संस्कृतिविद् जोशीको अभिनन्दन

कला/साहित्य विशेष समाचार समाचार

काठमाडौँ, २७ असोज


संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई शनिवार सम्मान र अभिनन्दन गरिएको छ । नेपालका सच्चा सपूत, असली रत्न, नेपाली ज्ञानोदयका सूत्रधार, नेपाल राष्ट्रका गौरव, अजम्बरी राष्ट्रिय सम्पदाको रूपमा चित्र गर्दै तीनकुने सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घले यहाँ आयोजित समारोहमा उनलाई अभिनन्दन गरेको हो ।

विसं १९७७ मा वैशाख ३० गते जन्मनुभएका संस्कृतिविद् जोशीका नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा छ दर्शनभन्दा बढी सिर्जनात्मक र अनुसन्धानात्मक कृति प्रकाशित छन् । काव्यकार, नाटककार, कथाकार, निबन्धकार, नियात्राकार, कोशकार, समालोचक, अनुवादक र सम्पादकका रूपमा समेत प्रसिद्धी कमाएका जोशीका लोकसाहित्य, लोकसंस्कृति, कला र कलाकार, पुरातत्व, नेपाली राष्ट्रिय मुद्रा, धर्म र दर्शन आदि विषयका मौलिक र अनूदित कृति प्रकाशित छन् ।

वाङ्मय शताब्दी पुरुष जोशीले सङ्घका अध्यक्ष मदनकुमार शिवाकोटी, महान्यायाधिवक्ता अग्नि खरेल र प्रा डा कुमारप्रसाद कोइरालालाई सम्मान र अभिनन्दनपत्र प्रदान गरे ।

समारोहमा वाङ्मय शताब्दी पुरुष जोशी र महान्यायाधिवक्ता खरेलले एकीकृत उपभोक्ता सङ्घको वार्षिक स्मारिक जमराको २३औँ अङ्कको लोकार्पण गरे । उक्त स्मारिकामा धर्म, साहित्य, वातावरण, विकास, भूगोल, कृषि, चार्डपर्वलगायतका विषयमा विद्धानका लेख रचना समावेश गरिएको छ । सङ्घले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रमसमेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *