पोखरा महानगरले भत्काए फेवाताल किनारामा बनाइएका अबैध संरचना 

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडट
कास्की, २६ बैशाख


फेवाताल किनारामा अटेर गर्दै स्थानीयले भौतिक संरचना निर्माण गरेपछि महानगरले डोजर लगाएर बनाइएका संरचना भत्काएको छ ।

फेवातालमा पानीको सतह घटेको मौका छोपेर खपौदी क्षेत्रमा स्थानीयले बनाएका भौतिक संरचना महानगरले भत्काएपछि विवाद उत्पन्न भएको हो । महानगरपालिकाले उक्त संरचनाहरु शुक्रबार भत्काएको भए पनि स्थानीयले शनिबार साँझ फेरि सामान लगेर राखेका थिए । महानगरले पुनः ती सामान जफत गरेको छ । खपौदी क्षेत्रमा स्थानीयले बनाएको पर्खाल लगायतको संरचना पोखरा महानगरले भत्काएको महानगरका सूचना अधिकारी भरत पौड्यालले जानकारी दिए ।

महानगरले सामान जफत गर्ने क्रममा उक्त स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । स्थानीयले रातारात संरचना निर्माण कार्यलाई तीव्रता दिएपछि महानगरपालिकाले सामान जफत गर्नुका साथै रातारात निर्माण भएका ती संरचनालाई फेरि भत्काइदिएको सूचना अधिकारी पौड्यालले बताए ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले महानगरको स्वीकृति विना बनाइएका संरचना महानगरले डोजर लगाएर भत्काएको बताए । ‘नेपाल सरकारले सीमा निर्धारण गर्ने समिति बनाएर काम अगाडि बढाइसकेको अवस्थामा स्थानीयले बलमिचाइ गरेपछि महानगरले भत्काउन बाध्य भएको हो’ उनले भने । ‘दुइ तीन महिना सीमा निर्धारण सकिने योजना सहित काम भइरहेको थाहा भएर पनि संरचना निर्माण गर्नु भनेको स्थानीयको मनलाग्दी हो ।’

मेयर जिसीले राज्यमा कानून नै नभए जसरी अनधिकृत ढंगले ताल मिचेर भौतिक संरचना निर्माण गर्नेलाई सार्वजनिक ऐन अनुसार मुद्दा हाल्नेसम्मको कारवाही गर्ने चेतावनी दिएको छन् । ‘महानगरले यसअघिदेखि नै ताल किनारमा केही भू–भागको लालपूर्जा भएपनि कुनैपनि संरचना निर्माण गर्न रोक लगाउँदै आएको हो’ उनले भने । ‘नक्सापासको काम समेत रोकेको छ । समितिले टुंगो नलगाएसम्म ताल छेउछाउ कुनैपनि संरचना निर्माण गर्न पाइँदैन ।’

पोखरा महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रणबहादुर थापाले संरचना नभत्काउन आफूलाई धम्की आएको बताए । ‘वर्षायाममा आउने पहिरोबाट बच्न संरचना बनाउने क्रममा केही व्यक्तिले संरचना बनाउन थाले । ताल किनारबाट नै पर्खाल लगाएर अतिक्रमण गर्ने क्रम पछि बढ्यो । यसलाई निरुत्साहित गर्नुपर्छ भनेर हामी लागि परेका हौं ।’ उनले भने, ‘अनधिकृत रुपमा बनेका संरचनालाई जस्तो सुकै धम्की आए पनि पछि हट्दैनौं ।’

हाल तालको सिमांकन समितिले केही महिनाभित्रै फेवाताल र व्यक्तिले चर्चेको जग्गाको छिनोफानो गर्ने योजना अगाडि बढाइसकेको छ । समितिले टुंगो नलगाउञ्जेल ताल छेउछाउ कुनैपनि संरचना निर्माण गर्न नपाउने महानगरका प्रवक्ता धनबहादुर नेपालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *