हुने क्रम जारी छ । त्यसको लागि सरकारले प्रत्येक वर्ष प्रधानमन्त्रीको अध्यक्षतामा राहत कोष खडा गरेको हुन्छ । त्यसो भएर पनि सयौं मानिसहरुको ज्यान जाने क्रम भने जारी रहेको छ । अहिले पनि सरकारले पहिरो र बाढीले पीडितका लागि राहत कोष खडा गरेका छन् । सोही कोष मार्फत् पीडितहरुलाई सहयोग गर्ने क्रम पनि जारी रहेको छ । त्यसो भएर पनि पूर्ण तयारीको अभावले गर्दा कोरोनाका कारण पीडित सर्वसाधारण मानिसहरु अहिले पनि बाढी र पहिरोले गर्दा थप पीडित भइरहेका छन् । हालै बाह्रबीसे क्षेत्रमा आएको बाढी र पहिरोका कारण त्यहाँका थुप्रै परिवार विस्थापित हुन पुगेका छन् भने कतिपय बेपत्ता र धनजनको क्षति समेत हुने गरेका छन् ।
यो खालको नियमित आकस्मिकता वर्षा ऋतु शुरु भएसँगै प्रत्येक वर्ष देखा पर्ने गरेका छन् । यो हाम्रो जस्तो पहाडी मुलुकका लागि नियमित नै घटना हुने गरेको पाइन्छ । यहाँ सयौं मानिसहरु बाढीको कारण मर्ने गरेका छन् । तर त्यसलाई नियन्त्रणका लागि पूर्व तयारी गरिँदैन । नदी ओगटेर घर निर्माण गर्नेहरुलाई सरकारले रोक्न सकिरहेको छैन । सुकुम्बासीको नाममा नदी किनारमा रहेका पर्ति जग्गामा घर बनाएकाहरुलाई रोक्ने नसकेको कारण नदी वरपर थुप्रै व्यक्तिले सुकुम्बासीको नाममा जग्गा हडप्ने गरेको पाइन्छ । मनोहरा, खुसिबुँ, धोबीघात, बल्खु, ग्वंगःबुँ वरपर र बालाजु वरपरका नदी किनार हेर्ने हो भने हजारौंको संख्यामा सुकुम्बासी बस्ती छन् । यो बस्ती गरीब, निमुखा र घर भएकाहरु मात्रै होइन कि ग्याँगको रुपमा विभिन्न राजनीतिक शरण लिएर बसेका भू माफियाहरु, तस्करहरु, अवैध रुपमा बाहिरबाट आएकाहरु र जिल्ला जिल्लामा आफ्ना डीपीसी धलान गरी घर निर्माण गरी बसेका मानिसहरु पनि यहाँ नक्कली सुकुम्बासीको रुपमा बसोबास गरिरहेका छन् । उनीहरुलाई सरकारले उठाउन खोजेर पनि सम्भव हुन सकिरहेको छैन । किन भने सरकार पनि उनीहरुको भोट लिएर जितेर आएका हुन् । दलाल, पूँजीपति लगायत ती भूमाफियाहरुका कारण आज चुनाव जित्ने र हार्ने स्थिति देखा परेकाले पनि ती नक्कली सुकुम्बासी र सक्कली हुकुमबासीहरु उपत्यका वरपरका थुप्रै सुकुम्बासी बस्तीबाट लखेट्न नसकिरहेको हो ।


आज पनि राजधानीसँगैको पूर्वी जिल्ला सिन्धुपाल्चोक लगायत हाल पश्चिमाञ्चल गुल्मी जिल्लामा पनि पहिरो आएका कारण थुपै्र गाउँ ठाउँ सम्पर्कविहिन भइरहेका छन् । आफन्तहरु मरे कि बाँचे भन्ने कुरा पनि ती स्थानीय व्यक्तिहरुले थाहा पाउन सकिरहेका छैनन् । कतिपय लाश प्रहरी र सेनाले उद्धार गरी पनि लाशको मुचुल्का उठाउन नसकेको अवस्था छ । त्यसो भइरहेको बखत पहिरोको जोखिमको कारण सयौं परिवार बजारतिर आई बसेको अवस्था छ । यो समय कोरोनाको कारण मानिसहरु हुल गरी हिड्नु हुन्न भने तापनि त्यसलाई ध्यान दिन सकिरहेको छैन । समय अनुकूल आफूहरु कसरी गुजारा चलाउने भन्ने कुरामा चिन्तित भइरहेका छन् । दिनहुँ जसो पानी परिरहेका कारण पहिरो र बाढीबाट अलग्ग हुन सबैको ध्यान केन्द्रित भइरहेको अवस्था छ । यो यही वर्षको लागि मात्रै देखा परेको दशा भने होइन । गत वर्ष पनि यस्तै गरी तराई क्षेत्रमा नदीको बाढीले परी मरेका थिए । त्यसैगरी बाटो बगाएका कारण आफूहरु जहाँ पुग्नु पर्ने थियो त्यहाँ पुग्न नसक्ने स्थिति उत्पन्न भयो ।
यातायात त्यति धेरै नचलेका कारण यो वर्ष बाटो कुलो र नहरहरु त्यति मर्मत गर्ने, राम्रो बनाउने तथा संरक्षण गर्ने कार्य कम मात्रै भएको छ । प्रत्येक वर्ष जस्तै असारे विकास निर्माण प्रक्रियाले यो वर्ष पनि थुप्रै बजेट सिध्याउने काम भइरहेको छ । यो कुरा ध्यान दिएर हेर्ने हो भने पूर्व तयारी बिना सडक बाटो, पुल र झोलुंगेका साथै विकास निर्माणका कार्यहरु यस्तो समयमा शुरु गरेका कारण पनि ठाउँ ठाउँमा पहिरो जाने क्रम जारी रहेको हो । माथि भीड हुँदा हुँदै बाटो बनाउन डोजर वा स्काइभेटरहरु चलाउने कारण पनि कतिपय स्थानहरुमा पहिरो जाने गरेको हो । समयमा काम शुरु गर्ने चलन नभएको र मानवीय कारणले पनि पहिरो जाने र नदीको बहाव मानव वस्तीमा पस्ने गरेका हुन् । केही वर्ष अगाडि राधेराधे क्षेत्रमा आएको नदीको बाढी मानव बस्तीमा पस्नुको कारण त्यसैगरी जनता सचेत नभएको कारण हो । अर्थात् नदीलाई जति जग्गा छोड्नु पर्ने थियो, अतिक्रमण गरी खान खोजेकाले सर्प, सरिता वा नदी झैं भएर पहिरो र नदी रिसाहा बसाह जस्तै भएर उत्रिनु स्वाभाविक पनि थियो ।
गाउँ गाउँमा गाडी नचलेको र गाडी चल्ने बाटो ठाउँ ठाउँमा बिग्रेर पहिरो आउने स्थिति रहेका कारण हिडेर सम्पर्क गर्नु पर्ने स्थिति पनि गुल्मी जिल्लाका विभिन्न ठाउँहरुमा आइरहेका छन् । यस्तो स्थिति देखा परेपनि सरकारले कुनै पनि स्थानमा हेलिकोप्टरको व्यवस्था गरी सेवा मार्फत् त्यस स्थानमा अन्न, पानी जस्ता अत्यावश्यक चीजहरु आपूर्ति गर्न सकिरहेका छैनन् । पीडितलाई राहत पुर्‍याउने पहिलो दायित्व राज्यको हुने गर्दछ । तर त्यो नियम पूरा गर्न सरकार असक्षम भइरहेको अवस्था छ । यी सम्पूर्ण कुराहरुलाई ध्यानमा राखी सुरक्षा निकायले पहिरो जानबाट रोक्ने र मानिसहरुको ज्यान जोगाउने पूर्व तयारी गर्न सकिरहेका छैनन् । यो भनेको हाम्रा इन्जीनियर, प्राविधिक एवं बाटो बनाउने ठेकेदारहरुले समयमा काम पनि नसिध्याउने, समयमा पुल पुलेसा निर्माण कार्य सम्पन्न नगर्ने र कुलो बनाउने बखत पनि बलियो गरी नबनाइकन पैसा खाएर बनाएकाले हो ।
सञ्चारको विकास, यातायातको सुविधा नभए हवाई यातायात भए पनि प्रयोग गर्ने वातावरण भएको बखत समेत गाउँ गाउँमा सम्पर्कबिहीन हुन पुगेको भनेको नेपाली समाज सत्रौं शताब्दीमा फर्कनु जस्तै मात्रै हो । एक्काइसौं शताब्दीमा जनतालाई सञ्चारबाट बञ्चित गरी गुमराहमा पार्नु हुन्न । त्यसैले पनि सरकारले कुन साधन प्रयोग गरेको खण्डमा सर्वसाधारण जनतालाई सामान्य अवस्थामा पुर्‍याउन सकिन्छ भन्ने बुझ्नु जरुरी छ । होइन भने थप क्षतिको सामना गर्नु पर्ने पनि हुन सक्दछ । विश्वको लामो नदी नायल नदी र ह्वांहो र यांसि नदी भएको चीनमा समेत हाम्रो देशको तुलनामा अति नै बाढी आउने र मानिसहरुलाई नदीले बगाउने गरेको भए तापनि त्यहाँ चौबीसै घण्टा उद्धार टोली खटेर नदी भित्र पसेर हातेमालो गरी नदीबाट जिउँदै बगाएका मानिसहरुको उद्धार गरेको देखिन्छ । यस्तो व्यवस्था सरकारले नेपालमा पनि गर्नु जरुरी भइसकेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *