काठमाडौं, १३ मंसीर
विज्ञहरुले इन्टरनेटको सदुपयोग बढाउन र दुरुपयोग न्यूनीकरण गर्न नेपालमा इन्टनेट साक्षरता जरुरी रहेको बताएका छन् । सेन्टर फर मिडिया रिसर्च नेपालले आयोजना गरेको नेपालमा इन्टरनेट फ्रिडम सम्बन्धी सम्मेलनमा अनुसन्धानमूलक कार्यपत्र पेश गर्ने र त्यसमाथि टिपप्णी गर्ने विज्ञहरुले नेपालमा इन्टरनेट साक्षरता कम भएकाले नागरिकदेखि नीति निर्मातासम्मलाई इन्टरनेटको सही जानकारीबारे चेतना बढाउन आवश्यक रहेको बताएका हुन् । सेन्टर फर मिडिया रिसर्च नेपालका संस्थापक अध्यक्ष उज्जवल आचार्यले नेपालमा इन्टरनेट दुरुपयोग गर्नेको संख्या बढेको बताउँदै इन्टरनेटको सही उपयोग सिकाउन आवश्यक रहेको बताए । उनले साझा धारणा बनाएर अघि बढ्न सकेमा मात्र इन्टरनेट स्वतन्त्रता कायम हुने र नागरिक केन्द्रीत बनाउनुपर्नेमा जोड दिए । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख चिरञ्जिवी खनालले इन्टरनेटबाट धेरै फाइदा लिन सक्ने भएपनि इन्टरनेट अधिकारका बारेमा धेरैलाई जानकारी नभएको बताए । इन्फरमेसन एण्ड कम्युनिकेसन टेक्नोलोजीका विज्ञ तथा काठमाडौं विश्व विद्यालयका सहप्राध्यापक डा। सुधांशु दाहालले पर्याप्त जानकारी नुहँदा नागरिक फेक न्यूज र इन्टरनेटको शिकार हुनुपर्ने स्थिति रहेको बताए । उनले इन्टरनेटलाई बदमासको नभै सज्जनको हतियार बनाउन आग्रह गरे । इन्टरनेट सोसाइटी नेपालका पूर्व अध्यक्ष एवं कानुनविद् सन्तोष सिग्देलले इन्टरनेटमा चुनौती र अवसर दुवै रहेको बताउँदै अवसरलाई सदुपयोग गर्ने कुरालाई अभियानका रुपमा अघि बढाउन आवश्यक रहेको बताए । सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष ऋषिकेष दाहालले अहिलेका बहस प्राय इन्टरनेट स्वतन्त्रताको पक्षमा केन्द्रित रहेको उल्लेख गर्दै इन्टरनेटका बहुआयामिक पक्षमा छलफल गर्दै बुझ्नुपर्ने बताए ।
इन्टरनेट सेक्युरिटी विज्ञ सचिन ठकुरीले इन्टरनेटमा चौतर्फी हमला भइरहेको भन्दै इन्टरनेटको सुरक्षाका लागि नीति ल्याउन र नागरिकमा जनचेतना बढाउन आवश्यक रहेको बताए । इन्टरनेट सोसाइटी नेपालका कार्यवहाक अध्यक्ष रोमकान्त पाण्डेले इन्टरनेटको सही प्रयोगका लागि सबैले साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । पहिलो पोष्ट डटकमका पूर्व सम्पादक पत्रकार उमेश श्रेष्ठले इन्टरनेटमा सही समाचार भन्दा सनसनीपूर्ण र फेक न्यूज भाइरल बन्ने प्रवृति बढेको बताउँदै सोसल मिडियाको दुरुपयोगले गर्दा मूल धारको पत्रकारितामा थप चुनौती सिर्जना भएको बताए । उनले विश्व बजारमा नै समाचारका उत्पादकभन्दा वितरक शक्तिशाली भएको बताउँदै इन्टरनेटको दुरुपयोगबारे बेलैमा सचेत हुनपर्ने बताए। सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले इन्टरनेट महिलामैत्री नभएको र महिलाको पहुँच पनि कम रहेको बताए। अधिवक्ता पवित्रा राउतले सबैमा इन्टरनेट साक्षरता नहुँदा दुरुपयोग बढेको बताए । त्रिभवन विश्व विद्यालयको पत्रकार तथा आमसञ्चार विभागका उपप्राध्यापक लेखनाथ पाण्डेले पछिल्लो समय पाठक तथा स्रोताहरु शक्तिशाली बनेको बताउँदै सूचनालाई छनौट गरेर लिन आवश्यक भएको धारणा व्यक्त गरे । शुक्रबार साप्ताहिकका सम्पादक केपी ढुङ्गानाले इन्टरनेटले गर्दा वैयक्तिक स्वतन्त्रा खुम्चिदै गएको बताए । इन्टरनेट सोसाइटी नेपालका उपाध्यक्ष सुरज अधिकारीले पछिल्लो समय इन्टरनेटले जादुमय जस्तो भएको बताउँदै यसको दुरुपयोग रोक्नका लागि सामुहिक प्रयास जरुरी रहेको बताए। प्रदेश नं ३ का सञ्चार रजिष्टार रेवती सापकोटाले इन्टरनेट साक्षरता बढाउन सरकारले विशेष ध्यान दिने भन्दै आम्दानीको स्रोत बढाउन र चर्चित हुनका लागि इन्टरनेट दुरुपयोग बढाउन नहुने बताए । सम्मेलनमा सचिन ठकुरीले इन्टरनेट सेक्युरिटी इन नेपाल, सन्तोष सिग्देलले इन्टरनेट गभर्नेन्स इन नेपाल, नीतु पण्डितले जेन्डर एण्ड फ्रीडम इन नेपाल, केपी ढुङ्गानाले प्राइभेसी एण्ड इन्टरनेट इन नेपाल र उमेश श्रेष्ठले इन्टरनेट एण्ड जर्नालिजम इन नेपाल सम्बन्धी अनुसन्धानमूलक कार्यपत्र पेश गरेको थियो । त्यसमाथि विज्ञ तथा सहभागीहरुले टिप्पणी तथा सुझाव दिएका थिए ।