टाट पल्टिएर मेलम्चीका ठेकेदार भाग्न खोजेपछि आठ इटालियन कर्मचारी पक्राउ, परियोजना अनिश्चित

अर्थ/वाणिज्य विशेष समाचार समाचार

काठमाडौं, २ पुस

मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसी टाट पल्टिन लागेपछि यसका आठ कर्मचारीलाई प्रहरीले पक्राउ गरी खानेपानी मन्त्रालयको जिम्मा लगाएको छ।

मेलम्ची आयोजना निर्माणका प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहित आठ जनालाई आइतबार राति प्रहरीले ठमेलबाट समातेको हो।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी बृत्त दरबारमार्ग संयुक्त टोलीले आइतबार राति साढे १० बजे ठमेलस्थित रोयल पेङ्गुइन होटलबाट उनीहरूलाई समातेको हो।

महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहका अनुसार कतार एयरमार्फत साढे ११ बजेको टिकट गरी उनीहरू सरकारलाई जानकारी नदिकन भाग्न खोजेका थिए।

क्रिसमस मनाउन जाने बहानामा उनीहरू मेलम्ची खानेपानी अलपत्र पारेर आफ्नो देश फर्किन खोजेको प्रहरीले जनाएको छ।

दरबारमार्ग बृत्तका डिएसपी दानबहादुर मल्लका अनुसार उनीहरूको गतिविधि शंकास्पद थियो। उनीहरूले ठमेलकै काठमाडौं होटल बुक गरी अर्को होटलमा बसेका थिए।

मल्लले सिएमसीका कर्मचारीलाई पक्राउ गरी खानेपानी मन्त्रालयको जिम्मा लगाइएको बताए। उनीहरूको पासपोर्ट जफत गरिएको छ।

‘मन्त्रालय तथा आयोजना कसैलाई थाहा नै नदिइकन उनीहरू भाग्न खोजेको खुल्न आएको छ,’ डिएसपी मल्लले भने।

सिएमसीका कर्मचारीलाई नियन्त्रणमा लिन प्रहरीसँगै खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुर पुगेका थिए। प्रहरीले पक्राउ गरी कर्मचारीहरूलाई सामान्य सोधपुछ गरेको थियो।

सोधपुछका क्रममा प्रोजेक्ट म्यानेजर ग्रेचोले कम्पनी डुबेपछि देश फर्किन खोजेको बताएको मल्लले जानकारी दिए। ग्रेचोले दुई दिनदेखि काम छोडेर काठमाडौं आएको बताएका थिए।

सिएमसी इटालीको प्रसिद्ध निर्माण कम्पनी हो। सय वर्षभन्दा अगाडि स्थापित यो कम्पनीले मुख्यतः यातायात, खानेपानी तथा सिँचाई, बन्दरगाह, रेल्वेजस्ता भौतिक पूर्वाधार र परियोजनाहरूमा काम गर्दै आएको छ।

सन् २०१७ मा यो कम्पनीको वार्षिक आय करिब १५ अर्ब डलर थियो। यो मध्ये ७५ प्रतिशत आय कम्पनीले विदेशमा काम गरेर आर्जन गरेको थियो।

पछिल्लो एक वर्षदेखि भने कम्पनीमा नगद प्रवाहको समस्या देखिएको थियो।

करिब एक वर्षअघि सो कम्पनीले ५० करोड युरो बराबरको बोण्ड जारी गरेको थियो। अघिल्लो महिना मात्र सो कम्पनीले ती बोण्डबापतको पैसा तिर्न नसक्ने जनाएको थियो। एक महिनाअघिनै इटालियन सञ्चार माध्यमहरूले ३० दिनभित्र आफ्नो नगद प्रवाहको समस्या सुल्झाउन नसके कम्पनी टाँट पल्टिनसक्ने जनाएका थिए।

सिएमसीले नेपाललगायत अल्जेरिया, अंगोला, अर्जेन्टिना, साउदी अरेबिया, चीन, इजिप्ट, फिलिपिन्स, फ्रान्स हङकङ, भारत अमेरिका सिंगापुर दक्षिण अफ्रिका स्विडेनलगायत दुई दर्जनभन्दा बढी देशमा काम गर्दै आएको छ।

सन् १९७५ देखि इटालीबाहेक विदेशी मुलुकहरूमा समेत यो कम्पनीले काम गर्दै आएको हो। यसमा ६ हजार ९ सय कामदार छन्।

केही दिनयता खानेपानी मन्त्रालयले सिएमसीका ठेकेदार भाग्न खोजेको भन्दै प्रहरीलाई सहयोग मागेको थियो।

मेलम्ची खानेपानी विकास समितिका अनुसार इटालियन कम्पनीले दुई दिन अघिसम्म काम गरिरहेको जानकारी पठाइरहेको थियो।

समितिका अनुसार मेलम्चीको सुरूङ ढलान एक किलोमिटर बाँकी छ। कंक्रिट लाइनिङको काम ९६० मिटर बाँकी छ। इन्टेकको काम पनि पूरा भएको छैन। हाइड्रो मेकानिकल गेट बन्द गर्ने काम भइसकेको छैन।

यी सबै काम सम्पन्न गर्न झण्डै चैत सम्म लाग्ने खानेपानी मन्त्रालयका एक अधिकारीले बताए। मुख्य ठेकेदारनै भागेपछि अव मेलम्चीको योजना फेरि अनिश्चित भएको छ।

धेरै वर्षदेखि ढिला हुँदै आएको बहुचर्चित मेलम्ची खानेपानी आयोजनाले दसैंअघि नै काठमाडौंमा पानी झार्ने प्रतिवद्धता जनाएको थियो।

मेलम्ची खानेपानी आयोजना सन् २००१ बाटै सुरू भएको हो। सुरूमा यो आयोजना सन् २००७ मा सकिन्छ भनिएको थियो। सन् २००८ सम्ममा सुरूङ निर्माण क्षेत्रमा बाटो पुर्‍याइएको थियो। सन् २०१३ मा चिनियाँ कम्पनीले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको थियो।

चिनियाँ कम्पनीले समयमा काम गर्न नसकेको भन्दै सरकारले इटालियन कम्पनी सिएमसीलाई जिम्मा लगाएको थियो। इटालियन कम्पनीले तीव्र गतिमा काम गरेको भनिए पनि समय(समयमा व्यवधान देखाउँदै आएको छ।

मेलम्ची खानेपानी आयोजना सन् २००१ बाटै सुरू भएको हो। सन् २००८ सम्ममा सुरूङ निर्माण क्षेत्रमा बाटो पुर्याइएको थियो। सन् २०१३ मा चिनियाँ कम्पनीले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको थियो। चिनियाँ कम्पनीले समयमा काम गर्न नसकेको भन्दै सरकारले इटालियन कम्पनी सिएमसीलाई जिम्मा लगाएको थियो।

स्रोतः सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *