काठमाडौं, २० मंसीर
धेरैपछि काठमाडौमा रहेको कुञ्ज थिएटरमा मौलिक कथा वस्तुमा नाटक मञ्चन भैरहेको छ । नाटक हो लोक नाटक लिलामे माईलो । रिमेक ड्रामा बन्ने चलन आइरहेको अवस्थामा लिलामे माइलो भने पृथक नेपाली मौलिक कथावस्तुमा बनेको छ ।
नाटक मगर समुदायको कथा वस्तुलाई लिएर बनाइएको छ । मंसीर १४ देखि शुरू भई पुस ७ गतेसम्म नयाँ बानेश्वर थापागाउँ, सीडीओटोलमा रहेको कुञ्ज थिएटरमा नाटक मञ्चन हुनेछ । नाटक हरेक दिन ४ः३० बजे र शनिवार र सार्वजनिक बिदाको दिन दिउँसो १ बजे लाग्ने छ ।
नाटक मञ्चन भैरहेको अवस्थामा नाटकको पात्र परिवेस अनुसारको वास्ना नाटक घरमा आउँदै गर्दा दर्शकलाई फरक खालको रोमाञ्चित बनाइरहेको हुन्छ जसले दर्शकलाई यथार्थता महशुस गराउन ठूलो मद्दत पुगेको छ । यो किसिमको प्रयोग नेपालमा पहिलोपटक गरिएको निर्माण पक्षको दाबी छ ।
नाटकले दर्शकको राम्रो साथ र प्रतिक्रिया पाएको छ । लिलामे माइलो पारिवारिक नाटक हो । सामाजिक विषयवस्तुलाई नाटकमा उतारिएको छ । नेपालको ग्रामीण भेगमा बसोबास गर्ने ब्यक्तिहरुको स्थानीय रहनसहन, संस्कृति, पर्ब, ती गाउँले जीवन यापन गर्नेहरुको जीवनमा घट्ने घटनालाई दुरुस्तै कथामा उतारी प्रत्यक्ष अभिनयको माध्यमद्वारा नाटकको रुपमा प्रस्तुत गरिएको छ ।
धेरैपछि काठमाडौंको नाटक घरमा मौलिक कथावस्तु मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ । पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँपन दिनको लागि नाटकको कलाकारसहितको टोली १ हप्तासम्म मोरङ जिल्लाको लेटाङस्थित राजारानी ताल आसपास क्षेत्रमा गई चरित्र निर्माणको लागि फिल्ड भिजिटसमेत गरेको थियो ।
कुञ्ज नाटक घरको प्रस्तुति तथा राजाराम गौतमको निर्माणमा बनेको नाटकको कथा÷निर्देशक प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण राज थापा काउचा, कलाकारहरु सलमान खान गुरुङ (माइला), निशा पाख्रिन (प्याकुली), राजन भुजेल (दुधे), पुष्पराज अवस्थी (जिम्वाल), विजय नेपाल (सानकाजी), वीरेन्द्र खाति, अलविना न्यौपाने (चन्द्रा), मनोज थापामगर (कान्छा), संजीव राई (गाउँले), नमस्ते दिवाकर घिमिरे (सोमे), विपना थापा (जुुनु), वीरेन्द्र खाती, शिला रानामगर, सचिन मल्ल (धरापे), संगीता थापा, सुनिल मगर(झप्ते), ललित मगर (लोके), चक्र विष्ट (गाउले), पारुहागं राई (बनकाँडे) रहेका छन् । प्रचार परिकल्पना लुक्स नेपाल इभेन्ट्स एण्ड मिडिया प्रा.लि.को रहेको छ । संगीत परिचालन प्रकाश घिमिरे, राजिव श्रेष्ठ, प्रवीन लाखाजु, फोटोग्राफी डकुमेन्टेशन युसव गौतम, भेषभुषा दिपिका थापा, प्रकाश परिकल्पना तथा परिचालन रामबाबु रेग्मी, जीवन बराल, मञ्च परिकल्पना झकेन्द्र बि.सी, सेट निर्मल साउद, प्रप्स निर्माण सञ्जीव राई, पोष्टर प्रकेश सिन्धुलीया, मञ्च व्यवस्थापन पुष्पराज अवस्थी, पब्लिक रिलेशन अफिसर पदम घिमिरे, डिजिटल मार्केटिङ फोर क्युव इन्टरटेनमेन्ट प्रा.लि. को रहेको छ ।
नाटकलाई देशका विभिन्न थिएटरहरुमा र राष्ट्रिय तथा अन्तरराष्ट्रिय नाटक महोत्सबहरुमा समेत मञ्चन गर्ने गरी तयारी गरिएको निर्माता राजाराम गौतमले जानकारी दिए । नेपाल पश्चात् नाटक भारतको सिक्किम, दार्जिलिङ, सिलगुडि, असाम, थाइल्याण्ड, म्यानमार, बंगलादेशमा समेत प्रदर्शनको तयारी गरिएको उनले बताए । नाटक मौलिक र सामाजिक परिवेशलाई आधार बनाइएको छ ।
नाटकले यसअघि नै नेपालमा पहिलोपटक नाटकको प्रोमोशन भिडियो बनाएर युट्यूवमा सार्वजनिक गरेको थियो भने उत्कृष्ट ट्रोल भिडियो, पोष्टर, बनाउनेलाई नगद रु ५ हजार र २ जनालाई दार्जिलिङ टुर प्याकेजको घोषणा गर्नुको साथै विभिन्न अफरहरु राखेर निःशुल्क टिकटको पनि व्यवस्था गरेको छ । नेपाली नाट्य क्षेत्रमा यो किसिमको प्रचार प्रसारको शैली पहिलोपटक अपनाइएको जानकार बताउँछन् । नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोगसहित, नाटकको माध्यमबाट पूर्वी नेपालका आदिबासी जनजातिमध्येको मगर जातिको रितिरिवाज, चालचलन, कला साहित्य र संस्कृतिलाई प्रवद्र्धन गर्नुको साथै पर्यटकीय क्षेत्र मोरङको राजारानी ताललाई पनि प्रवद्र्धन गर्न मद्दत पुग्ने निर्माता गौतमले बताए ।
सामाजिक उत्तरदायित्व निर्वाहको लागि भन्दै नाटक मंसीर १२ गते काठमाडौंमा रहेका सुकुम्बासी बस्तीका बालबालिकालाई देखाइएको थियो भने मंसीर १३ गते वृद्धाश्रमका महिलालाई निःशुल्क देखाइएको थियो ।
लिलामे माईलो नाटक मञ्चनबाट संकलन हुने रकम खर्च कटाएर बाँकी रकम सामाजिक कार्यमा खर्च गरिने निर्माता राजाराम गौतमले बताए । सुकुम्बासी बस्तीका बालबालिका र ७० वर्षमाथिका बृद्ध बृद्धाले यो नाटक कुनै पनि दिन निःशुल्क हेर्न पाउने कार्यकारी निर्माता गौतमले जानकारी दिए ।
चटके माइलो हो नाटके माइलो
लिलामे माइलो देशै रमाइलो
मन भित्रै छ उसको हो सुन चांदिको थैलो
लिलामे माइलो देशै रमाइलो