प्राध्यापक माणिकलाल श्रेष्ठको सम्झनामा कृति सार्वजनिक

कला/साहित्य राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २२ फागुन

स्रष्टा समाज नेपालले प्रा. माणिकलाल श्रेष्ठको प्रथम वार्षिक स्मृतिमा शुक्रबार पुस्तक सार्वजनिकीकरण कार्यक्रमको आयोजना गर्‍यो ।
उक्त पुस्तकको सार्वजनिकीकरण गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रा. श्रेष्ठ पेशाले एक प्राध्यापक, व्यवहारमा मृदुभाषी, विचारमा कम्युनिस्ट र साम्राज्यवादविरोधी एक योद्धा एवं अन्तर्राष्ट्रवादी भएकाे बताए।

अतिथि रोहितले समाज, देश र अन्तर्राष्ट्रिय समुदायमा उनले गरेको योगदानबाट प्रेरणा लिनुपर्ने विचार व्यक्त गर्दै भने, “उहाँ एक राजनीतिक नेता, विचारक, लेखक, स्पष्ट वक्ता, अन्तर्राष्ट्रिय विषयका ज्ञाता र एक प्रतिष्ठित नेपाली विद्वान हुनुहुन्थ्यो ।”
अध्यक्ष रोहितले भने, “उहाँ कम बोल्ने तर सत्यतथ्य बोल्नुहुन्थ्यो, विषयवस्तुमा गहिरो जानकारी राख्नुहुने उहाँ शिष्ट व्यवहार गर्नुहुन्थ्यो ।”
देश र जनताको हितमा बुद्धि, ज्ञान र अनुभव बताउने उहाँ देश विदेशका ज्ञाता हुनुहुन्थ्यो । उहाँ चीनका एक ज्ञाता र नेपालका एक कोरियाविद् हुनुुहुन्थ्यो, अध्यक्ष रोहितले भने।

साम्राज्यवादी र प्रतिक्रियावादीहरूले जनवादी गणतन्त्र चीनको विरोधमा दलाई लामालाई उपयोग गरेर तिब्बतबारे गलत प्रचार गर्दा प्रा. श्रेष्ठले ‘तिब्बत चीनको एक अभिन्न अङ्ग हो ’ भनी पुस्तिका लेखी भ्रम हटाउने काममा सहयोग पुर्‍याएको विचार अध्यक्ष रोहितले व्यक्त गरे।
माक्र्सवाद र कम्युनिस्ट आन्दोलनबारे बरोबर कलम चलाइरहने प्रा. श्रेष्ठको योगदानबारे उल्लेख गर्दै अध्यक्ष रोहितले उहाँ आफ्नो कुरा स्पष्टसँग राख्नुहुन्थ्यो, उहाँ कुरामात्र होइन काम पनि गर्नुहुन्थ्यो भने।

उनका राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका लेखहरू सङ्कलन गरेर अरू कृति निकाल्नुपर्ने आवश्यकता पनि अध्यक्ष रोहितले औँल्याए।
प्रा. माणिकलाल श्रेष्ठका पुत्र एवं मुटुरोग विशेषज्ञ मखनलाल श्रेष्ठले नेमकिपा या बिजुक्छेँको सिद्धान्त र विचार बुबाको सिद्धान्त र विचारसँग मिलेको प्रसङ्ग उल्लेख गर्दै नेमकिपाले आफ्ना कार्यकर्ता र जनतालाई राजनीतिकरूपले सुसूचित पारिरहेको बताए।

उनले भने, “बुबा अमृत साइन्स कलेजका संस्थापक सदस्य, नेपाल पत्रकार महासङ्घका संस्थापक महासचिव पनि हुनुहुन्थ्यो ।”
प्रा. श्रेष्ठका अर्का छोरा एवं दन्तरोग विशेषज्ञ सितुलाल श्रेष्ठले भक्तपुरमा मेडिकल कलेज खोले आफूले सक्दो सेवा गर्ने विश्वास व्यक्त गरे ।
प्रा. श्रेष्ठका भतिजी रमिला श्रेष्ठले देशका शासक नेताहरू आ–आफ्नो दलगत र व्यक्तिगत स्वार्थमा लागिरहेकोमा चिन्ता व्यक्त गर्दै असल नेताहरू देश र जनताप्रति समर्पित हुनुपर्छ भने।

देश र समाजको लागि योगदान गर्ने व्यक्तिहरूको सरकारले स्मरण नगरेको चर्चा गर्दै उनले भाषा, सम्पदा, संस्कृति जोगाउने काममा भक्तपुरको योगदान महत्वपूर्ण भएकाे बताए। अर्का भतिजी उर्मिला श्रेष्ठले वामपन्थी राजनीति, समाजवादी सिद्धान्त र विचारबाट अरूलाई सुसूचित पार्ने काममा प्रा. श्रेष्ठ लागेको प्रसङ्ग उल्लेख गर्दै अहिले सत्तारूढ दलले त्यस्तो काम नगरेको बताए।

वामपन्थी सरकार आए पनि देश र जनताप्रति समर्पित व्यक्तित्वहरूको कुनै देन र गुण नसम्झेकोमा चिन्ता व्यक्त गर्दै उनले वामपन्थी भनिने दलका नेता र सांसदहरूले झूटको खेती गरिरहेको बताए। स्रष्टा समाजका सदस्य एवं भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समग्र पुस्तकको समीक्षा गर्दै प्रा. माणिकलाल बहुआयामिक व्यक्तित्व, इमानदार, निडर, सिद्धान्त शिरोपर गर्ने व्यक्ति रहेको उल्लेख गरे।

बहुमत जनताको अहितमा लेख्ने साहित्य जनताको साहित्य हुनेछैन, सबै प्रगतिशील माक्र्सवादी हुँदैनन् तर सबै माक्र्सवादी प्रगतिशील हुन्छन्, उनले भने। स्रष्टा समाजका अर्का सदस्य सुशीला कर्माचार्यले प्रा. श्रेष्ठको जीवनीबारे चर्चा गर्दै भने, “उहाँ नेपालभाषा साहित्यका समालोचक, अनुवादमा पारङ्गत हुनुहुन्थ्यो ।” माक्र्सवादी दर्शन, सिद्धान्त र विचार या वैज्ञानिक समाजवादबारेको अध्ययन गर्नेमात्र होइन लेख लेखेर जनतालाई सुसूचित पार्ने काममा पछि नपरेको विचार व्यक्त गर्दै उनले भने, “प्रा. श्रेष्ठ माक्र्सवादी लेखक, बुद्धिजीवी, पदको निम्ति काम नगर्ने सच्चा देशभक्त, जनसेवक र इतिहास, विज्ञान र साहित्यका ज्ञाता हुनुहुन्थ्यो ।

स्रष्टा समाजका अध्यक्ष एवं कार्यक्रमका सभापति लक्ष्मण जोशीले प्रा.श्रेष्ठ एक कम्युनिस्ट, साम्राज्यवादविरोधी अन्तर्राष्ट्रवादी योद्धा, जनताका एक प्रिय विद्वान, निडर, निर्भिक प्रखर वक्ता भएकाे बताए ।

कार्यक्रममा सविन ख्याजूले कार्यक्रमको औचित्यतबारे प्रकाश पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *