भक्तपुर, २६ फागुन
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यक्तिवादी चिन्तनबाट अलग गराएर देश र समाजको सेवा गर्न विद्यार्थीलाई शिक्षा दिनुपर्ने बताएको छ ।
शुक्रवार आयोजित सेकरिड् हार्ट एकेडेमीको अभिभावक दिवस, पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले विद्यार्थीलाई पढाई सँगसँगै अतिरिक्त ज्ञान र शीपको आवश्यकता भएको हुँदा भक्तपुर नगरपालिकाकाले युवा लक्षित विभिन्न अन्तर नगर खेलकुद प्रतियोगिता, रञ्जना लिपी, विदेशी भाषाको कक्षा र विभिन्न शीपमूलक तालीमहरु सञ्चालन गर्दै आएको बताए ।
भक्तपुरको इतिहास, भूगोल, कला–संस्कृति, सम्पदा आदि विषयबारे नयाँ पुस्तालाई जानकारी दिन भक्तपुरका सबै विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागू गरिसकेको बताउनुहुँदै प्रमुख प्रजापतिले विद्यार्थीहरुलाई राजनीतिक शिक्षा दिई समाजको निम्ति काम गर्न प्रेरित गर्नुपर्ने बताए ।
२१ औं शताब्दीको लागि योग्य, दक्ष र सक्षम जनशक्ति तयार गर्न विद्यार्थीहरुले जोड दिनुपर्ने बताउँदै प्रमुख प्रजापतिले विद्यार्थीलाई स्वदेशमै पढ्न अभिप्रेरित गर्नुपर्ने बताए ।
भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले विद्यालय राम्रो पार्न शिक्षिक वर्ग, विद्यार्थी र अभिभावकको समन्वय आवश्यक भएको र विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप, सरसफाइ तथा नियमित स्वास्थ्य जाँचमा ध्यान दिनुपर्ने बताए ।
पारागन एकेडेमीका प्रधानाध्यापक पुण्यराम कवांले भक्तपुर नगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रम जीवनउपयोगी भएको र नयाँ पुस्ताका विद्यार्थीहरुलाई नैतिक शिक्षा र अनुशासनमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
विद्यालयका संस्थापक प्रिन्सिपल श्रीराम सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पत्रकार विकासदेव लामा, कर्मा लोब्साङलामालगायतले पनि आ–आफ्नो विचार प्रस्तुत गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले वर्षको उत्कृष्ट विद्यार्थी, शिक्षक–शिक्षिकालाई सम्मान तथा मायाको चिनो प्रदान गरे । अभिभावक दिवसमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्यहरु प्रदर्शन गरेका थिए ।