आइतबारदेखि ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाउँदै५५ देखि ६४ वर्षका व्यक्तिले भने चैतमा मात्र पाउने

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २२ फागुन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियानको दोस्रो चरण अन्तर्गत आइतबारदेखि ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउँदैछ।

खोपको उपलब्धता र जोखिमको आधारमा भोलिदेखि ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइने मन्त्रालयले जनाएको छ। दोस्रो चरण सुरु भएको करिब १० दिनपछि ५५ देखि ६४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई खोप दिइने कोभिड-१९ खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले बताए।

उनले भने, ‘यसअघि ५५ वर्ष माथिका समूहलाई खोप दिने तयारी थियो। तर जोखिम र खोपको उपलब्धताको आधारमा ६५ वर्ष माथिको ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकता दिएका हौँ।’

युनिसेफ र विश्व स्वास्थ्य संगठनको सहयोगमा मन्त्रालयले आयोजना गरेका कार्यक्रममा डा उप्रेतीले कोरोनाको जोखिम धेरै हुनेहरुले नै पहिले कोरोना विरुद्धको खोप पाउने उनले बताए। ६५ वर्ष माथिका करिब १७ लाख जनसंख्या रहेको उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा खोप लगाएपछि दोस्रो चरणको खोप अभियानको सुरुवात हुनेछ।

दोस्रो चरणको खोप अभियान सञ्चालनका लागि ६ हजार खोप केन्द्रको स्थापना गरिएको मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए। प्रतिदिन २ देखि ३ लाख जनालाई खोप लक्ष्य राखिएको उनले बताए। सचिव अर्यालका अनुसार प्राथमिकता निर्धारण गरेका सबैले चैतसम्म पहिलो मात्रा पाउनेछन्।

कोभिसिल्ड खोपको प्रभावकारिता ७१ प्रतिशत रहेको कार्यक्रममा जानकारी गराइएको छ। यो खोप कम्तीमा आठ हप्ताको फरकमा दुई मात्रा लगाउनुपर्ने डा उप्रेतीले जानकारी दिए।

खोप लगाएपछि २ हजार १ सय ६७ जनामा सामान्य प्रकारको र ९ जनामा गम्भीर खालको असर देखिएको मन्त्रालयले जनाएको छ। गम्भीर खालका असर देखिनेमा उनीहरुलाई उच्च ज्वरो आएको तर हाल सबैको अवस्था सामान्य रहेको छ।

खोप लगाएपनि अरुलाई सार्ने जोखिम रहने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई सरकारको अपिल छ।

कोभिड १९ विरुद्ध विभिन्न ८१ वटा खोपहरु विकसित भएका छन्। ती मध्ये १२ वटा खोपहरु प्रयोगका लागि अनुमति प्राप्त गरेका छन्। त्यसमा पनि नेपालमा २ प्रकारका खोपहरु प्रयोगका लागि नियामक निकायले अनुमति प्रदान गरेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *