नेमकिपाको घोषणापत्र जनप्रतिनिधिहरूका लागि मार्गदर्शन

खेलकूद विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

भक्तपुर, १९ असार

भक्तपुर जिल्ला बक्सिङ सङ्घको आयोजनामा भक्तपुर नगरपालिकामा विजयी जनप्रतिनिधिहरूको ‘बधाई तथा शुभकामना कार्यक्रम‘ नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा सङ्घीय सांसद प्रेम सुवालले नेमकिपाको घोषणापत्रले निर्वाचित जनप्रतिनिधिहरूको लागि मार्गदर्शन गर्ने बताए । उनले भने, “ पार्टीको घोषणापत्रमा खानेपानी, आवास, शिक्षा, स्वास्थ्य, सीप, तालिम, रोजगारी, खेलकुद, महिला, मजदुर, किसान, ज्येष्ठ नागरिक सबैको समस्या सम्बोधन गरिएको छ ।”

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देश र जनताको सेवा गर्नु नै राजनीति भएको उल्लेख गरी ‘राजनीतिक कार्यकर्ता बन्ने भाइ–बहिनीलाई चिठी’ पुस्तक लेख्नुभएको उल्लेख गर्दै सचिव सुवालले उक्त पुस्तकलाई शोभा भाउजूले पनि आत्मसात गर्नुभएको विचार राखे।

“नेमकिपाविरूद्ध तत्कालीन पञ्चायती राज्यस्तरको षड्यन्त्रविरूद्ध शोभा भाउजूले सङ्घर्ष गनुभयो । उहाँले २०५६ सालमा आफूलाई लागेको स्तन क्यान्सरसँग जित्नुभयो र स्वास्थ्य शिविरको अगुवाइ गरी महिलाहरूलाई स्वास्थ्य चेतना दिनुभयो । चार वर्षअघि उहाँमा पाठेघरको क्यान्सर पत्ता लाग्यो । यो क्यान्सरविरूद्ध पनि उहाँको उपचार भइरहेको थियो । नेपाल सरकारले अन्य देशमा उत्पादन भएका क्यान्सर रोग उपचारसम्बन्धी औषधिलाई नेपाल ल्याउने अनुमति दिएन । जनताका प्रतिनिधिको हैसियतले स्वास्थ्यमन्त्री, नेपाल औषधि व्यवस्था विभागमा हामीले आवाज पुर्‍यायौँ । तर, सरकार सचेत नहुँदा ती औषधिहरू अहिलेसम्म सजिलै नेपाल प्रवेश भइरहेको छैन । औषधिको अभावमा क्यान्सर रोगीहरूले असामयिक निधन भइरहेको छ”, सचिव सुवालले भने।

समवेदना व्यक्त गर्न नेमकिपाका अध्यक्ष बिजुक्छेँलाई भेटघाट गर्न आएका पूर्वप्रमहरू माधवकुमार नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाल, केपी ओली, राष्ट्रिय सभाका अध्यक्ष, संविधानसभाका अध्यक्ष, नेपाली काङ्ग्रेसका उपसभापतिलगायतलाई समयमा औषधि नपाउँदा क्यान्सर रोगीहरू मृत्यु भइरहेकोले यथार्थ जानकारी गराएको सचिव सुवालले बताए।

“अध्यक्ष बिजुक्छेँले आफ्नी जीवन सङ्गिनी शोभा प्रधानको उपचार नेपालमै गराउनुभयो । शासक दलका नेता र तिनका पत्नीहरूको उपचार राज्यकोषबाट विदेशमा भइरहेको छ”, सचिव सुवालले भने।
“नेपालको सार्वजनिक ऋण पाँच वर्षअघि ९ खर्ब १७ अर्ब थियो, अहिले १८ खर्ब ५५ अर्ब पुग्यो । सावाँ–ब्याज भुक्तानी गर्न नसकेको हुँदा श्रीलङ्काको अर्थतन्त्र टाट पल्टियो”, उहाँले भन्नुभयो ।
“देउवा सरकारले अहिले भारतलाई ३६४ मेगावाट बिजुली सस्तोमा बेच्ने र महँगोमा खाना पकाउने ग्यास खरिद गर्ने उल्टो काम गर्‍यो । एकजना सचिवले सिंहदरबार भ्रष्टाचारको अखडा भएको बताए । एक राजनीतिक नेताले केही वर्षअगाडि सिंहदरबारमा ‘बाँदर’ बसेको बताए । अहिले पुष्टि भयो”, सचिव सुवालले बताए।

“एमसीसी सम्झौताअनुसार नेपाललाई दिइने रु. ५० करोड अमेरिकी लगानी हो । हिन्द–प्रशान्त क्षेत्रका देशहरूलाई अमेरिकाले एमसीसी सम्झौतामार्फत पैसा दिने अमेरिकी रणनीतिमा उल्लेख छ । एमसीसी सम्झौताकै बेलामा हामीले अमेरिकी सेना आउने बताएका थियौँ । नेपाली सेनाको ब्यारेक अमेरिकी सेनाले कब्जा गर्ने अमेरिकी सेना हतियार बोकेर ब्यारेक बाहिर आउने, अमेरिकी सेनालाई ल्याइने गाडी र हवाइजहाजमा कर छुट हुने एसपीपीमा उल्लेख छ । अमेरिकी नेतृत्वको सैन्य मोर्चा– नाटो, अन्जुस, पाँच आँखा, क्वाड, अउकस, आईपीएस आदि हुन् । यसमा एमसीसी र एसपीपी पनि थपियो । एसपीपीका देशहरूलाई अमेरिकी सरकारले नाटो सदस्य बनाउँदै छ ।” सचिव सुवालले भने।
उनले भने, “प्रम देउवाले आफ्नो प्रमको पहिलो कार्यकालमा भारतलाई महाकाली नदी बेचे । दोस्रो कार्यकालमा उनले अफगानिस्तानमाथि आक्रमण गर्न आएका अमेरिकी हवाईजहाजलाई काठमाडौँमा इन्धन भर्न दिने बताए । तेस्रो कार्यकाल प्रतिगामी राजाको टीके प्रधानमन्त्री भए । चौथो कार्यकालमा एमसीसी सम्झौता गरे । पाँचौ कार्यकालमाएमसीसी सम्झौता संसद्बाट पारित गराए र एसपीपीको सम्झौता गर्ने तयारी गरे ।”

सचिव सुवालले भने, “नेपाली जनताको हितको निम्ति राज्यको नेतृत्वमा उत्पादन र वितरण जरुरी छ । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी कम्युनिस्ट दाबी गर्ने तर काम भाइकाङ्ग्रेस जस्तै गरे । जनता दुःख पाउँदै छन् ।”
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशमा इमानदार मान्छेहरूको खडेरी परेको बेला देश र जनताको निरन्तर सेवा गर्ने नेमकिपाका प्रतिनिधिहरूलाई जिताएकोमा नगरवासीहरूलाई धन्यवाद दिँदै जनताको बिचमा बसेर काम गर्नेहरूको तुलना अरूसँग हुननसक्ने बताए । उनले कुनै पनि व्यक्ति राजनीतिबाट अलग बस्न नसक्ने बताउँदै सभ्य नागरिक र खेलाडीहरू राजनीतिप्रति वितृष्णा बढेकोले देश, समाज र खेलकुदलाई अगाडि बढाउन राजनीति राम्रो हुनुपर्ने बताए।

प्रमुख प्रजापतिले निर्वाचनमा बोलेअनुसार काम गरिदेखाउने भन्दै शिक्षाबाट पछाडि परेको भक्तपुर अग्रणी स्थानमा पुगेको बताए । उनले संविधानमा समाजवादउन्मुख भए पनि निजी अस्पताल र स्कुल भएकाहरू नै नीति निर्माणमा पुग्दा शिक्षा र स्वास्थ्य महँगो भएको बताए। प्रमुख प्रजापतिले कृषिप्रधान देशमा रासायनिक मल ल्याउन नसक्दा उत्पादन घटी आयात बढ्ने बताउँदै नेपाल श्रीलङ्काको बाटोमा लागिरहेको बताए। उनले भँगेरी डाँडामा रग्बी रङ्गशाला बनाउने होइन जलाधार क्षेत्र घोषणा गरी सेनालाई जिम्मा लगाउनुपर्ने बताए। वडाध्यक्ष उकेश कवाले खेलकुद विवादले खेलको उचाइ हासिल गर्न नसकेको र उपयुक्त ठाउँमा योग्य खेलाडी चयन नभएको बताए।
भक्तपुर जिल्ला बक्सिङ सङ्घका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत गौतम सुजखुले गरेको थियो ।

कार्यक्रममा शोभा प्रधानको निधनमा १ मिनेट मौन धारण गरिएको थियो भने लक्ष्मण अवाल र केदारनाथ साकोसलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *