कोभिड-१९ को द्रूत परीक्षण : भ्रम, यथार्थ

विचार विशेष समाचार समाचार स्वास्थ्य

सोमाकान्त बराल

 

विश्वव्यापी महामारीको रुपमा देखिएको कोभिड-१९ को जोखिमबाट नेपाल पनि अछुतो रहन सकेन। फलतः नेपालमा पनि यो भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जाँदा भाइरसको निदान परीक्षण विधिको बारेमा बहस गर्न जरुरी देखिएको छ।

कोरोना भाइरसको परीक्षण विधि अन्तर्गत द्रूत परीक्षण र सबैभन्दा उत्तम मानिएको आर(आरटिपिसिआर उत्तिकै चर्चामा रहेका परीक्षण विधिहरु हुन्। यी परीक्षण विधिहरुको विवेचना गर्नुअघि कोभिड-१९ गराउने भाइरस र यसका निदानका विधिहरुका बारेमा छोटकरीमा प्रष्टयाउने जमर्को गरेको छु ।

भाइरस (विषाणु) 
भाइरस एउटा अत्यन्तै सूक्ष्म जीवाणु हो, तर यसले न त सजीवको मात्रै गुण देखाउँछ न त निर्जीव वस्तुको नै सम्पूर्ण गुण देखाउँछ। यसले सजीव वस्तुका केही गुणहरु र निर्जीव वस्तुका केही गुणहरु देखाउँछ। तसर्थ, यसलाई सजीव तथा निर्जीव वस्तुहरुको पुलको रुपमा लिने गरिन्छ।

भाइरस ब्याक्टेरियाभन्दा हजार गुणा सानो हुन्छ। ब्याक्टेरियालाई नांगो आँखाले देख्न सकिँदैन त्यसैले यसलाई हेर्न कम्पाउण्ड माइक्रोस्कोपको प्रयोग गरिन्छ भने भाइरसलाई यस माइक्रोस्कोपले पनि देखिँदैन। त्यसैले भाइरसलाई अल्ट्रा माइक्रोस्कोपिक सूक्ष्म  जीवाणु पनि भनिन्छ। भाइरसहरुलाई हेर्नका लागि इलेक्टो«न माइक्रोस्कोपको प्रयोग गरिन्छ, जुन उपकरण असाध्यै महँगो   पर्छ।

भाइरसका जीवित गुणहरु
भाइरसहरुले आफैं स्वतन्त्र रुपमा सन्तान उत्पादन गर्न सक्दैनन्। तसर्थ यिनीहरुलाई प्रजनन्को लागि जीवित कोषको आवश्यकता पर्दछ। मानिसलाई रोग लगाउने भाइरसहरुले मानिसका जीवित कोषहरुमा टाँस्सिएर कोषभित्र प्रवेश गरी कोषको विभिन्न जैविक वस्तुहरु उत्पादन गर्ने संयन्त्रलाई आफ्नो नियन्त्रणमा लिई आफ्ना सन्ततिहरुका लागि आवश्यक पर्ने जैविक वस्तुहरुको उत्पादन गर्छ। अन्त्यमा मानिसको कोषमा लाखौंलाख सन्तति उत्पादन गरी जीवित कोषलाई क्षति पुर्याएर सन्ततिहरु बाहिर निस्कने गर्छन्।

अर्को महत्वपूर्ण जीवित वस्तुको चरित्र भनेको भाइरसको जेनेटिक वस्तुमा हुने अपर्झट परिवर्तन हो। यी दुई वटा चरित्र बाहेक अरु सबै गुणहरु निर्जीव वस्तुसँग मिल्छ।

भाइरसका प्रकारहरु
भाइरसभित्र रहेको जेनेटिक मेटेरियलको आधारमा यसलाई २ भागमा बाँडिएको छः
१) आरएनए भाइरस
२) डिएनए भाइरस

मानिसलाई रोग लगाउनसक्ने भाइरसहरुमध्ये ३ चौथाइभन्दा बढी आरएनए भाइरसहरु रहेका छन्। डिएनए भाइरसले थोरै मात्रामा मात्र रोग लगाउने गर्छन्। तसर्थ, आरएनए भाइरसहरुको परिवारको संख्या डिएनए भाइरसहरुको तुलनामा अत्यधिक ठूलो छ। डिएनए भाइरसहरुसँग रहेको जेनेटिक मेटेरियल स्थिर हुन्छ। त्यसैले रेडिएसन, रसायन र वातावरणमा आएको असरलाई यसले सहनसक्ने हुनाले यसमा अपर्झट हुने परिवर्तन कम हुने गर्छ।

आरएनए भाइरसहरुमा रहेको जेनेटिक मेटेरियल भने अस्थिर हुन्छ।  जसलाई सजिलै माथि उल्लेखित तत्वहरुको असर पर्न जाँदा यसमा अपर्झट हुने परिवर्तन सजिलै र बढी मात्रामा हुने हुनाले यो परिवर्तनसँगै नयाँनयाँ प्रजातिहरुको जन्म हुने गर्छ। त्यसैले विश्व इतिहासमा बेलाबेलामा आरएनए भाइरसहरुको संक्रमणले महामारीको रुप लिँदै आएको पाइन्छ। जस्तैः इन्फ्लुएन्जा, इबोला र नोबेल कोरोना भाइरस आदिको महामारी।

कोभिड-१९ रोग
कोरोना भाइरस आरएनए भाइरस भएकोले यसलाई विभिन्न तत्वहरुले सजिलै म्युटेसन गराउने हुँदा बेलाबेलामा यसका नयाँनयाँ प्रजातिहरुको विकास विकास भई यिनीहरुले विभिन्न खालका श्वासप्रश्वास सम्बन्धी रोगहरु लगाउने र मानिसको मृत्युसम्म गराउने देखिएको छ। माथि उल्लेखित मानिसको ज्यान लिनसक्ने कोरोना भाइरसको प्रजातिमध्ये अहिले फैलिएको सार्स( कोभ २ एक नयाँ प्रजाति हो, जसलाई नोबेल कोरोना भाइरस पनि भनिन्छ र यसले लगाउने रोगलाई कोभिड-१९ भनिएको छ।

रोग प्रतिरोधात्मक क्षमता
सार्स- कोभ २ भाइरसले संक्रमण गर्दा हाम्रो शरीरले यसलाई परास्त गर्नको लागि रोग प्रतिरोधात्मक शक्तिको रुपमा एन्टिबडीहरु उत्पादन गर्दछ। जुन एन्टिबडीहरु निम्न प्रकार छन्ः
१) आइजिएम एन्टिबडीः यस कोभिड १९ भाइरसका विरुद्ध हाम्रो शरीरले ३ दिनपछि नै आइजिएम एन्टिबडी उत्पादन गर्न थाल्छ। यसको उत्पादन सबैभन्दा बढी १ देखि २ हप्ताको बीचमा हुने गर्छ। तसर्थ द्रूत परीक्षणबाट यसलाई पत्ता लगाउनु भनेको हालसालै संक्रमण भएको र सक्रिय संक्रमणको चरणमा रहेको बुझाउँछ। यस्तो अवस्थामा अरुलाई रोग सर्ने सम्भावना बढी हुन्छ।

२) आइजिजी एन्टिबडीस् यस भाइरसले संक्रमण गरेको करिब १ हप्ता पछि आइजिजी एन्टिबडी उत्पादन हुन सुरु गर्छ र २ देखि ४ हप्तासम्ममा सबैभन्दा बढी उत्पादन हुने गर्छ। जब यसको उत्पादन बढ्दै जान्छ, क्रमशः आइजिएमको उत्पादन घट्दै जान्छ। यसको उत्पादन सबैभन्दा बढी भएपछि क्रमशः घट्छ र एउटा निश्चित मात्रामा उच्च दरमा  शरीरमा रहिरहन्छ। तसर्थ, यसको मात्रा बढी देखिनुको अर्थ संक्रमण विगतमा भएको तर संक्रमण घट्दै गई निको हुने क्रममा रहेको वा पूर्णतयाः निको भएको भन्ने बुझिन्छ।

कोभिड-१९ को निदानात्मक परीक्षण विधिहरु
कोभिड-१९ को निदान गर्ने विभिन्न परीक्षणका विधिहरु भए तापनि महत्वपूर्ण विधिहरुको रुपमा सेरोलोजिकल र न्युक्लेइक एसिड डिटेक्सन विधिहरुलाई लिइन्छ। सेरोलोजिकल विधि अन्तर्गत द्रूत निदानात्मक परीक्षण (आरटिडी), एलिजा, इम्युन(फ्लुरिसेन्स परीक्षणहरु पर्दछन्। यिनीहरुले संक्रमितको रगतमा भएको एन्टिजिन वा एन्टिबडी पत्ता लगाउने गर्दछन्।

दूुत निदानात्मक परीक्षण बाहेका माथि उल्लेखित परीक्षणहरुका लागि महँगो सेट अप चाहिने र परीक्षण समय पनि बढी लाग्ने भएकाले तत्कालै नतिजा दिने द्रूत निदानात्मक परीक्षण विधिलाई प्रयोगमा ल्याएको पाइन्छ। न्युक्लिक एसिड पत्ता लगाउने परीक्षणको रुपमा आरटी(पिसिआरलाई लिइएको छ, जसलाई सबैभन्दा स्तरीय र भरपर्दो मानिन्छ। तापनि यसको महँगो सेट अप र परीक्षण नतिजा प्राप्त गर्नका लागि बढी समय लाग्छ।

द्रूत निदानात्मक परीक्षण (आरडिटी)
द्रूत निदानात्मक परीक्षण विभिन्न किसिमका हुन्छन्, जसले छोटो समयमा संक्रमितको रगतमा भएको एन्टिजिन वा एन्टिबडी पत्ता लगाउने हुनाले यस निदानात्मक परीक्षणलाई द्रूत भनिएको हो।  यसका अन्य निम्न विशेषताहरुका कारणले यसको प्रयोग साधारणतयाः बढी गर्ने गरिन्छ।
१) सस्तो परीक्षण
२) कम झन्झटिलो
३) प्रयोग गर्न सजिलो
४) विशिष्ट उपकरण आवश्यक नपर्ने
५) बिरामी भएकै ठाउँमा नै परीक्षण गर्न मिल्ने
६) प्राविधिकलाई कम तालिम भए पुग्ने
७) नतिजा छुट्याउन सजिलो हुने

हाम्रो देशमा हाल प्रयोगमा ल्याइएको द्रूत निदानात्मक परीक्षण एन्टिबडी पत्ता लगाउने यो किटले आइजिएमरआइजिजी प्रकारका एन्टिबडीहरु पत्ता लगाउँछ।

यो रगतमा आधारित द्रूत परीक्षण किटको स्पेसिफिसिटी ९९.५ प्रतिशत छ भने सेन्सिटिभिटी ८६.४३ प्रतिशत छ। यसको अर्थ २०० जना कोभिड १९ बाट संक्रमितमध्ये १७ जनालार्ई यसले नेगेटिभ देखाउने गर्छ भने संक्रमण नभएकामध्ये एक जनामा संक्रमित भएको (पोजेटिभ) देखाउने गर्छ। द्रूत परीक्षणमा नेगेटिभ नतिजा आएमा पनि बिरामी संक्रमित छैन भन्न मिल्दैन। तसर्थ, यसलाई पक्कापक्की गर्नका लागि पिसिआर परीक्षण गर्नैपर्छ।

विद्यमान समस्याहरु 
१) हालसालै विभिन्न क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुलाई द्रूत परीक्षण नेगेटिभ आएको भरमा नै घर पठाइएको समाचार बाहिरिएको छ। यसरी पक्कापक्की रोग नलागेको भन्ने परीक्षण (पिसिआर) नगरी घर पठाउँदा समाजमा झन् संक्रमण फैलने डर भइरहेको छ। किनकी द्रूत परीक्षणमा नेगेटिभ नतिजा आएमा पनि बिरामी संक्रमित छैन भन्न मिल्दैन। अझ उक्त व्यक्तिहरुमा कोभिड १९ संक्रमण रहेको तर द्रूत परीक्षणले पत्ता लगाउने मात्रा भन्दा कम एन्टिबडीको मात्रा रहेकोले द्रूत परीक्षणमा नेगेटिभ रिपोर्ट आएको पनि हुनसक्छ।

२) हाल प्रयोग भएको डब्डुओएनडिएफओ द्रूत परीक्षण किटमा २ वटा मात्र डिटेक्सन ब्यान्ड रहेका छन् र जहाँ एउटा कन्टेल र अर्को टेस्ट (आइजिजी वा आइजिएम वा अन्य) लाइन हो। यदि टेस्ट लाइनमा पोजेटिभ देखियो भने यो पोजेटिभ आइजिजी वा आइजिएम वा दुवैको कारणले हो भन्ने छुट्याउन सकिँदैन। जसले गर्दा संक्रमण हालको हो कि पहिलादेखिको हो भन्ने समेत यसले छुट्याउन सक्दैन। जसले गर्दा बिरामी अहिले सक्रिय संक्रमणमा छ वा छैन भनी छुट्याउन अनिवार्य आरटि(पिसिआर गरी संक्रमितलाई आइसोलेसनमा राख्नुपर्ने हुन्छ।

हालको आवश्यकता/समाधानका उपायहरु 
१) हाल प्रयोगमा आएको द्रूत परीक्षणमा गल्तीले संक्रमित नभएको (नेगेटिभ रिजल्ट) देखाउने सम्भावना बढी देखिएकोले आरटि(पिसिआर गरेर मात्र क्वारेन्टाइन्बाट घर फर्किने व्यवस्था गरिनुपर्छ।

२) हरेक व्यक्तिको रोग प्रतिरोधात्मक शक्ति देखाउने क्षमता फरक फरक (एन्टिबडी उत्पादन गर्ने दर) हुने हुँदा, आरटि(पिसिआर सबै क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुमा आवश्यकता अनुसार गर्न नसकिने भएमा कम्तीमा थप केही दिन क्वारेन्टाइनमै राखी विकल्पमा इएलआइएसए परीक्षण गरी घर पठाउन उपयुक्त हुने देखिन्छ।

३) हामीले आरटि(पिसिआरबाट प्रर्याप्त मात्रामा परीक्षण गर्न नसकेको वर्तमान परिप्रेक्षमा कम्तीमा अब हामीले द्रूत परीक्षण किट प्रयोग गर्दा ३ वटा डिटेक्सन ब्यान्ड रहेको द्रूत परीक्षणलाई तत्कालै प्रयोगमा ल्याउनुपर्छ। यसमा एक वटा कन्ट्रोल लाइन र २ वटा टेस्ट लाइनहरु (एउटा लाइन आइजिजी को लागि र अर्को लाइन आइजिएमको लागि) रहेको हुन्छ। जसले गर्दा आइजिजी वा आइजिएम वा दुवै एन्टिबडी छ भनी पक्त लगाउन सकिन्छ। जसले केही हदसम्म भए पनि वर्तमान र विगतको संक्रमणलाई छुट्याउन मद्दत गर्छ। यही नतिजा अनुसार इएलआइएसए, आरटि(पिसिआर, ट्टिमेन्ट प्लान र अन्य बिरामीको व्यवस्थापनसम्बन्धी कामहरु गर्न सकिन्छ। साथै ट्रेसिंग र ट्याकिंगमा समेत यसले उपयुक्त मार्गप्रशस्त गर्नसक्ने देखिन्छ।

(बराल क्लिनिकल माइक्रोबायोलोजिस्ट हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *