५५०० रुपैयाँमा हुन्छ यी ९ प्रयोगशालामा पीसीआर परीक्षण, कहाँ कतिले गरे परीक्षण?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ असार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेठ २० गते ‘नेसनल टेस्टिङ गाइलाइन फर कोभिड–१९’ मापदण्ड निर्धारण गर्‍यो। यो मापदण्डले पिसिआर परीक्षणको दायरालाई खुम्चाइदिएको छ। त्यसैले पनि नेपालमा पीसीआर परीक्षण निश्चित व्यक्तिले मात्र गर्न पाउँछन्।

लक्षण भएका, संक्रमित व्यक्तिको सम्पर्कमा आएका, ज्वरो खोकीको लक्षण भएका र अस्पतालमा भर्ना गर्नुपर्ने व्यक्तिको मात्र सरकारले पीसीआर परीक्षण गर्दै आएको छ।

तर सरकारको निश्चित मापदण्ड र दायराभित्र नपर्ने व्यक्तिले पनि पीसीआर परीक्षण गर्न पाउँछन्। त्यसको लागि परीक्षण गर्न चाहने व्यक्तिले निश्चित रकम तिर्नुपर्ने हुन्छ।

कुनै ट्राभल हिस्ट्री नभएको, जोखिममा नपर्ने तर आफूलाई शंका लागेका व्यक्तिले सशुल्क पीसीआर परीक्षण गर्न पाउँछन्। जोखिमको घेरामा नभएका तर पिसिआर रिपोर्ट आवश्यक पर्ने व्यक्तिको लागि भने यो व्यवस्थाले सहज बनाइदिएको छ।

काठमाडौं उपत्यकामा रहेका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा यो सेवा उपलब्ध छ। यी अस्पतालमा सशुल्क पीसीआर परीक्षणका लागि ५ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले जेठ १२ गतेदेखि पीसीआर परीक्षण सुरु गरेको थियो। यही दिनदेखि नै यस अस्पतालले सशुल्क पीसीआर परीक्षण पनि शुरु गरेको हो।

हालसम्म शिक्षण अस्पतालमा ९ सय जनाले सशुल्क पीसीआर परीक्षण गराएको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले जानकारी दिए। उनका अनुसार त्रिवि शिक्षण अस्पतालमा दैनिक २ देखि ३ जना सशुल्क परीक्षण गर्न पुग्छन्।

नेपालकै पुरानो अस्पताल वीरले पनि सशुल्क पीसीआर गर्न पाउने सुविधा उपलब्ध गराएको छ। वीर अस्पतालमा हालसम्म ४ हजार ६ सय ३ जनाको पीसीआर परीक्षण भएको छ। त्यसमध्ये सशुल्क परीक्षण गराउनेमा करिब ७ सय जना रहेको अस्पतालका कोभिड फोकल पर्सन डा अच्युतराज कार्कीले बताए। दैनिकजसो ४/५ जना व्यक्ति सशुल्क पीसीआर परीक्षण गर्न वीर अस्पताल पुग्ने गरेका छन्।

यता पाटन अस्पतालमा पनि हालसम्म ७ सय बढी व्यक्तिले सशुल्क पीसीआर परीक्षण गराएका छन्। अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले असार ७ लागू भएदेखि हालसम्म ७ सय बढीले सशुल्क पिसिआर परीक्षण गराएका छन्।

थपिए सशुल्क परीक्षण गर्ने प्रयोगशाला

काठमाडौं उपत्यकाका अस्पतालमा मात्र हुँदै आएको सशुल्क पीसीआर परीक्षण अब प्रत्येक प्रदेशमा पनि हुने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक प्रदेशमा कम्तीमा एक प्रयोगशालामा सशुल्क पीसीआर परीक्षणका स्वीकृति दिएको छ। यही असार २४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले प्रत्येक प्रदेशमा सशुल्क परीक्षणको अनुमति दिने निर्णय गरेको थियो।

प्रदेश १ मा कोशी अस्पताल र प्रदेश २ मा नारायणी अस्पतालले सशुल्क परीक्षणका लागि स्वीकृति पाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, प्रदेश ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णालीमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिमा प्रादेशिक प्रयोगशाला धनगढीले स्वीकृति पाएको मन्त्रालयले जनाएको छ।

यसअघि काठमाडौं उपत्यकाको वीर, पाटन र त्रिवि शिक्षण अस्पतालमा मात्रै सशुल्क परीक्षण हुँदै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *