मसालेदार खानेकुराले पेटको रोगी बनाउँछ

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
काठमाडौं, २२ चैत

एउटा कुरा निकै विरोधाभास छ, आयुर्वेद भन्छ हाम्रो भान्सामा हुने मरमसला आफैंमा औषधीय गुणले भरिपूर्ण छ । चिकित्सक भन्छन् मसालेदार खानेकुराले रोग लाग्छ ।

भान्सामा पाउने मसला भन्नाले जिरा, धनियाँ, मरिच, बेसार, खुर्सानी, अदुवा, लसुन आदि । हामीले लामो समयदेखि हाम्रो खानेकुरामा यसको प्रयोग गर्दै आएका छौं । जसले खानेकुराको स्वाद बढाउनुका साथै स्वास्थ्यको लागि पनि लाभदायक हुन्छ भनेको हामीले आयुर्वेदमा धेरै सुनेका छौं ।

तर यी मसला प्रयोग गर्ने पनि मात्रा हुने र सही मात्रामा प्रयोग गरे मात्र लाभदायक हुने पेट तथा कलेजोरोग विशेषज्ञ प्रा। डा। विधाननिधि पौडेल बताउँछन् । ‘सीमित मात्रामा प्रयोग गर्दा यस्ता मसलाले एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ । शरीरमा तातोपन बढाउने, र स्फूर्ति ल्याउने काम गर्छ ।’

धेरै मात्रामा प्रयोग गर्दा भने यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ । हामीले खाएको अत्यधिक मसालेदार खानेकुरा खाना नली हुँदै आमाशयमा जान्छ र सबैभन्दा पहिले पेट पोल्न थाल्छ र खाना पच्न नै गाह्रो हुन्छ । मसालेदार खानेकुराको धेरै सेवनले आन्द्रा तथा आमाशय बिस्तारै सुन्निएर ग्यास्ट्रिकको समस्या र पेटमा घाउ नै पनि हुन सक्छ । त्यसले अदुवा, लसुन, जिरा, धनियाँ लगायत मसलाको प्रयोग ठिक्क मात्रामा मात्र गर्नुपर्छ ।’

डा। पौडेल भन्छन्, ‘मसला मात्र होइन, धेरै पिरो र नुनिलो खानेकुरा पनि पेटको लागि हानिकारक हुन्छ । यसले पनि ग्यास्ट्रिकको समस्या बढाउँछ ।’

अहिले पछिल्लो समय हाम्रो खानपान शैली एकदमै धेरै परिवर्तन भएको छ, हामी स्वस्थ हुनको लागि भन्दा पनि स्वादको लागि खाना खान्छौं । जंकफुड, प्याकेट फुड, धेरै पिरो मसालेदार खानेकुराले पेटसँगै कलेजोसम्बन्धी समस्या पनि निम्तिन्छ । यस्तो खानपानले ग्यास्ट्रिकको समस्यासँगै कलेजोमा फ्याटी लिभरको समस्या पनि निम्ताएको पौडेल बताउँछन् ।

‘खाना खाएपछि अघाउने सेन्टर हाम्रो दिमागमा हुन्छ । जंकफुड र प्याकेट फुड जस्ता खानेकुरामा नुन, मसला, चिल्लोको मात्रा बढी हुन्छ । यस्ता खानाले त्यो सेन्टरलाई नै सुस्त बनाइदिन्छ । जसले गर्दा जति खाना खाए पनि अघाएको थाहा नै हुँदैन र खाइरहन मन लाग्ने हुन्छ,’ डा। पौडेल भन्छन्, ‘यसो हुँदा मोटोपन बढ्छ । खाएको खानेकुरा राम्ररी पच्दैन र कलेजोमा गएर जम्मा हुन्छ । जसले कलेजोका कोषिकाहरुलाई नष्ट गरेर लिभर सिरोसिस हुन सक्छ ।’

धेरैको खानपानमा मद्यपान पनि समावेश हुन्छ । जसको कारण अल्कोहलिक फ्याटी लिभरको समस्या निम्तिएको छ । मद्यपानले सिधै कलेजो, प्याङक्रियाज र ठूलो आन्द्रालाई पनि खराब गर्छ र पाचन शक्तिलाई कमजोर बनाइदिने पौडेलले बताए ।

भोक लागेपछि मात्र खाना खानुपर्छ

भोक नलागी जथाभावी खायो भने त्यो खानेकुरा राम्ररी पच्दैन र शरीरमा नै भण्डारण भएर बस्छ । जसले मोटोपन, फ्याटी लिभर जस्ता स्वास्थ्य समस्या निम्त्याउने डा। पौडेल बताउँछन् । ‘त्यसैले खानेकुराको मात्रा मिलाउनुपर्छ । प्याकेट बन्द खानेकुरा भन्दा प्राकृतिक खानेकुराको सेवन गर्नुपर्छ जुन राम्ररी पचोस्,’ उनी भन्छन् ।

भोक लागेपछि मात्र खानेकुरा खानु उचित हुन्छ । किनकि भोक लागेपछि हाम्रो शरीरमा खाना पचाउन हार्मोन र मस्तिष्कसहित सम्पूर्ण अंगले काम गर्छ । खाएको खाना पचाउन पाचन रसहरूको उत्पादन हुन्छ र खाना राम्ररी पच्छ र शरीरमा भण्डारण हुन पाउँदैन,’ डा। पौडेल भन्छन् ।

ग्यास्ट्रिकको मुख्य कारण

ग्यास्ट्रिकको समस्या विभिन्न कारणले हुन्छ । खराब खानपिन ग्यास्ट्रिकको एउटा प्रमुख कारण हो । जसले समयमा खाना खाँदैन, लामो समय भोको बस्छ र धेरै मसालेदार खानेकुरा खान्छ, उसलाई ग्यास्ट्रिकको समस्या हुने पौडेल बताउँछन् । ‘समयमा खाना खाइयो र घरमै बनेको ताजा खाना खाइयो भने यो समस्या कम भएर जान्छ,’ उनी भन्छन् ।

दुखाइ कम गर्ने औषधिको सेवन आजभोलि एकदमै धेरै हुन्छ । यस्ता दुखाइ कम गर्ने औषधि र अन्य विभिन्न प्रकारको औषधिको सेवनले पनि ग्यास्ट्रिकको समस्या निम्त्याउने पौडेल बताउँछन् ।

पेटको संक्रमणका कारण पनि यी समस्याहरू हुन्छन् । संक्रमणको कारण ‘एच पाइलोरी’ नामक ब्याक्टेरिया हुन्छ । त्यसले आमाशयको भित्री भागमा धेरै घाउ बनाउने, एसिड धेरै उत्पादन गर्ने, सुरुमा सुनिने रातो हुने र ग्यास्ट्रिक हुन्छ । जुन बढ्दै गएपछि अल्सर समेत हुने उनी बताउँछन् । ‘ग्यास्ट्रिक विकसित देशमा हेर्ने हो भने ४० प्रतिशत व्यक्तिको हाराहारीमा त्यही ब्याक्टेरियाको कारणले हुन्छ । तर हाम्रो जस्तो अविकसित मुलुक जहाँ स्वास्थ्य खानपान, सरसफाइमा पछाडि छौं, ब्याक्टेरियाको ग्यास्ट्रिक ७० प्रतिशतमा देखिन्छ । यहाँ यसको प्रभाव धेरै बढी छ ।’

ग्यास्ट्रिकले निम्तिने जटिलताहरू

जुनकुनै कारणले ग्यास्ट्रिक भएको छ भने पनि पहिला त्यसको कारण पत्ता लगाई समयमै उचित उपचार गर्नुपर्छ । समयमै यसको उपचार नभएमा पत्र हुँदै आमाशयमा घाउ हुन पुग्छ । लामो समय ग्यास्ट्रिक हुँदा आमाशयमा घाउ भएर अल्सर पनि हुन सक्ने पौडेल बताउँछन् ।

‘अल्सर गम्भीर भइसक्दा पनि समयमै यसको उपचार नभए आन्तरिक रक्तस्रावलगायत समस्या देखिन थाल्छ । समयमै ग्यास्ट्रिक तथा अल्सरको उपचार भएन भने क्यान्सरको रूप पनि लिन सक्छ,’ डा। पौडेल भन्छन् ।

ग्यास्ट्रिकको औषधि जथाभावी खानु गलत

पेट दुख्ने बित्तिकै ग्यास्ट्रिकको कारणले होला भनेर मेडिकल गएर ग्यास्ट्रिकको औषधि खानेहरूको संख्या पनि हाम्रोमा धेरै हुन्छ । तर सबै पेट दुख्नुको कारण ग्यास्ट्रिक नहुन सक्छ । अन्य विभिन्न कारणले पनि पेट दुखेको हुन सक्ने डा। पौडेल बताउँछन् ।

पेट दुख्यो भनेर मेडिकल गएर आफूखुसी औषधि किनेर खानु हुँदैन । अस्पताल गएर विशेषज्ञ डाक्टरको सल्लाह लिनुपर्छ । कतिपय अवस्थामा औषधि बिना नै खानपानमा ध्यान दिँदा पनि ग्यास्ट्रिकको समस्या कम हुन सक्ने पौडेल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *