निःशुल्क पिसिआर गर्न आइतबारदेखि स्वाब संकलन गर्दै  काठमाडौं महानगर

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ६ मंसिर

काठमाडौँ महानगरपालिकाले आइतबारदेखि निःशुल्क पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ। संघीय सरकारले तोकेका मापदण्डभित्र पर्ने व्यक्तिको निःशुल्क पिसिआर परीक्षण गर्न स्वाब संकलन कार्यलाई फेरि सुरु गर्न लागिएको महानगरका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए।

शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा उपस्थित मेयर शाक्यले पत्रकारहरुसँग कुरा गर्दै आइतबारदेखि पुनः स्वाब संकलन सुरु गर्न लागिएको उल्लेख गरेका हुन्। यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको पनि उनको दाबी छ।

काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पिसिआर टेस्ट गर्न मेयर शाक्यको आग्रह छ।

पछिल्लो समय बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको पनि उनको भनाइ छ। अहिले बजारमा देखिएको भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई सुझाव दिइसकेको र सरकारको निर्णय अनुसार हुने पनि मेयर शाक्यले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *