कोरोना संक्रमणदर उच्च विन्दुमा, पीसीआर परीक्षण गरेका ४७ प्रतिशतभन्दा बढी पोजिटिभ

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २१ बैशाख

वैशाख महिना सुरु भएपछि मात्र नेपालमा ७० हजारभन्दा धेरै कोरोना भाइरसबाट संक्रमित भएका छन्। मंगलबार हालसम्मकै सबैभन्दा धेरै सात हजार ५८७ जनामा संक्रमण पुष्टि भएसँगै वैशाख महिनामा संक्रमित हुनेको संख्या ७० हजार नाघेको हो।

आज दैनिक संक्रमणदरमा पनि नयाँ कीर्तिमान बनेको छ। गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा पीसीआर परीक्षण गरिएकामध्ये ४७.०३ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। यसको अर्थ हरेक १०० जनामा पीसीआर परीक्षण गर्दा ४७ जना संक्रमित देखिनु हो। यो दैनिक संक्रमणदर हालसम्मकै उच्च हो।

यसअघि सोमबार ४४.३५ प्रतिशतमा संक्रमण पुष्टि हुँदा कीर्तिमान बनेको थियो। आज सोमबारभन्दा २.६५ विन्दुले संक्रमणदर बढेको छ। सरकारले संक्रमणको दर अझ बढ्ने आकलन सार्वजनिक गर्दै सतर्कता अपनाउन सबैमा अपिल गर्दै आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभर १६ हजार १३१ जनाको पीसीआर परीक्षण भएको थियो। उक्त परीक्षणबाट सात हजार ५८७ जनाको नतिजा ‘पोजिटिभ’ देखिएको छ।

वैशाख महिनाको औसत संक्रमणदर ३२.३३ प्रतिशत
यो महिना (वैशाख) मा दैनिक औसत ३२.३३ प्रतिशतका दरले कोरोना संक्रमित थपिएका छन्। वैशाख १ देखि २१ गतेसम्मको अवधिमा मात्रै ७० हजार २१ जना संक्रमित भएको तथ्यांक छ। यो पीसीआर परीक्षणबाट पुष्टि भएका संक्रमितको संख्या मात्र हो। उक्त अवधिमा देशभर दुई लाख १६ हजार ५८० जनाको पीसीआर परीक्षण गरिएको थियो।

वैशाख महिना लागेसँगै संक्रमितको संख्या दैनिक बढ्दै आएको छ। वैशाख ४ गतेसम्म दैनिक एक हजारभन्दा कम संख्यामा संक्रमित पहिचान हुँदै आएकामा ५ वैशाखयता दैनिक एक हजारभन्दा बढी हुँदै हाल साढे सात हजार नाघेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ५९ हजार ७९८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

सरकारले संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै काठमाडाैं उपत्यकासहित देशभरका ४५ जिल्लामा निषेधाज्ञा जारी गरिसकेको छ। संक्रमण फैलिँदै जाँदा निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या पनि थपिने क्रम जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *