राजनीति सप्रिएन

राजनीति विचार विशेष समाचार समाचार

भैरव रिसाल

काठमाडाैं, ३ माघ

राजनीति सप्रिएन
नेपालको राजनीति अनौठो छ । यता प्रधानमन्त्रीउपर अविश्वासको प्रस्तावमा प्रधानमन्त्रीउपर विश्वासको मत फेरि प्रमुख प्रतिपक्षी दलको दाबी गर्नु द्वैधचरित्र हो कि एक चरित्र हो नेपाली काङ्ग्रेसले नै जवाफ देओस् । हामीलाई सोध्ने हो भने यो सरासर द्वैधचरित्र हो । यो माछा देखे दुलोमा हात सर्प देखे खोकिलोमा हात भयो । अल्पमतको माओवादीकेन्द्र अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीत्वमा सरकार बन्यो । संविधानतः ३० दिनभित्र संसद्बाट विश्वासको मत लिए सरकार टिक्छ । त्यसैले विश्वासले राखे । मत दिने बेलामा स्वयं शेरबहादुर देउवादेखि सबै काङ्ग्रेस नेतासमेतले मत दिए जसका कारण २७५ सांसदमध्ये २६८ मत प्रचण्डको पक्षमा पर्‍यो । नेमकिपा र राष्ट्रिय जनमोर्चा एक एक गरी दुई मतमात्र विपक्षमा पर्‍यो । अब प्रश्न उठ्ने नै भो प्रमुख प्रतिपक्षी पार्टी कता साधारण विपक्षी पार्टी कुन ? अहिले प्रमुख विपक्षी पार्टी कुन भन्ने प्रश्न चर्को रूपमा देखापर्‍यो । प्रमुख प्रतिपक्षी दलको नेतालाई लोभलाग्दो मोटर, तेल, चालक सरकारले नै उपलब्ध गराउँछ । त्यो सुविधा नेपालका कुनै नेताले पनि छोडेको छैन अहिलेसम्म । त्यसैले, नेपाली काङ्ग्रेस त्यसैमा र्‍याल चुहाउन लागेको छ । अन्तत के हुन्छ यो मुद्दामा भनिहाल्नु बुद्धिमानी ठहर्दैन । एक चरित्र हुन्छ कि द्वैधचरित्र ? यस प्रश्नको उत्तर पनि काङ्ग्रेसबाटै पर्खनु बुद्धिमानी हुन्छ कि ?

अज्ञ जाँदा र विज्ञ जाँदा फरक
नेमकिपाले लोभीपापी काम गरेको छैन, अब पनि गर्दैन । व्यक्तिगत स्वार्थका लागि हामी काम गर्दैनौँ । व्यक्तिगत स्वार्थ त्यागी समर्पणको भावनाले जनताको सेवामा लागिरहेकाहरूमा कहिल्यै निराशा आउँदैन किनभने नेमकिपा समाजवादी पार्टी हो र समाजवाद स्थापनाको निम्ति रात–दिन काम गर्छ परिआउँदा सङ्घर्षसमेत गर्छ । उदाहरण चाहियो भने भक्तपुर नगरपालिकाको अध्ययन गरे सर्वोत्तम हुन्छ । भक्तपुर नगरपालिकामा समाजवादी व्यवस्थाको लागि पूर्वाधार तयार गरिरहेको छ । त्यसैले त अहिले भक्तपुर नगरपालिकाको काम सुन्नेबित्तिकै जनताको कान ठाडो हुन्छ । उत्पादनका मुख्य मुख्य साधन र स्रोत सामाजिकीकरण गर्नु सानो कुरा भए पनि शिक्षा–स्वास्थ्य निःशुल्क गर्ने, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त नै आजको आवश्यकता हो । भक्तपुर नगरले कसैको सर्तसहितको सहयोग हात थाप्दैन । यो कठोर कदमको दसै दिशाबाट सराहना भएको छ । यसैकारण त हो आज भक्तपुरमा सस्तोमा शिक्षा उपलब्ध छ । खुब पढेका छन्, देशका विभिन्न भागबाट यता पढाउन गएका छन्, पढ्न गएका छन् । जसले गर्दा देशमा शिक्षाको उज्यालो पुगिरहेको छ । पहिले ज्यामी गर्न जाने भक्तपुरे अहिले पढाउन जान्दछन् । माटाका भाँडा बनाउने भक्तपुरे अहिले विद्यार्थी पढाउने गर्छन् । अहिले शिक्षक जान्छन्, प्रोफेसर जान्छन्, प्राविधिक जान्छन् भक्तपुरको अज्ञ जाँदा र विज्ञ जाँदा परिणाममा निकै फरक भएको छ ।

सेवा गर्न ताता हात
कुनै पनि कामको प्रस्ताव लिएर जनतामा जाँदा जनताले पहिल्यै सुटुक्क याद गर्छ त्यो व्यक्तिको यो काममा के स्वार्थ मिसिएको छ ? तोकिएको मासिक तलब र अन्य सुविधा सबैलाई दिइने नै भयो । त्यसलाई स्वार्थ भन्नुभएन । तर, समयमा आउने, समयमा जाने, तोकिएको काम गर्ने, समय छ र केही काम गर्नुपर्ने भयो भन्ने गर्ने हो भने सबैले प्रायः मन पराउँछन् । यसो गर्दा प्रायः सर्त नराख्ने, सर्त राखुँ सर्त सा¥है सजिलो हुनुुपर्छ । आफू भने सधैँ कमाउने तर सहयोग गर्न राखेको मान्छेलाई पेल्नेमात्र हो भने त्यो मान्छे तपाईंको भएर तपाईँसँग बस्दैन । हाम्रा प्रायः पैसा भएका मान्छेहरू यो कुरा बुझ्दैनन् । अनि त्यस्ता मान्छे प्रायः छोडेर हिँड्छन् । सिपालु छ भने काम सानो–ठूलो केही न केही पाइहाल्छ । म केटाकेटी हुँदाका बखत काम नै नहुने । भएको काममा जिम्मेदारीपूर्वक काम गर्ने सिपालु मान्छे नै नपाइने । म जस्ता मान्छे सबै ठाउँमा काम नलाग्ने । जीवन भनेको एउटाको अर्कोसँग ठ्याक्कै नमिल्ने रहेछ । कसैको के, कसैको के ? राजनीति सेवा गर्ने माध्यम हुनुपर्नेमा कमाउने माध्यम हुनलाग्यो । अब हाम्रो पुस्ताको राजनीतिलाई सेवा नै गर्ने हैसियत र तहमा कसरी बदल्ने ? राजनीति साहु हुने माध्यम भयो भने सेवा गर्ने माध्यम के त ? तर जो कमाउने प्रवृत्तिको हुनुहुन्छ । तपाईंको बाटो राजनीति होइन, व्यापार हो, ब्याज हो, नाफा हो । सेवा गर्ने बाटो अर्को । सेवा गर्ने हात नै ताता हुने रहेछन् नाफा गर्ने चिसा । चिसा हातले सेवा हुँदो रहेनछ । तसर्थ तातो हात पार्नोस् सेवा गर्नोस् ।

लौ के गर्न सकिन्छ र ?
दुर्घटना भनेको दुर्घटना नै हो । दुर्घटनाले दुर्घटनाको छनक कहिल्यै दिँदैन । अस्तिको शनिबार यति एयरलाइन्सको एउटा विमान पोखरामा दुर्घटनाग्रस्त भयो । साह्रै धेरै यात्रु मरे । ७२ जना भनेको धेरै जना पो त । अब उनीहरू त गइसके । अब यस्ता घटना कसरी रोक्ने ? जहिले पनि जब दुर्घटना हुन्छ तब बचाउका कुरा चर्कोसँग गरिन्छ । तर, क्रमशः बिर्सँदै गइँदो रहेछ । अन्यथा, दुर्घटना दोहोरिने तेहोरिने थिएनन् । नामै दुर्घटना राम्रो हुने प्रश्न नै भएन । हुन पनि अस्ति आइतबारको विमान दुर्घटना सारै ठूलो दुर्घटना रहेछ । यति विमानको ११ औँ पटकको दुर्घटना रहेछ । यो पछिल्लो दुर्घटना रहेछ जुन दुर्घटनामा शिशुदेखि युवा, अधवैँसे, वयस्क र प्रौढ गरी ७२ जनाको ज्यान लियो । अब भए पनि होस गरौँ । अकालमा कसैको पनि ज्यान नजावस् । जुन व्यक्तिहरू मरे जसमा नेपालीमात्रै ५३ जना, भारतीय पाँच जना । रूसी ४ जना र २ जना कोरियाली, आयरल्यान्ड, अर्जेन्टिना र फ्रान्सका एक एक जना रहेछन् । त्यति परका देशका नै यति धेरै । होला कतै न कतै त्रुटी । आजको दुनियाँमा दिनरातमा यति धेरै विमान उड्छन् । तर, दुर्घटना नगण्यमात्र हुन्छ । यसरी हेर्दा दुर्घटना कतै न कतै त्रुटी भएर हुने हो । यसकारण विमानचालक साह्रै होसियार हुनुपर्‍यो । यसो अलिकति पनि आफूलाई अन्यथा परेको छ के भन्ने सेवा दिने विमान उडाउनु भएन । अन्यथा, तपाईं विमान चालकका कारण त्यत्रो स्वाहा हुन्छ । लौ हामी के गर्न सक्छौँ र यो कामना सद्भावना बाहेक ।

स्राेतः अनलाइन मजदुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *