काठमाडौं, २० मंसीर
सरकारले ललितपुरको भैँसेपाटीमा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष तथा उपसभामुखसहित मन्त्रीहरुका लागि नयाँ भवन निर्माण गर्ने भएको छ। गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ललितपुर महानगरपालिका सैबु भैँसेपाटीमा रहेको सैबु आवास क्षेत्रमा रहेको १४९ रोपनी चार आना ३.२८ दाम जग्गामा भीआइपीका लागि ४१ वटा भवन बनाउने निर्णय गरेको हो।
सांसद आवासका लागि छुट्याइएको सो जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र उपसभामुखसहित मन्त्रीहरुका लागि २७ वटा आवास भवन बनाउने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहीवार नियमित पत्रकार सम्मेलनमा जानकारी दिए। त्यस्तै सोही स्थानमा प्रदेश प्रमुख र मुख्यमन्त्री आवास सम्पर्क कार्यालयका लागि १४ वटा भवन निर्माण गर्ने निर्णय गरिएको छ।
सातै प्रदेशका मुख्मन्त्री र प्रदेश प्रमुखहरुका लागि पनि यहाँ आवास तयार हुने छ।
हाल प्रतिनिधि सभाका सभामुखका लागि बालुवाटारमा आवास छ। राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष भनेका लागि पनि छुट्टै आवास निर्माण गर्ने तयारी भएको हो। त्यस्तै मन्त्रीहरुका लागि हरिहरभवन पुलचोकमा मन्त्री क्वाटर छन्। उनीहरुका लागि पनि भैँसेपाटीमा आवास निर्माण गरिने भएको हो।
हाल मन्त्री क्वाटर रहेको परिसरमा सरकारले १० वटा राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस)निर्माण गर्ने तयारी गरेको छ। स्टेट गेस्ट हाउसका लागि मन्त्रि निवास परिसरको जग्गा अपर्याप्त भए नजिकै रहेको नेपाल राष्ट्रिय पुस्तकालयको जग्गा प्रयोग गर्ने निर्णय भएको प्रवक्ता बास्कोटाले जानकारी दिए।
मन्त्रिपरिषदका अन्य निर्णयहरु :
- प्रधानमन्त्री केपी शर्मा ओलीलाई विवादित संस्थाले काठमाडौंमा आयोजना गरेको एसिया प्यासिफिक समिटका क्रममा प्रदान गरिएको ‘लिडरसिप एण्ड गुड गभर्नेन्स अवार्ड’ सहित प्राप्त एक लाख अमेरिकी डलरमा सोही बराबरको रकम नेपाल सरकारले थप गरी शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासका क्षेत्रमा उल्लेख्य योगदान पुयाउने प्रतिभाशाली युवा तथा अन्य व्यक्तिलाई प्रोत्साहन तथा हौसला प्रदान गर्ने उद्देश्यले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ कोष स्थापना गर्ने निर्णय गरिएको छ।
- पोल्यान्ड सरकारद्वारा राष्ट्रसंघीय संरचना महासन्धी अन्तर्गतका पक्षराष्ट्रहरूको २४ औं सम्मेलनको घोषणापत्र प्रस्ताव ‘सोलिडारिटी एण्ड जस्ट ट्रान्जिसन सिलेसिया डिक्लेरेशन’ अनुमोदन गर्ने निर्णय गरिएको छ।
- महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्राहलय बनाउने निर्णय गरिएको छ।
- पुथा उत्तरगंगा गाउँपालिका, रुकुम (पूर्वी रुकुम) को केन्द्र साविक कोल गाविसको कार्यालयबाट परिवर्तन गरी तक्सेरामा कायम गरिएको छ।
- नेपाल र श्रीलंकाबीच संयुक्त हुलाक टिकट प्रकाशन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरिएको छ। त्यस्तै हुलाक सेवा सम्बन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र पनि स्वीकृत गरिएको छ।
- नेपाल दूरसञ्चार कम्पनी लिमिडेटको प्रवन्ध निर्देशक पदमा नियुक्ति सिफारिस गर्न तीन सदस्य छनौट समिति गठन गर्ने निर्णय गरिएको छ।
- स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा रमेशकुमार पोखरेल, विराटनगर–५, मोरङलाई नियुक्त गरिएको छ।
- नेपाल-भारत एकीकृत भन्सार जाँच चौकी, वीरगञ्जको जग्गा मुआब्जा विवाद समाधान गर्नका लागि भन्सार स्थापना गर्दा विस्थापित भएर घरवारविहिन हुन पुगेका परिवारलाई प्रति परिवार एक लाख ५० हजार रूपैया र यसअघि मुआब्जा पाएर पनि बसोबासको व्यवस्था गर्न नसकेका परिवारलाई प्रति परिवार एक लाख रूपैयाँ प्रदान गर्ने निर्णय गरिएको छ।
- काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न नुवाकोट जिल्लास्थित बन्चरेडाँडामा निर्माण गर्नुपर्ने करिव १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधारसहितको ल्यान्ड फिल्ड साइट निर्माण गर्ने जिम्मा सहरी विकास मन्त्रालयलाई दिने निर्णय गरिएको छ।