वर्तमान सहकारी अभियान विषयक गोष्ठी

विशेष समाचार समाचार स्वास्थ्य

न्यूजअपडेट संवाददाता
भक्तपुर, १५ पुस


नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारीको आयोजनामा भएको वर्तमान सहकारी अभियान विषयक गोष्ठी बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको स्वीकृतिविना सञ्चालित प्रदेशस्तरीय बहुउद्देश्यीय सहकारी संस्थाहरुको अनुगमनलाई जोड दिँदै आइरहेको बताउदै अनियमित ढंगले सञ्चालित यस्ता संस्थाहरुलाई कानुनको दायरामा ल्याइने बताए । कार्यक्रममा उनले भक्तपुरमा नमुना सहकारी सञ्चालन गर्न सहकारीकर्मीहरुलाई प्रेरित गरे ।
भक्तपुर नगरपालिकाले समाज र जनताको सेवा हुने योजनाहरु सञ्चालनमा जोड दिँदै ख्वप अस्पताल, चिस्यान केन्द्र, आदर निकेतन, कर्भड हललगायत निर्माणलाई व्यापकता दिँदै आएको बताउँदै सहकारी संस्थाहरुल पनि नाफालाई भन्दा पनि सदस्यहरुको आर्थिक र सांस्कृतिक विकासमा विशेष ध्यान दिनुपर्ने बताए ।


सहकारी ऐन तथा कानुनहरु व्यापक जनताको हितमा भए कार्यान्वयन पक्ष पनि बलियो हुने बताउँदै प्रमुख प्रजापतिले सहकारीहरुले सदस्यहरुको सिर्जनशीलतालाई ध्यानमा राखी सीपमूलक तालिमहरु सञ्चालन गरी रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
नगर प्रमुख प्रजापतिले एमसीसी सम्झौताको नाममा देशको सार्वभौमिकता बेच्नु गलत भएको बताउँदै सरकारले प्रतिपक्षहरुसँग समन्वय गरी एमसीसी संसदबाट पारित गर्ने खतरा भएको हुँदा देशभक्त जनताहरु एमसीसीको विरुद्ध संगठित हुनुपर्ने खाँचो औंल्याए ।
कार्यक्रममा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सुशासनमा चलेका सहकारी संस्थाहरुमा तरलताको समस्या कम मात्र हुने बताउदै गैरकानुनी ढंगबाट सञ्चालित बहुउद्देश्यीय सहकारीहरु सञ्चालनमा रोक लगाउनुपर्ने र एक सदस्य एक सहकारी नीति सहकारीको हितविपरीत भएको बताए ।
संघका उपाध्यक्ष हरि बल्लले गोष्ठीको उद्देश्यमाथि प्रष्ट पार्दै भक्तपुरका सहकारी संस्थाहरुको तरलता व्यवस्थापन गर्न सबै एकजुट हुनुपर्ने र सहकारी अभियानले देशको यथोचित विकासमा टेवा पुर्याएको बताए ।
कार्यक्रममा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु र व्यवस्थापक बालकृष्ण ध्वजुले संघको गतिविधि र तरलता व्यवस्थापनबारे प्रस्तुतीकरण देखाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *