नगर प्रमुख प्रजापतिसँग बंगलादेशका वरिष्ठ साहित्यकारहरुको भेट

कला/साहित्य पर्यटन विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २२ भदाै


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मित्र राष्ट्र बंगलादेशबाट बंगलादेश नेपाल मैत्री संघका अध्यक्ष एवम् ढाकाका वरिष्ठ साहित्यकार लायन मोसिउर अहमदको नेतृत्वमा नेपाल आएका वरिष्ठ साहित्यकारहरुको प्रतिनिधिमण्डलले बुधबार भेट गरेको छ ।
भेटमा प्रमुख प्रजापतिले बंगलादेश र नेपाल भौगोलिक र सांस्कृतिक समानता भएको देश भएको बताउँदै दुई देशबीचको अनुभव आदानप्रदानले दुई देशबीचका जनताबीचको सम्बन्ध अझ सुमधुर र प्रगाढ हुने विश्वास व्यक्त गरे।
मित्र राष्ट्र बंगलादेशले धेरै नेपाली विद्यार्थीहरुलाई चिकित्सा शिक्षा र अन्य विषयहरुमा उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरिरहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने आवश्यक तयारीहरु गरिरहेको अवगत गराए । उनले साहित्यकारहरुले साहित्यमार्फत समाजको निम्ति योगदान गर्ने बताउँदै बंगलादेशका उत्कृष्ट साहित्यहरु नेपालीमा अनुवाद गर्ने चाहना व्यक्त गरे।
त्यस्तै भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाको संक्षिप्त परिचयबारे प्रस्तुतीकरण देखाउँदै भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सरसफाई, कला संस्कृति संरक्षणलगायतका सबै क्षेत्रहरुको सन्तुलित विकास गर्दै भक्तपुर नपालाई ज्ञान विज्ञानको केन्द्रको रुपमा स्थापना गर्ने उद्देश्यले अगाडि बढिरहेको बताए।
प्रतिनिधिमण्डलका तर्फबाट बंगलादेश नेपाल मैत्री संघका अध्यक्ष एवम् ढाकाका वरिष्ठ साहित्यकार लायन मोसिउर अहमदले भक्तपुर नपाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर गरिरहेको काम निकै प्रशंसनीय रहेको र भक्तपुरको भ्रमण गर्ने अवसर र न्यानो स्वागतको लागि सिंगो टीमलाई धन्यवादज्ञापन गरे।
भक्तपुरको असल र जनता केन्द्रित राजनीतिले गर्दा यहाँका जनप्रतिनिधिले धेरै राम्रा राम्रा कामहरु गर्न सफल भएको बताउँदै उनले भक्तपुर सबै क्षेत्रमा सन्तुलित ढंगले अगाडि बढेको नगरको रुपमा पाएको बताए।
भेटमा बंगलादेश नेपाल मैत्री संघ ढाकाका महासचिव सल्लाउद्धिन कुटुकवि, कवि तथा उपन्यासकार डा. अन्वारा सइद हक, कवि तथा साहित्यकारहरू प्रा.डा. दिलारा हाफिज, प्रा. शेली सेन गुप्ता, मोहम्मद मोसिउर रहमान र प्रसिद्ध गायक काजलकुमार मुखर्जीको उपस्थिति रहेको थियो भने नेपाली साहित्यकारहरु प्रतिक ढकाल, रामप्रसाद पन्त, शंकर भट्टराई, पवन आलोकलगायतको पनि उपस्थिति थियो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले नेपाल मैत्री संघका अध्यक्ष एवम् ढाकाका वरिष्ठ साहित्यकार लायन मोसिउर अहमदलाई मयुरको झ्याल र नगरपालकाका प्रकाशनहरु मायाको चिनोको रुपमा प्रदान गरेको थियो भने अध्यक्ष अहमदले पनि प्रमुख प्रजापतिलाई बंगलादेशको तर्फबाट मायाको चिनो प्रदान गरेको थियो । भेटपश्चात उनीहरुले भक्तपुर दरबार क्षेत्रमा अवस्थित पुरातात्विक एवम् सांस्कृतिक महत्वका सम्पदाहरुको रुचिपूर्वक अवलोकन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *