वागीश्वरीमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २४ फागुन


नेपाल क्रान्तिकारी शिक्षक संघ र नेपाल प्राध्यापक समाज वागीश्वरी इकाई समितिको संयुक्त आयोजनामा मंगलवार ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोज राज गोसाईले पुँजीवादी व्यवस्थामा भन्दा समाजवादी व्यवस्थामा हरेक क्षेत्रमा महिलाको हक अधिकार सुनिश्चित रहेको स्पष्ट पारे । हामीले मनाउने हरेक महिला दिवस थिचिएका, पिल्सिएका र दबिएका श्रमिक महिलाको मुक्तिका लागि हुनुपर्ने बताउँदै उनले सामन्तवादी बन्दोवस्तमा महिला उत्पिदनमा परेको र अहिलेको पुँजीवादी बन्दोवस्तमा विकाउको साधनको रुपमा प्रयोग गरिरहेकोप्रति सचेत हुनुपर्ने बताए । उनले पुँजीवादी संस्कृतिभित्रको विकृति विसंगति विरुद्ध लड्नुपर्ने बताउँदै योग्यता अनुसारको काम र काम अनुसारको ज्याला, उत्पादनका साधनहरु सामाजिकीकरण गरी शिक्षा र स्वास्थ्यमा समान हक अधिकार दिई व्यवहारिक रुपमा प्रयोग भएपछि मात्रै महिला मुक्ति सम्भव हुने स्पष्ट पारे । साथै उनँले हाम्रो नेपाली समाजमा छोरीलाई सम्मान र बुहारीलाई दमन गरिराख्ने अन्धविश्वासी सोचमा परिवर्तन गर्न चेतनाको विकास आवश्यक भएको बताए ।

नेक्राशिसंघका केन्द्रीय अध्यक्ष एवं वागीश्वरी मा.वि.कक्षा ११ र १२ का संयोजक ज्ञानसागर प्रजापतिले नारी स्वतन्त्रभित्र छाडापनलाई मिसाउन नहुने बताउँदै उनले सम्बन्ध विच्छेदको तीव्र वृद्धि भएको तथ्यांकले समाजमा छाडापन र विकृति बढेको संकेत गरे । उनले विज्ञान र प्रविधिका कारण गर्भ रहँदै छोरी भए फाल्ने र छोरा भए जन्माउने परिस्थितिले छोरीको जन्मने अधिकारबाट बञ्चित गरेको बताए । साथै छोरा जन्मिँदा बाजागाजाका साथ भोजभतेर गर्ने, छोरी जन्मिए चासो नै नदिने हाम्रो सामाजिक परिवेशले चेतनास्तर र शिक्षा नै आजको आवश्यकता भएको स्पष्ट पारे । एमसीसी सम्झौतामा व्याख्यात्मक टिप्पणी आपैm राष्ट्रघाटी पुष्टि भएको स्पष्ट पार्दै उनले विश्वका जुनसुकै देशमा अमेरिकी सेनाको प्रवेशले महिला हिंसा बढेको बताए । जहाँ विभेद छ, त्यहाँ महिलाले आवाज उठाउनुपर्ने बताउँदै उनले पूर्व प्राथमिक तहका महिला शिक्षकहरुमाथि सरकारले अन्याय गरिरहेको औंल्याए ।

नेपाल प्राध्यापक समाजका केन्द्रीय कोषाध्यक्ष सुशिला कर्माचार्यले विश्वको इतिहासमा आन्दोलन नगरी कुनै चिज हात पार्न नसकेको स्पष्ट पारे । महिला सक्षम र सबल नभएसम्म विकृति विसंगति भइराख्ने भएकाले देशका कुनाकाप्चासम्म महिलालाई जागृत गर्न शिक्षाको आवश्यकता भएको उनको ठम्याइ छ । उनले हरेक उपलब्धि आन्दोलनकै कारण पाउने चर्चा गर्दै २०४५ सालको भक्तपुर काण्डमा पनि राज्यस्तरबाट रचेको षड्यन्त्रमा नेमकिपाका नेता कार्यकर्तालाई लगाइएको मृत्युदण्डको आरोपमा महिला आन्दोलनकै कारण रिहा गर्न सफल भएको स्पष्ट पारे ।

त्यस्तै नेक्राशिसंघका केन्द्रीय सदस्य पवित्रा शाहीले विश्वका सर्वहारा वर्गका श्रमिक महिला मुक्तिका लागि भएको यस दिवसमा राष्ट्रिय अन्तर्राष्ट्रिय समसामयिक घटनाबारे शिक्षक प्राध्यापक जानकार भइराख्नपर्ने बताए । उनले शासक दलका नेताहरुकै कारण नेपाललाई युक्रेन बताउने खतरा भएको स्पष्ट पार्दै एमसीसी सम्झौताविरुद्ध एकजूट हुन आह्वान गरे । पुँजीपति महिलाले असभ्य तवरबाट यो दिवस मनाइरहँदा हामीले श्रमिक महिला लक्षित विविध कार्यक्रम गरी मनाइरहेको स्मरण गर्दै उनले वर्गीय विचारधारा बोकेर कामदार श्रमिक महिलाको हक हितका लागि लड्नुपर्ने बताए ।

नेक्राशिसंघका शोभा लक्ष्मी गोसाईले सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा काभ्रेका सहसचिव मुना तामाङ्ग, शिक्षकहरु अविना श्रेष्ठ, मैयाकेशरी कोजू, नारांदेवी दुवाल, विश्वेश्वर मानन्धरलगायतले श्रमिक महिला दिवसको सार्थकता औल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *