प्रमुख सुनिल प्रजापतिद्वारा ऐतिहासिक (तेलिकोटा झ्याल) भएको आगंछेँको शिलान्यास

कला/साहित्य राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, ३० असार


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं. ६ तुछिमलामा अवस्थित ऐतिहासिक (तेलिकोटा झ्याल) भएको आगंछेँको शिलान्यास मंगलबार गरे ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख प्रजापतिले ३१८ वर्ष पुरानो आगँछेँ पुनःनिर्माण कार्यको ऐतिहासिक महत्वबारे प्रस्ट पार्नुहुँदै ऐतिहासिक महत्वका सम्पदा निर्माणमा विदेशीको मुख ताक्नुभन्दा नगरबासीकै पहल आवश्यक भएको बताए । साथै भक्तपुरका सम्पदाहरु नगरपालिकाको बजेट, जनप्रतिनिधिको साथ र नगरबासी जनताको सहयोगमा बनिरहेको उनले बताए ।
कोरोना रोगको जोखिमका कारण यस वर्ष धेरै मानिसहरु जम्मा हुने चाँडपर्वहरुलाई औपचारिकतामै सीमित गर्ने निर्णय भक्तपुर नगरपालिकाले गरेको बताउदै उनले भक्तपुर नगरको पुरानो मौलिक शैलीलाई जीवन्त राख्ने उद्देश्यले काम गरिरहेको बताए ।


उनले भने — ‘नगरका मुख्य बजार क्षेत्रमा ढुंगा छपाइ कार्य लगभग सकिसकेको छ । अरनिको सभाभवन, थन्थु दरबार (नपाको पुरानो भवन) र न्ह्यकं झ्या दरबार प्राप्त प्रमाणका आधारमा पुरानै शैलीमा पुनःनिर्माण गर्ने सोचले नगरपालिका अगाडि बढिरहेको छ ।’
भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले वडाका विकास निर्माणका गतिविधिबारे अवगत गराउदै सम्पदा पुनःनिर्माण ठेक्कापटामा गर्न नहुनेमा जोड दिए । उनले कोरोना र डेंगु विरुद्ध लड्न आ—आफ्नो ठाउँ सफा गर्न आफै अघि सर्नुपर्नेमा जोड दिए ।
भक्तपुर नपा कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले २०७२ सालको भूकम्पबाट क्षति पुगेको तेलिकोटा झ्यालसहितको आगँछेँ पुनःनिर्माणमा स्थानीयहरुको अगुवाई र सहभागिता भए निर्धारित भन्दा कम समय र लागतमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरे । भक्तपुर नपा वडा नं. ६ का वडा सदस्यद्वय गोविन्द दुवाल र सिद्धिराम अवालले भक्तपुरको ऐतिहासिक सम्पदाहरुमध्येकै पुरानो आगँछेँको पुनःनिर्माणमा भक्तपुर नपाको अगुवाई र सहयोगप्रति आभार प्रकट गर्दै सांस्कृतिक सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धारमा भक्तपुरका मजदुर तथा किसानहरुको महत्वपूर्ण भूमिका रहेको बताए । उनीहरुले पुर्खाले छोडेको सम्पदाले नयाँ पुस्ताको सेवा गरिरहेको छ भने ।
कार्यक्रममा पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष हरिशरण अवाल र स्थानीय रमिला प्रजापतिले पनि बोलेको थियो ।
भक्तपुर नगरपालिकाको बजेटमा बन्न लागेको प्रस्तावित श्री विश्वकर्मा आँगछेँ (तेलिकोटा झ्याल) पुनःनिर्माण उपभोक्ता समितिमार्फत लगत इस्टिमेट रु. ९९ लाख ६८ हजार ५ सय २६ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *