खोप केन्द्रमा व्यस्त नर्सले ड्युटीमै मनाए नर्सिङ दिवस५९औं नेपाल नर्सिङ दिवस

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, १५ माघ

आज नेपाल नर्सिङ दिवस। नर्सिङ क्षेत्रका विभिन्न संघसंस्था तथा अस्पतालमा आवद्ध नर्सहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाएका छन्। तर खोप केन्द्रमा व्यस्त नर्सहरुले भने ड्युडीमा नै नर्सिङ दिवस मनाएका छन्।

‘आजदेखि त बिहान ८ बजेदेखि नै खोप कार्यक्रम थियो, बिहानैदेखि हामी खटिएका छौं,’ खोप केन्द्रकी नर्सिङ इन्चार्ज मीरा तुलाधरले स्वास्थ्यखबरसँग भनिन्, ‘खोप कार्यक्रममा १० जना नर्सिङ स्टाफ खटिएका छौं।’

उनले भनिन्, ‘यो वर्ष हिजोदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भयो, त्यसैले यही कार्यक्रममा उत्साहित भएर लागिरहेका छौं। खोप लगाउने काममा व्यस्त हुँदा आज नर्सिङ दिवस भन्ने नै बिर्सिएछु।’

टिचिङ अस्पतालमा बिहीबार खोप लगाउन नामावली तयार भएको स्वास्थ्यकर्मीको संख्या ५ सय भन्दा बढी छ। त्यसैले नर्स तुलाधरको टिम खोप केन्द्रमै खटिएर यो दिवस मनाइरहेको छ।

खोप लगाइदिन पिपिई लगाएर खटिएकी अर्की नर्स डोल्मा तामाङलाई आज नर्सिङ दिवस भन्ने थाहा थियो। अघिल्ला वर्षहरुमा नर्सिङ साथीहरुसँग सेलिब्रेसन गरेर नर्सिङ दिवस मनाउने उनीहरु यसपालि भने ड्युटीमै व्यस्त छन्।

‘अघिल्लो वर्षमा त साथीहरुसँग मनाइन्थ्यो, यो वर्ष कोरोना भाइरस विरुद्धको भ्याक्सिनेसन कार्यक्रममा व्यस्त भइयो,’ नर्स लामाले तामाङले भनिन्, ‘अब यही प्रोगाममै भ्याक्सिन लगाइदिँदै यो वर्ष मनाइन्छ।’

आज नर्सिङ दिवस भए पनि विभिन्न अस्पतालहरुमा कार्यरत नर्सिङ स्टाफहरु आफ्नो कार्यक्षत्रमै काम गरेरै यो दिवस पनि मनाइरहेका छन्।

किन मनाइन्छ नर्सिङ दिवस?
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक डा रोशनी लक्ष्मी तुइतुईका अनुसार २०१८ माघ १५ गते नेपालभरिका नर्सहरु संगठित रुपमा एक भएर  नेपाल नर्सिङ संघको स्थापना गरेका थिए।

सोही दिनको सम्झनामा यो दिवस हरेक वर्ष माघ १५ गते देशभरका नर्सहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन्।

तुइतुईले नर्सिङ संघको स्थापना भएको ५९ वर्षको उपलक्ष्यमा नेपाल नर्सिङ संघको केन्द्रीय कार्यालय र विभिन्न जिल्लाका नर्सिङ संघको शाखा कार्यालयहरुले पनि यो दिवस मनाएको जानकारी दिइन्।

कोरोना महामारीको समय भएकाले यस वर्ष भर्चुअल विधिबाट यो दिवसको कार्यक्रम गरिएको थियो।

तुइतुईका अनुसार नेपालमा हाल ९५ हजारभन्दा बढी नर्सिङ जनशक्ति नेपाल नर्सिङ काउन्सिलमा दर्ता छन्। तीमध्ये २० हजारभन्दा बढी नर्सहरु विदेश पलायन भएका छन्।

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक डा तुइतुईले करिब १५ हजार नर्सिङ जनशक्ति सरकारी अस्पतालहरुमा कार्यरत रहेको जानकारी दिइन्।

तुइतुईका अनुसार यी ९५ हजार नर्समध्ये केहीको मृत्यु भइसकेको छ भने केही नर्सिङ क्षेत्रभन्दा बाहिर छन्।

नर्सिङका समस्या अझै झन्
नेपालमा नर्सिङ जनशक्ति बढ्दै जाँदा नर्सिङ क्षेत्रमा प्रतिस्पर्धा पनि बढ्दै गएको छ। नर्सिङ क्षेत्रका समस्याका विषयलाई लिएर समय–समयमा आन्दोलनका कार्यक्रमहरु पनि भइरहेका हुन्छन्। कतिपय अस्पतालहरुमा नर्सिङ जनशक्तिलाई भोलेन्टियर राख्ने र श्रम शोषण हुने गरेको तथ्य बाहिर आएपछि स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरुलाई नर्सको तलब बैंक खातामै दिनुपर्ने व्यवस्था गरिएको महाशाखा प्रमुख तुइतुईको भनाइ छ।

सरकारको निर्णयपछि नर्सिङ जनशक्तिलाई भोलेन्टियर राख्ने व्यवस्था हटे पनि कतिपय निजी अस्पतालमा न्यून तलब दिएर नर्सिङ स्टाफलाई खटाएको गुनासो अझै आउने गरेको तुइतुईले बताइन्।

‘स्वास्थ्य मन्त्रालयले नर्सहरुलाई बैंक खातामा तलब दिएको विवरण बुझाएपछि मात्र अस्पतालहरुको नवीकरण हुने नियम ल्याएपछि नर्सलाई भोलेन्टियर राख्ने व्यवस्थाको अन्त्य भएको छ,’ तुइतुईले भनिन्, ‘तर, भोलेन्टियर नराखे पनि न्यून तलब दिएको गुनासो भने अझै आइरहेको छ।’

हाल सरकारी अस्पतालहरुमा पाँचौ तहका नर्सिङ स्टाफको बेसिक तलब मासिक २८ हजार २०० रुपैयाँ रहेको उनले बताइन्। तर निजी अस्पतालहरुमा १३–१४ हजारमा पनि काम लगाइरहेको उनले सुनाइन्।

उनले नर्सिङ जनशक्ति दक्ष जनशक्ति भएकाले उनीहरुको तलब सुविधा राम्रो हुनुपर्छ भनेर आफूहरुले लबिइङ गरिरहेको पनि जानकारी दिइन्।

‘नर्सिङ जनशक्ति दक्ष जनशक्ति हुन्, अहिलेको श्रम ऐनमा दक्ष जनशक्तिका लागि तलब तोकिनुपर्छ, भनेर हामीले लबिइङ गरिरहेका छौं,’ उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *