रगत पातलो गराउने औषधि ‘एस्पिरिन’ लिइरहेकाले कोभिड–१९ विरुद्धको भ्याक्सिन लिने की नलिने?

विचार विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २१ फागुन

नेपाल सरकारले फागुन २३ देखि ५५ वर्षभन्दा माथिकालाई कोभिड–१९ विरुद्धको भ्याक्सिन दिने घोषणा गरिसकेको छ। जतिजति यो मिति नजिकिँदै छ, त्यति नै धेरैका मनमा एकपछि अर्को प्रश्न उठ्ने क्रमपनि जारी छ।

विविध प्रश्नमध्ये एस्पिरिनको (रगत पातलो गराउने उद्देश्यले प्रयोग गरिने औषधि) लामो समयदेखि नियमित सेवन गर्नेले यो भ्याक्सिन लिन मिल्छ कि मिल्दैन भनेर सोध्ने सबैभन्दा बढी भएको यो पंक्तिकारले अनुभव गरेको छ।

नेपालमा धेरै ज्येष्ठ नागरिकले लामो समयदेखि प्रयोग गरेका औषधिमध्ये एस्पिरिन पनि एक हुने गरेको छ। एक तथ्यांकले देखाए अनुसार विश्वमा नै कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाउनुअघि सर्वाधिक खोजिने/सोधिने प्रश्नमध्ये यो प्रश्न पनि परेको छ।

हाल अक्सफोर्ड/एक्स्ट्राजेनेकाले विकास गरेको तथा भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको भ्याक्सिन ‘कोभिसिल्ड’ नेपालमा प्रयोग हुँदै आइरहेको छ। सो भ्याक्सिनको उत्पादनकर्ताको वेब साइटमा राखिएको फ्याक्ट सिटमा जनाइए अनुसार रगत पातलो गराउने औषधि लिरहेकाले भ्याक्सिन लिनै नमिल्ने भनेको त छैन, तर लिनुभन्दा अगाडि स्वास्थ्यकर्मीसँग परामर्श लिन सुझाव दिएको छ।

धेरैले स्वास्थमा समस्या निम्तने पो होकि भनेर आशंका गरेका छन्। तर, नेपाल सरकार स्वास्थ्य मन्त्रालयले आफ्नो वेब साइटमा कोभिड–१९ सम्बन्धी ‘सर्वसाधारणको जिज्ञासा र समाधान’ शीर्षकअन्तर्गतको जानकारीमा रगत पातलो गराउने औषधि लिरहेकाले भ्याक्सिन लिन मिल्ने÷नमिल्ने उल्लेख गरेको छैन।

हालै भारतीय सञ्चार माध्यमले उल्लेख गरे अनुसार कोभिसिल्ड र कोभ्यक्सिन (भारतले विकास गरेको भ्याक्सिन) उत्पादकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चलाई रगत पातलो गराउने औषधि (विशेषतःएस्पिरिन र क्लोपिडोग्रेल) लिइरहेकामा पनि भ्याक्सिन सुरक्षित रहेको र अध्यावधिक गर्न भनेका छन्। अन्तराष्ट्रिय विज्ञहरुले पनि एस्पिरिन लिरहेकाले कोभिड–१९ विरुद्धको भ्याक्सिन लिनुनपर्ने कुनै कारण नभएको बताएका छन्।

पहिलो चरणको खोप कार्यक्रममा लामो समयदेखि एस्पिरिन लिरहेकाले चिकित्सकसँगको परामर्शपछि कोभिसिल्ड भ्याक्सिन लिएका थिए। उनीहरुमा कुनै स्वास्थ समस्या देखिएन। सामान्य असरस्वरुप केहीलाई खोप दिएको ठाउँमा (पाखुरामा) निलो हुने वा केही सुन्निने समस्या भने देखिन सक्छ।

(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *