ह्याण्ड स्यानिटाइजरको मूल्य निर्धारण, कति एमएलको कति पर्छ? बजारमा गुणस्तरहीन र चर्को मूल्यमा बिक्रि हुँदै

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ९ बैशाख

औषधि व्यवस्था विभागले बजारमा बिक्रि हुने ह्याण्ड स्यानिटाइजरको मूल्य निर्धारण गरेको छ।

स्यानिटाइजरको माग बढ्दै गएपछि यसलाई सर्वसुलभ बनाउन, कृत्रिम अभाव हुन नदिन र कालोबजारी रोक्न विभागले मूल्यको सीमा निर्धारण गरेको हो।

विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भने, ‘उत्पादकहरुले लागत मापन नै नगरी स्यानिटाइजरको बिक्रि गर्दा मूल्यमा धेरै नै फरक आएपछि हामीले एकरुपता ल्याउन निर्धारण गरेका हौं।’

विभागले नरमल ह्याण्ड रब र ह्याण्ड रब जेलको मूल्य स्यानिटाइजरको मात्रा अनुसार निर्धारण गरेको छ।

५० एमएलको नरमल ह्याण्ड रबलाई बढीमा ६५ रुपैयाँ, एक सय एमएललाई १ सय २५ रुपैयाँ भन्दा बढी लिन नपाउने गरी मूल्यको सीमा तोकेको छ।

यस्तै, दुई सय एमएल नरमल ह्याण्ड रबको मूल्यमा भने प्रति एमएल १ रुपैयाँ २५ पैसा भन्दा बढी रुपैयाँ लिन नपाइने गरी बढीमा २ सय ५० रुपैयाँ, ५ सय एमएललाई ४ सय ५० रुपैयाँ, एक हजार एमएललाई ६ सय ९०, दुई हजार एमएल र ५ हजार एमएललाई क्रमश १ हजार ३ सय ५० र ३ हजार रुपैयाँभन्दा बढी लिन नपाइने गरी मूल्य तोकेको छ।

यस्तै, ५० एमएलको ह्याण्ड रब जेललाई ८० रुपैयाँ, एक सय एमएललाई १ सय ४५ रुपैयाँ बढी लिन नपाइने केसीले बताए। दुई सय एमएल ह्याण्ड रब जेललाई ३०० रुपैयाँ र ५ सय एमएललाई ५ सय १५ भन्दा बढी रुपैयाँ लिन नपाईने विभागले जनाएको छ।

नेपालमा अहिले विभिन्न २० औषधि उद्योगले ह्याण्ड स्यानिटाइजर उत्पादन गर्दै आएका छन्। विभागले निर्धारण गरेको मूल्यमा उत्पादकहरुले पनि सहमति जनाएको वरिष्ठ औषधि व्यवस्थापक केसीले बताए।

उनले भने, ‘बजारमा मनपरी भएको ह्याण्ड स्यानिटाइजरको मूल्यमा एकरुपता ल्याउन हामीले मूल्यको सीमा निर्धारण गरेका हौं। यसमा उत्पादकहरुले पनि सहमति जनाउनु भएको छ।’

बजारमा गुणस्तरहीन स्यानिटाइजर बिक्रि हुन थालेपछि विभागले निश्चित मापदण्ड निर्धारण समेत गरेको छ। स्यानिटाइजरको मापदण्ड तोकेपछि विभागले नेपाली औषधि उद्योगलाई पनि उत्पादनका लागि दर्ता हुन आह्वान समेत गरेको थियो।

स्यानिटाइजरमा ७० देखि ८० प्रतिशत इथेल अल्कोहल वा आइसोप्रोपल अल्कोहल मात्र हुनुपर्ने विभागले मापदण्ड निर्धारण गरेको छ। यसअघि विभागले स्याइनिटाइजरको लागि मापदण्ड निर्धारण गरेको थिएन।

विभागले निश्चित मापदण्ड निर्धारण गरेपनि कतिपयले भने ७० देखि ८० प्रतिशत अल्कोहलको मात्रा नभएको र मनपरी मूल्यमा स्यानिटाइजर बिक्रि वितरण भएको गुनासो आएपछि विभागले मूल्यको सीमा पनि निर्धारण गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *