रुस र चीनविरुद्ध दुईतर्फी लडाइँको तयारीमा संरा अमेरिका

अन्तर्राष्ट्रिय राजनीति विचार विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

एजेन्सी, २३ फागुन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले दोनेत्स्क र लुहान्स्क जनगणतन्त्रलाई गत फेब्रुअरीमा मान्यता दिने घोषणा गरे । यो घोषणाले पूर्वी युक्रेनमा तनाव अझै बढ्ने सङ्केत गरेको छ । संरा अमेरिकाको विदेश नीतिले खास चाहेको कुरा पनि ठीक यही हो । तीन दिनअघि ‘फरेन पोलिसी’ पत्रिकाको वेभसाइटमा एउटा लेख छापिएको थियो । त्यसको शीर्षक थियो –वाशिङ्टनले रूस र चीन दुवैसँग लडाइँंको लागि तयार रहनुपर्छ ।’

लेखमा भनिएको छः
‘संरा अमेरिका संसारकै लाभसहितको विश्वको नेतृत्वदायी शक्ति हो । उसले युरोप र हिन्द–प्रशान्त क्षेत्रमध्ये कुनै एउटा मात्र छान्न मिल्दैैन । बरु वाशिङ्टन र उसका साझेदारले रूस र चीनलाई बिथोल्ने, आवश्यक परे पराजित गर्ने किसिमको प्रतिरक्षा रणनीति विकास गर्नुपर्छ ।’
त्यो लेखका लेखक म्याथ्यु क्रोइनिग रणनीति र सुरक्षा–एटलान्टिक परिषद्को लागि स्कोक्रोफ केन्द्रमा आबद्ध छन् । गत वर्ष त्यो संस्थाले ‘द लङ्गर टेलिग्राम’ प्रकाशित गरी चीनमाथि विस्तृत घेराबन्दीको वकालत गरेको थियो । स्कोक्रोफ केन्द्र संरा अमेरिकाका प्रमुख वैचारिक संस्था हो । त्यसकारण, यो लेखले चीन र रूसप्रति संरा अमेरिकी मूलधारको आजको कूटनीतिक र सैनिक दृष्टिकोण प्रतिबिम्बित गर्छ । यो विषयमा चीनले ध्यान दिन जरुरी छ ।

एकै समय दुई लडाइँ
क्रोइनिगको लेखमा भनिएको छ, ‘युक्रेनको ठूलो लडाइँंले अन्तर्राष्ट्रिय सीमा पार गर्नसक्छ र यसले रूस, बेलारुस र युक्रेनसँग सीमा जोडिएका नाटोका सात देशलाई समस्यामा पार्न सक्छ । ‘त्यस्तै पूर्वी युरोपका अन्य जोखिममा रहेका देशहरू पोल्यान्ड, रोमानिया र बाल्टिक देशहरू अर्को निशाना बन्न सक्छन् ।’ रूस र युक्रेन दुवैले युद्ध थाल्ने आफ्नो कुनै चाहना नभएको भन्दै गर्दा पनि यी सम्भावनालाई नकार्न सकिन्न । संरा अमेरिकी भारत–पाकिस्तान कमान्डका पूर्वकमान्डर फिलिप डेभिडसनको भनाइ उद्धृत गर्दै लेखमा भनिएको छ– ‘आउँदो ६ वर्षमा चीनले ताइवानमाथि हमला गर्नसक्छ ।’ यदि ताइवान कब्जा गर्न चीन सफल भए त्यसले अमेरिकी नेतृत्वको एसिया व्यवस्थालाई लगातार कमजोर बनाउनेछ ।’ यी सम्भावनाको कारण संरा अमेरिकाले आफ्नो ‘विश्व सुरक्षा प्रतिबद्धता’ कमजोर हुने डर मानेको छ ।

संरा अमेरिकाको आँखामा चीन र रूस दुई प्रमुख शत्रु हुन् । ती दुई देशका विशाल भूगोल, लामो इतिहास, समृद्ध राष्ट्रिय संस्कृति र रणनीतिक आणविक हतियार सबै संसारमा अमेरिकी प्रभुत्वको निम्ति चुनौती हुन् । संरा अमेरिकाका अनुसार यस्ता खतरा पन्छाउने एउटैमात्र बाटो भनेको यी दुई ठूला शक्तिलाई संरा अमेरिकी विश्व प्रभुत्ववादसमक्ष झुकाउनु हो । आफ्नो कमजोर अवस्थाबाट विस्तारै तङ्ग्रिंदै गरेको रूसलाई संरा अमेरिकाले पूर्णतः अलगअलग बनाउने सोचेको छ । रूसी आणविक हतियार नष्ट बनाएर संसारमा उसको बचेखुचेको प्रभाव पनि छिन्नभिन्न बनाउने अमेरिकाले सोचेको छ । सङ्गठित जनता, स्थायी शासक पार्टी र तन्दुरुस्त अर्थतन्त्र भएको चीनलाई कुनै ‘रङ्गीन क्रान्ति’ गरेर चिनियाँ नेताहरूलाई सत्ताच्युत बनाउने र साम्यवादप्रति चिनियाँ जनताको विश्वासलाई क्रमशः कमजोर बनाउने संरा अमेरिकी योजना छ । क्रोइनिगको विचारमा दुवै देशमाथि सैनिक घेराबन्दी कायम राख्नमा कुनै पनि सम्झौता गर्न हुँदैन ।


‘आफ्नो सीमित स्रोतको कारण संरा अमेरिकाले राष्ट्रिय सुरक्षाको विषयमा कुनै निराशाजनक रणनीतिक छनौट गर्न बाध्य हुनुहुँदैन’, क्रोइनिगले लेखेका छन् । ‘एकै समयावधिमा रूस र चीनलाई पराजित गर्न’ संरा अमेरिकाले आफ्नो रक्षा खर्च बढाउनुपर्ने क्रोइनिगको तर्क छ । वास्तविक आधार (रियल टर्म) मा नभए पनि बजार मूल्यमा मापन गरिएको खरिद गर्ने क्षमता (पर्चेजिङ पावर प्यारिटिज–पीपीपी) का आधारमा संसारको कुल गार्हस्थ उत्पादन (जीडीपी) को २४ प्रतिशत हिस्सेदारी संरा अमेरिकाले ओगटेको छ भने चीन र रूस दुवै मिलेर जम्मा १९ प्रतिशतमात्र ओगेटेको छ । अफगानिस्तानबाट संरा अमेरिकी सेना हालै फिर्ता गरिएको पृष्ठभूमिमा क्रोइनिगले अमेरिकाले आफ्नो सैनिक खर्चमा कटौती गर्न नहुने तर्कमात्र गरेका छैनन्, बरु दोब्बर गुणाले बढाएर संरा अमेरिकी कुल गार्हस्थ उत्पादनको ५.६ प्रतिशत पु¥याउनुपर्ने तर्क गरेका छन् । सैनिक खर्चमा यति बढाउनुले उसको सैनिक खर्च शीतयुद्धकालीन खर्चकै हाराहारीमा पुग्छ । किनभने उनको शब्दमा ‘यो नयाँ शीतयुद्ध पहिलेको शीतयुद्धजस्तै खतरनाक युद्ध हो ।’

लेखमा ‘संरा अमेरिकाका प्रमुख साझेदार देशहरूलाई सैनिक योजना तर्जुमामा सहभागी बनाउने, जिम्मेवारी बाँडफाँट गर्ने र हतियार खरिदमा हतियारका पार्टपुर्जा बनाउनेमा श्रम विभाजन समावेश गर्नुपर्ने’ अर्को प्रस्ताव गरिएको छ । संरा अमेरिका र उसले औपचारिक सन्धि गरी साझेदार बनाएका देशहरूले संसारको कुल गार्हस्थ उत्पादनको झन्डै ६० प्रतिशत ओगटेको छ । ती साझेदारहरूका साथै संरा अमेरिकाका परिपुरक मोर्चाहरू (जस्तै नाटो, एसियाका द्विपक्षीय मोर्चाहरू) र अहिलेका नयाँ संरचना (चारपक्षीय सुरक्षा संवाद–क्वाड) लाई ‘सहजै थप स्रोत परिचालन गर्न तथा चीन र रूसमाथि सैनिक अब्बलता कायम राख्न’ उपयोग गर्न सकिने क्रोइनिगले भने । संरा अमेरिकाका युरोपेली साझेदार देशहरूले हातहतियारमा लगानी गर्नुपर्ने र एसियाली साझेदार देशहरूले खानी, मारक मिसाइल र पन्डुबी किन्नुपर्ने सुझाव दिएका छन् । उनले संरा अमेरिकी सेनाले युरोपलाई प्राथमिकतामा राख्नुपर्ने र संरा अमेरिकी जलसेनाले हिन्द–प्रशान्त क्षेत्र सम्हाल्नुपर्ने सुझाव पनि दिएका छन् ।

क्रोइनिगले अन्तमा आणविक हतियारबारे कुराकानी थाले । “हाम्रो शत्रुका स्थानीय लाभलाई छेउ लगाउन (यदि आवश्यक भए) आणविक हतियारमाथि भर पर्नुपर्छ”, उनले लेखेका छन् । उनले व्याख्या गर्दै लेखे, “संरा अमेरिकाले गैररणनीतिक आणविक हमलामाथि विकल्पको रूपमा भर पर्नसक्छ र अन्ततः ताइवानमाथि कब्जा गर्ने वा युरोपमा रूसका ट्याङ्क तैनाथ गर्ने चाहनामाथि अन्तिममा दबाउन आणविक हतियार पनि प्रयोग गर्नसक्छ ।”

रूसविरुद्ध दशकौँ लामो रणनीतिको निरन्तरता
रूसप्रति संरा अमेरिकाको अहिलेको नीति राडारमा अचानक बलेको बत्ती होइन । बरु दशकौँ लामो शीतयुद्धकालीन रणनीतिको निरन्तरतामात्र हो । तत्कालीन अमेरिकी विदेश सचिव हेनरी किसिङ्गरको गोप्य चीन भ्रमणको केही समयपछि सन् १९७२ मा उनले राष्ट्रपति निक्सनलाई भनेका थिए, “चिनियाँहरू रूसीहरू जत्तिकै खतरनाक छन् । कुनै ऐतिहासिक समयमा उनीहरू रूसीहरूभन्दा बढी खतरनाक हुनसक्छन् ।” उनले ‘शक्तिको खेलमा कुनै भावुकताहिन सन्तुलन’ को खेल खेलेर मस्को र पेइचिङबाट वाशिङ्टनले लाभ उठाउन सक्नेमा आशा व्यक्त गरे । किसिङ्गरको भनाइमा बीस वर्षपछि संरा अमेरिकाले चीनलाई रोक्न रूसको साथ लिनुपर्नेछ जसरी सोभियत सङ्घलाई कमजोर बनाउन चीनलाई प्रयोग गरिएको थियो । समयान्तरमा संरा अमेरिकी सरकारहरू (दुवै डेमोक्रेटिक र रिपब्लिकन)ले चीनसँग काम गर्ने र सोभियत सङ्घलाई कमजोर बनाउने यही रणनीति कार्यान्वयन गरे । जसले सोभियत सङ्घको विघटन नजिक ल्यायो ।

सन् १९९१ मा तत्कालीन सोभियत सङ्घ विघटन भयो । तर, संरा अमेरिकाको प्यास भने त्यत्तिले मात्र मेटिएन । सोभियत सङ्घमा येल्सिन सरकारको समयमा संरा अमेरिकाले युक्रेन, बेलारुस र कजाकिस्तानलाई जस्तै रूसलाई पनि सम्पूर्णरूपमा आफूसँग भएको आणविक हतियार नष्ट गर्न मनाउन सकेन । सन् २००१ मा संरा अमेरिका सन् १९७२ मा भएको एबीएम सन्धिबाट हात झिकेपछि रूसले पनि स्टार्ट द्वितीय सन्धिबाट हात झिक्यो । त्यही बेला रूसले पूर्वी युरोपमा अझै पनि ५ हजारभन्दा बढी आणविक हतियार परिचालन गरेर बलियो प्रभाव कायम राख्यो । संरा अमेरिकाको लक्ष्य रूसलाई आर्थिकरूपमा कमजोर बनाउने वा ध्वस्त बनाउने थियो । त्यहाँको राजनीति अस्थिर बनाउने, रूसी जनतालाई अलमलमा पार्ने र समयान्तरमा रूसलाई स–साना देशमा विभाजित गर्ने र सबभन्दा प्रमुख कुरा रूसको आणविक हातहतियार नष्ट गर्नु थियो ।

यसो गर्दै गर्दा वाशिङ्टनले रूसी जनताको देशभक्तिपूर्ण भावनालाई भने न्यूनाङ्कन गरेको थियो । ऐतिहासिकरूपमा रूसले धेरै पटक पश्चिम युरोपेली देशको हमला सामना गरिसकेको थियो । सन् १८१२ मा नेपोलियनले रूसमाथि हमला गरेको थियो । सन् १९१८ मा भर्खर जन्मेको सोभियत शासनमाथि चौध वटा देशको मोर्चाले सैनिक हमला गरेको थियो । दोस्रो विश्वयुद्धमा सोभियत सङ्घविरुद्ध जर्मन फासीवादी हमला गरेको थियो । ती हमलामा करोडौँ सैनिक र गैरसैनिक जनताको मृत्यु र घाइते भएका थिए । सोभियत सङ्घ र चीनले दोस्रो विश्वयुद्धमा फासीवादविरुद्ध सबभन्दा ठूलो बलिदान ग¥यो । जसले दुवै देशमा बलियो राष्ट्रवाद र देशभक्तिलाई आकार दियो । देशभक्ति भावना रूसी राजनीतिको सबभन्दा महत्वपूर्ण पक्ष बन्यो । रूसका हरेक राजनीतिक पार्टीले आफ्नो देशको रक्षा कसरी गर्ने भन्ने विषयमा सोच्न थाले । विशेषतः सोभियत सङ्घको विघटनपछिको जटिल समययता रूसी जनतालाई आज संरा अमेरिकाले सोचेजस्तै झुक्याउन सजिलो छैन । राष्ट्रपति भ्लादिमिर पुटिनले सधैँभरि उच्च जनसमर्थन प्राप्त गरेका छन् । संरा अमेरिकाको लामो आर्थिक नाकाबन्दी र आन्तरिक ‘रङ्गीन क्रान्तिहरू’ बीच पनि रूस सरकार लामो समय स्थायी नै रह्यो । समयान्तरमा संरा अमेरिकाले आफ्नै अगुवाइमा युक्रेनमा द्वन्द्व उछाल्ने निर्णय ग¥यो, पूर्वी युक्रेनका जनतामाथि युद्धको धम्की दियो र रूसलाई आफ्नो रक्षा आफैले गर्नुपर्ने ठाउँमा पुर्‍यायो । फलतः रूसविरुद्ध बृहत् आकारको मिश्रित लडाइँ थाल्ने र आर्थिक नाकाबन्दीको अवस्थामा बन्यो ।

लेखमा क्रोइनिगको चेतावनीपूर्ण भनात्न्दा विपरीत पूर्वी युक्रेनमा बढ्दो तनावबीच कहिल्यै पनि हमला गरेको थिएन, त्यो पूर्णतः उसको आत्मरक्षा हो । प्रभावित दुई क्षेत्र दोनात्स्क र लुहान्स्कको ऐतिहासिक रूपमा युक्रेनसँग भन्दा रूससँग नजिकको सम्बन्ध रहँदै आएको छ । अठारौँ शताब्दीको मध्यमा सारिना इकाटेरेना द्वितीयले सो क्षेत्रलाई औद्योगिक सहरको रूपमा विकास गरी त्यसको नामकरण ‘नयाँ रूस’ राखे । सोही क्रममा ठूलो सङ्ख्यामा आदिवासी रूसीहरूलाई सो स्थानमा बसाले । पश्चिम युक्रेनमा शताब्दियौँदेखि लिथुआनियाली, पोल्स, अस्ट्रियाली, रूसी र जर्मनहरूको बसोबास रहँदै आएको छ । त्यसकारण, त्यो क्षेत्र जातीय, भाषिक र धार्मिकरूपमा रूसभन्दा फरक रहँदै आएको छ । त्यहाँका जनतामा पहिचानको न्यून चेतना र रूसप्रति गहिरो घृणा छ । पछिल्ला वर्षमा नवनाजी शक्तिहरू पश्चिम युक्रेनमा बलियो भएका छन् । नाजी नेता स्टेपान बान्देराको जन्म दिवसको अवसरमा किभ र ल्भेभजस्ता सहरमा आयोजित मैनबत्ती ¥याली यसका सङ्केत हुन् । अघिल्लो द्वन्द्वको क्रममा पश्चिम युक्रेनमा अति राष्ट्रवादीहरूले नाजी झन्डा उठाएर सबै पूर्वी युक्रेनी र रूसवादीहरूको हत्या गर्ने धम्की दिएका थिए । पूर्वी युक्रेनमा आदिवासी रूसीले त्यस्ता गतिविधिको प्रतिरोध गर्दै आएका छन् । त्यसको निम्ति उनीहरूले रूसको मद्दत माग्दै आएका छन् । रूसमा जनता पनि पूर्वी युक्रेन क्षेत्रका रूसी मूलका देशभक्तहरूलाई पुटिनले सहायता गर्नुपर्ने पक्षमा छन् ।

नाटोको पूर्वतिरको विस्तारले युक्रेनको सुरक्षा मुद्दा उत्कर्षमा पुग्यो । सोभियत सङ्घको विघटनअघि संरा अमेरिकाले मिखाइल गोर्भाचोभले नाटो पूर्वतिर विस्तार नगर्ने वाचा गरेको थियो । किनभने नाटोको खास लक्ष्य सोभियत सङ्घको सामना गर्नु र युरोपमा साम्यवाद विस्तार रोक्नु थियो । शीतयुद्ध समाप्त भएपछि आफ्नो त्यो लक्ष्यमा नाटो सफल भइसकेको थियो । तथापि, शीतयुद्ध समाप्त भएपछि नाटोले सोभियत सङ्घकै केही पूर्व सदस्यहरूसमेत थप चौध देशलाई सदस्यता दिएर त्यो ‘भद्र सहमति’ तोड्यो । सन् २०१८ मा युक्रेनले आफ्नो संविधान संशोधन गरेर नाटो र युरोपेली सङ्घको सदस्यता लिनुलाई मुख्य राष्ट्रिय रणनीति बनायो । त्यसले रूसको राष्ट्रिय सुरक्षामा गम्भीर खतरा तेर्सायो । युक्रेनको राजधानी किभको मस्कोबाट ७६० किलोमिटरमात्र दुरी छ । त्यसकारण, नाटोलाई युक्रेनमा अति उच्च ध्वन्यात्मक आणविक हतियार तैनाथ गर्न अनुमति दिनु झन्डै रूसको पूर्ण सैनिक आत्मसमर्पण हुने थियो ।

शीतयुद्ध समाप्त भएपछि संरा अमेरिकी कूटनीति रणनीति पछाडिको मूल शक्ति साम्यवादलाई रोक्नेमा मात्र सीमित रहेन । बरू सैनिक र आर्थिक क्षेत्रमा निर्विवाद र स्थायी प्रभुत्ववाद जमाउनु रह्यो । संरा अमेरिकाको रणनीतिक दृष्टिकोणमा रूस निःशस्त्र बनेर युरोपको हिस्सा बनेर चीनको घेराबन्दीको लागि मोहडा बन्नुपर्छ । त्यो चीन जसलाई केसिङ्गरले ‘सबभन्दा खतरनाक शत्रु’ भनेका थिए । तर, रूसको इतिहास र उसको आजको अन्तर्राष्ट्रिय स्थानले संरा अमेरिका नेतृत्वको युरोपकै हिस्सा बन्न रूसलाई स्वीकार्य हुन सकेन । त्यसमाथि पुटिनले अन्तर्राष्ट्रिय मामिलामा संरा अमेरिकाको विश्वसनीयताप्रति सधैँ सन्देह गरिरहेका छन् । लडाइँ सुरु गर्न रूस सरकारको कुनै चाहना नभएकोमा शङ्का छैन । संरा अमेरिका र पश्चिम युरोपेली आर्थिक नाकाबन्दीमाथि जित हासिल गर्न सम्भव नहुने भएरमात्र होइन, पुटिन चीनलाई पनि अन्योलमा पार्ने पक्षमा छैनन् । पूर्वी युक्रेनमा अहिलेको द्वन्द्व संरा अमेरिका–रूस सम्बन्धको अंशमात्र हो । संरा अमेरिकाले यो अवस्था बनाउन दबाब दिइरहेको छ र रूससँग पछाडि फर्किने कुनै ठाउँ छैन ।

संरा अमेरिकी शासकहरूको एकमत
गत वर्ष रणनीति र सुरक्षा एटलान्टिक परिषद्को लागि स्कोक्रोफ केन्द्रले ‘द लङ्गर टेलिग्राफ’ नामको एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यत्तिबेला नै चिनियाँ बुद्धिजीवीहरूले त्यो प्रतिवेदन पुरानो विश्व दृष्टिकोण, म्याद नाघेको कार्यविधि र न्यून गुणस्तरीय विषयले भरिएको भनी ठ्याक्कै टिप्पणी गरेका थिए । तथापि, यसको अर्थ त्यो प्रतिवेदन र क्रोइनिगको पछिल्लो लेखलाई चीनले गम्भीरतापूर्वक लिनु हुन्न भन्ने होइन ।

संरा अमेरिकी विदेश नीतिको क्षेत्रमा वैदेशिक सम्बन्ध परिषद् (सीएफआर), एटलान्टिक परिषद् र नयाँ अमेरिकी सुरक्षा केन्द्र (सिनास) तीन निकै महत्व राख्ने संरा अमेरिकी वैचारिक निकाय हुन् । यी तीन संस्थाले चीन र रूसलाई उही शीतयुद्धकालीन कोणबाट हेर्दै आएको छ । कूटनीतिक क्षेत्रमा सबभन्दा प्रभावशाली सीएफआरले ‘संरा अमेरिका–चीन सम्बन्ध ः सन् १९४९–२०२१’ शीर्षकको आँखै खोलिने समय तालिका तयार गरेको छ । त्यसमा अधिकांश समयक्रमले दुई देशबीचको मैत्री सम्बन्धलाई भन्दा द्वन्द्वका कुरालाई बढी जोड दिइएको छ । चीनमा भविष्यका नेताहरू यल्सिन र गोर्भाचोभ नहुने निष्कर्षमा अमेरिकी राजनीतिक शासकहरू पुगेपछि सन् २००७ मा स्थापना भएको सिनासले ‘चीनमा सबभन्दा जिम्मेवार सत्ता परिवर्तनको लागि उत्साहित गर्न चीनमा संरा अमेरिकी संलग्नताको बाटो कोर्न आवश्यक भएको’ भन्दै ‘घेराबन्दी’ र ‘रङ्गीन क्रान्ति’ को हल्ला फैलाउने गरेको छ । त्यसपछि निर्वाचित भएको ओबामा सरकारको पालामा एसिया–प्रशान्त पुनःसन्तुलन रणनीतिमा सिनासले मुख्य भूमिका निभायो । यो लेखमा धेरै पटक उल्लेख भएको एटलान्टिक परिषद्ले संरा अमेरिकी सैनिक प्रभुत्ववादको पक्षपोषण गर्छ । पूर्वी युक्रेनको पछिल्लो द्वन्द्वको क्रममा रूसले युक्रेनमा ‘कब्जा जमाउने’ पूर्वानुमान गर्ने पहिलो वैचारिक संस्था परिषद् नै हो । यो संस्था अफगानिस्तान युद्ध, उत्तर अफ्रिकामा जस्मिन क्रान्ति र हङकङमा भएको ‘केन्द्र कब्जा गर’ आन्दोलनमा संलग्न थियो । यी संस्थाहरू संरा अमेरिकाका धेरै पुराना सैनिक–औद्योगिक संस्थासँग जोडिएका छन् । जसले मिश्रित युद्धलाई उक्साउने र गराउनेमा संलग्न हुने गरेका छन् ।

संरा अमेरिकाका दुई शासक दलबीच आज गहिरो विभाजन छ । तर, विदेश नीतिमा भने उनीहरूबीच उच्चस्तरको सहमति छ । उनीहरू दुवै दल रूसलाई कमजोर र छिन्नभिन्न बनाउनुपर्नेमा एकमत छन् । चीन नै संरा अमेरिकी साम्राज्यवादी प्रभुत्ववादसमक्ष सबभन्दा ठुलो चुनौती हो भन्नेमा उनीहरूबीच कुनै विवाद छैन । संरा अमेरिकी अर्थतन्त्रमा सन् २००८ को वित्तीय सङ्कट र पछिल्लो समय महामारीले पुर्‍याएको चोटबाट अझै पनि उठ्न नसकेको बेला चीनले यी दुवै विश्व सङ्कटमा उल्लेखनीय प्रगति देखाउन सफल भयो । जसले चीनलाई संरा अमेरिकी आर्थिक प्रभुत्ववादलाई चुनौती दिन सक्ने अवस्थामा पुर्‍यायो । खरिद गर्नसक्ने क्षमता (पीपीपी)को आधारमा चीनको कुल गार्हस्थ उत्पादन (जीडीपी) ले सन् २०१३ मा संरा अमेरिकालाई उछिन्यो । सन् २०२८ भित्र चीनको कुल गार्हस्थ उत्पादनले संरा अमेरिकालाई पछार्ने पूर्वानुमान गरिएको छ । संरा अमेरिकी शासकहरूलाई आर्थिकरूपमा चीनलाई पछार्न र घेरा लगाउन गाह«ो हुने कुरा थाहा छ । त्यसकारण, चीनलाई मिश्रित लडाइँ (जसमा आर्थिक नाकाबन्दी, कानुनी लडाइँ, प्रचारयुद्ध आदि प्रयोग हुन्छन्) मा फसाउने हरेक प्रयास गरिरहेको छ । संसारमा संरा अमेरिकी प्रभुत्ववाद कायम राख्ने ऊ ठुलै लडाइँको लागि तयार देखिन्छ ।

मन्थली रिभ्युका जोन बेलामी फोस्टले संरा अमेरिका आज धेरै वटा समाधान नै गर्न नसकिने द्वन्द्वमा फसेको र असन्तुष्ट अमेरिकी जनताले निर्वाचित गरेका ट्रम्पले लोकप्रियता होइन, बरु निर्ममता, युद्धपिपासु नवनाजीवादको प्रतिनिधित्व गर्ने बताएका छन् । रूस र चीनको विरोध गर्ने विषयमा बाइडेन र डेमोक्रेटिक दलको रिपब्लिकन पार्टीसँग कुनै खालको मतभेद छैन । ट्रम्प सरकारका विदेशमन्त्री माइक पम्पेओ (जो आगामी सन् २०२४ को निर्वाचनमा राष्ट्रपति पदको उम्मेदवार बन्ने सम्भावना प्रबल छ) तर्कपूर्ण र प्रभावशाली नवनाजीवादी हुन् जो ताइवानमा युद्ध गर्न तयार छन् । मार्च महिनामा ताइवानका कथित राष्ट्रपति साइलाई भेट्न उनी त्यता जाँदै छन् भन्ने समाचार छ । यस्तो लाग्छ, उनी एटलान्टिक परिषद्ले प्रस्ताव गरेको ‘एकै समयमा रूस र चीन दुवैलाई पराजित गर्ने’ प्रस्तावित रणनीति अघि बढाउनतिर लागिसकेका छन् ।

‘बुद्धिमानलाई छान्ने र सक्षमलाई नियुक्त गर्ने’ चिनियाँ शासनको ढाँचाको तुलनामा संरा अमेरिकी राजनीतिक शासक वर्ग मूर्ख र आक्रामक लाग्न सक्छ । तर, चीनका हाम्रा मित्रहरूले एकै समयमा चीन र रूसविरुद्ध दुई वटा युद्ध लड्न यी अमेरिकी शासक वर्गसँग इच्छाशक्ति, स्रोत र शक्ति भएको र उनीहरू आणविक हतियार प्रयोग गर्न पछि नपर्ने कुरा बुझ्न जरुरी छ । अमेरिकी शासक वर्गको मूर्खता र आक्रामकताको कारण चीनमाथिको खतरा कति पनि घटेको छैन । धेरै चिनियाँहरू अझै पनि किसिङ्गरलाई राष्ट्रपति निक्सनको चीन भ्रमणको ५० वर्षपछि पनि अझै ‘चिनियाँ जनताको असल मित्र’को रूपमा लिएका छन् । तर, खासमा चीन र संरा अमेरिकाको सम्बन्ध एउटा लामो चिसो याममा प्रवेश गरिसकेको छ । अमेरिकी शासक वर्ग अहिले नै शीतयुद्धको ढाँचामा पसिसकेका छन् । उनीहरू चीनसँग कुनै पनि ठूलो युद्धको निम्ति तयार छन् ।

लेखक अमेरिकी पत्रकार हुनुहुन्छ । उहाँले अहिले इटालीको भेनिस सहरमा बस्नुहुन्छ ।
मन्थली रिभ्युको अनलाइन संस्करणबाट अनुदित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *