जनता नसुध्रिएसम्म देश नबन्ने, उपभोक्ता समितिमार्फत गरेको निर्माण स्तरीय हुने

अर्थ/वाणिज्य कला/साहित्य राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २८ फागुन


भक्तपुर नगरपालिका वडा नं. न ९ मा जनप्रतिनिधिको पाँच वर्षे कार्यकालमा वडाभित्रका विकास निर्माण तथा सम्पदा पुनर्निर्माण कार्यमा निस्वार्थ रुपमा उपभोक्ता समिति र अनुगमन समितिमा बसेर सहयोग गर्ने पदाधिकारीको सम्मानमा वडा कार्यालयले शनिवार धन्यवादज्ञापन तथा सम्हेबजी कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले उपभोक्ता समितिबाट इमानदारीपुर्वक गरेको कामले जनतालाई नै फाइदा पुग्ने भएकाले जनता नसुध्रिएसम्म देश नबन्ने बताए । साथै उपभोक्ता समितिमार्फत गरेको निर्माण स्तरीय हुने बताए । उनले बालबालिकाका लागि बालउद्यान, वृद्धवृद्धाका लागि आदरनिकेटन बनाए परिवारका अन्य सदस्य आफ्नो काममा लाग्न सजिलो हुने बताए । उनले ठेक्का प्रयासले विकासमा बाधा पु¥याउने भएकाले हाम्रो विकास निर्माण र सम्पदा पुनर्निर्माणको कार्यमा हामी आफै लाग्नुपर्ने बताए । साथै स्वदेशी उत्पादनलाई सबैले प्रोत्साहन दिनुपर्ने बताउँदै उनले अरुमा निर्भर भएसम्म अघि बढ्न नसक्ने औल्याए ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल मजदुर किसान पार्टीको नीति निर्देशन बमोजिम काम गर्दाको परिणाम भएको बताउँदै पार्टीको घोषणापत्र अनुसार कार्य गरेको उनको जिकीर छ । जनताको करबाट उठेको पैसा जनताकै हातमा जानुपर्ने धारणा राख्दै उपभोक्ता समितिमार्फत काम गर्दा स्थानीयले नै राहत पाएको औल्याए । नेमकिपालाई दिएको मत एउटा पनि खेर नगएको भन्दै उनले उपभोक्ता समितिबाट काम गर्दा गुणस्तरीय, कम लागत र अपनत्व कायम गर्न सकेको बताए । स्थानीय पाठ्यक्रममा भक्तपुरकै कालिगढ र कलाकारहरुको जीवनी समाबेश गरेको बताउँदै उनले अबका हरेक विद्यार्थीले हाम्रो इतिहास थाहा पाउने बताए । सरकारले उपभोक्ता समितिमार्फत कार्य नगराउने विभिन्न चाल चलाएपनि त्यसबाटै काम गर्ने गरी विभिन्न चरणमा संघर्ष गरिरहेको उनले बताए । उनले नर्सिङ क्याम्पस सञ्चालनार्थ सय बेड क्षमताको अस्पताल निर्माण कार्य तीव्र रुपमा अगाडि बढाएको स्पष्ट पारे । उनले भक्तपुर नगरभित्र पुनर्निमार्ण गर्नुपर्ने एक सय २० वटामा हालसम्म मन्दिर २६ वटा, पाटी ४५ वटा, द्योछेँ ६ वटा, ध्वाका ३ वटा इनार ७ वटा सत्तल ८ वटा, ढुंगेधारा ७ वटा र अन्य पोखरीहरुसमेत गरेर एक सय १८ वटा सम्पन्न गरिसकेको जानकारी दिए ।

उपप्रमुख रजनी जोशीले शिक्षा, स्वास्थ्य र सम्पदा निर्माण कार्यमा ख्वप मोडेल बनिसकेको बताउँदै उनले देशभरकै नगरपालिका र गाउँ पालिकाहरुमध्येमा सर्वोत्कृष्ट स्थान हासिल गर्न जनताको साथ र सहयोग अपरिहार्य रहेको औल्याए । भुकम्पले थलिएका भक्तपुरलाई उठाउन पार्टीको निर्देश बमोजिम काम गर्दा सहज भएको बताए । उनले घोषणापत्र अनुसार ९० प्रतिशतभन्दा बढी कार्य सम्पन्न गरिसकेको बताए ।

नेपाल मजदुर किसान पार्टी ९ वडा समन्वय समितिका अध्यक्ष कृष्णभक्त लवजुले सकेसम्म उपभोक्ता समितिमार्फत कार्य गर्न नसक्ने बनाउन सरकारले नीति नियममा परिमार्जन गरेको उल्लेख गरे । उनले जनप्रतिनिधि इमानदार र राम्रो छानिएकै कारण तीव्र रुपमा योजना सञ्चालन गर्न सकेको बताए ।

भ.न.पा. ९ वडाध्यक्ष रवीन्द्र ज्याख्वले सभापतित्व ग्रहण गरी २०७४ जेठ ७ गते जनप्रतिनिधिको पदभार ग्रहण गरेपश्चात हालसम्म वडामा ९० जटा योजना सम्पन्न गरेकोमा खुशी व्यक्त गरे । उनले त्यसकार्य सम्पन्न गर्न सघाउने उपभोक्ता समिति, अनुगमन समिति तथा श्रमदान गर्ने जनताको कदर गर्दै धन्यवाद व्यक्त गरे । उनले पाँच वर्षे अवधिमा गरिसकेका विभिन्न कार्यको तथ्यांक विवरण प्रस्तुत गर्दै उपभोक्ता समितिबाट काम गर्दा लागत इस्टमेटभन्दा १९ प्रतिशत कममा कार्य सम्पन्न गरेको स्पष्ट पारे ।

वडा सदस्य इन्द्र बहादुर प्याठले स्वागत गरेको उक्त कार्यक्रममा छोरीमैया सुजुखु, सन्जय मानन्धर लगायतले बोलेका थिए । कार्यक्रममा प्रमुख अतिथि विजुक्छेँ र उपप्रमुख जोशीले उपभोक्ता समिति, खेलकुद समिति, कृषक समूह, कोभिडका स्वयम्सेवक, स्वास्थ्य स्वयम्सेवीका, वडाका नर्स र कार्यालयका कर्मचारीहरुलाई पाँच वर्षे अवधिमा गरेको सहयोगको कदर गर्दै धन्यवाद पत्र वितरण गरे । पहिलो चरणको औपचारिक कार्यक्रम पश्चात सम्येबजी कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *