आइतबारदेखि एक सातासम्म दिउँसोको समय नारायणगढ मुग्लिन सडक बन्द हुने

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २२ फागुन

आइतबारदेखि एक सातासम्म दिउँसोको समय नारायणगढ मुग्लिन सडक बन्द हुने

पहिरो नियन्त्रणको काम पुरा गर्न नारायणगढ मुग्लिन सडक आइतबारदेखि दिउँसोको समयमा फेरि बन्द हुने भएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी सविना रानाभाटका अनुसार आइतबारदेखि आउँदो शनिबार फागुन २९ गतेसम्म यो सडक बिहान साढे १० बजेदेखि दिउँसो तीन बजेसम्म बन्द रहने छ । एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवाका गाडी भने चल्न दिइने छ ।

कालिखोला चार किलो नजिक पहिरो नियन्त्रणको काम पुरा हुन सकेको छैन । ‘सोही ठाउँमा काम गर्न सडक बन्द गर्न लागिएको हो । भिरमा अड्केका ढुंगा, माटो र खस्ने सम्भावना भएका सबै पदार्थ झारेर सकेपछि बल्ल पहिरो नियन्त्रणको काम गर्नु पर्ने हुन्छ । गाडी खुला राखेर यो काम गर्न सम्भव हुँदैन । त्यसैले एक हप्ताका लागि दिउँसोको समयमा झण्डै साढे चार घण्टा गाडी रोक्नु परेको हो,’ सूचना अधिकारी रानाभाटले भनिन् ।

नारायणगढ मुग्लिन सडक राजधानी काठमाडौंलाई देशको पूर्व र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग हो । यो बाटो बन्द हुँदा पूर्व र पश्चिमबाट काठमाडौं जाने आउने यात्रु बस, निजी गाडी र मालवाहक ट्रकहरुलाई मर्का पर्दछ । सो सडक हुँदै दिनहुँ १० हजारको हाराहारीमा गाडीहरु ओहर दोहर हुने गर्दछन् । पहिला साढे ५ मिटर चौढाइ यो सडक हाल एसियाली मापदण्ड अनुरुपको ९ देखि ११ मिटर फराकिलो दुई लेनको भएको छ ।

सडक फराकिलो गर्न ठाउँ ठाउँमा पहाड काट्नु परेको थियो । पहाड काटेको ठाउँमा पहिरो जाने समस्या सुरु भएको थियो । ६ वर्षअघि सुरु भएको सडक विस्तारको काम सकिएको तीन वर्ष मात्रै भएको छ । तर त्यसपछि पनि पहिरोले हरेक वर्षायाममा दुःख दिँदै आएको छ । कूल ३६ किलो मिटर लम्बाइको सडकमा विस्तारपछि २९ ठाउँमा पहिरोको समस्या सुरु भएको थियो । अरु ठाउँमा काम सकिए पनि एक ठाउँमा बाँकी नै छ ।

यो ठाउँमा गएको वर्षायाममा पनि पहिरो आएर सडक बन्द हुने समस्या सुरु भएको थियो । ‘हामीले एक हप्ताका लागि गाडी बन्द गरेर काम गर्दै छौं । कामदारहरु सकेसम्म र मिलेसम्म धेरै खटाएका छौं । त्यो बेलासम्ममाथि जम्मा भएका ढुंगा, माटो सबै झार्ने छौं । आशा छ यो काम सक्न हप्ता दिन पनि लाग्दैन,’ रानाभाटले भनिन् । त्यसपछि पहिरो नियन्त्रणका लागि काम गर्न गाडी रोक्न नपर्ने उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *