कानुन अध्ययन समाजको भक्तपुर बार एकाइ गठन, संयोजकमा ज्याख्व

समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २२ असार


कानुन अध्ययन समाज, भक्तपुर जिल्ला समितिले कानुन अध्ययन समाज, नेपालको भक्तपुर बार एकाइ गठन गरेको छ ।

शनिबार समाजको आयोजनामा भएको कानुन व्यवसायी भेलाबाट गम्भिरमान ज्याख्वको संयोजकत्वमा उक्त एकाइको गठन भएको हो ।

सो अवसरमा समाजका संस्थापक अध्यक्ष एवम् भक्तपुर नगरपालिकाको प्रमुख सुनिल प्रजापतिले समाजले विगतमा गरेको अनुभव सुनाउँदै भक्तपुर जिल्ला अदालतको बार एसोएसनले गरेका विकृति विसंगति र खराब आचरणको विभिन्न तरिकाबाट विरोध गरिरहेको बताए । उनले पूँजीपति वर्गबाट जनता सधै थिचोमिचो र शोषणमा पर्ने भएकाले समाजवादी गणतन्त्रका निम्ति निरन्तर संघर्ष गर्नुपर्नेमा जोड दिए । उनले मौका कुनै पनि समयमा आउन सक्ने भन्दै त्यसका लागि समाजका सदस्यहरु निरन्तर क्रियाशील अध्ययन र अनुसन्धानमा लाग्नुपर्ने बताए ।

अस्पष्ट विचारले मानिसलाई रणभुल्लमा पार्ने र आफू आफैप्रति विश्वस्त हुन नसक्ने विचार राख्दै विचारले बन्दुकलाई निर्देशन गर्ने हो, अन्यथा अराजक बन्ने बताए ।

साथै चुनावमा भाग लिनु भनेको बैचारिक स्पष्टता र वर्गीय दृष्टिकोण राख्नका लागि भएको बताउँदै राजनीतिक इमान्दारिता र पारदर्शिता नभए पूँजीवादको कानुनी डकैती गर्ने जस्तै हुने स्पष्ट पारे । पूँजीवादी व्यवस्थाले युवाहरु सस्तो ज्यामीका रुपमा बेच्ने मिल्ने गरी कानुन बनाएर काम गर्छन् । भ्रष्ट, अराजक र डकैती गर्नेका लागि मिल्ने कानुन निर्माण गछन् । त्यस विषयमा समाजले राम्रोसँग अध्ययन गरी निरन्तर संघर्ष गरिरहनुपर्ने उनको भनाइ छ ।
समाजका केन्द्रीय अध्यक्ष राम प्रसाद प्रजापतिले अहिलेसम्म सैद्धान्तिक रुपमा अविचलित भई काम गरेकाले समाज कुनै लोभ लालचमा नफसेको र विरोधी पक्षको निन्द्रा भंग गर्न सफल भएको बताए ।

उनले आफ्नो विचार प्रस्तुत गर्ने बैचारिक पत्रिका न्यायदृष्टिलाई निरन्तरता दिनुपर्ने र त्यसका लागि नियमित रुपमा अनुसन्धानात्मक लेख रचनाहरु लेख्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका सभापति एवम् समाजका जिल्ला अध्यक्ष राजु कैटीले समाजले अहिलेसम्मका चुनावमा अरु संगठनभन्दा फरक ढंगले प्रस्तुत गरेको बताए ।
एकाइ गठन तथा भक्तपुर बार निर्वाचन २०८२ का सन्दर्भमा विभिन्न वक्ताहरुले आफ्ना भनाइ राखेको उक्त कार्यक्रममा मनज ज्याख्वले पनि बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *