न्यूज अपडेट
भक्तपुर, ३ मंसिर

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरको आयोजनामा विश्व दीर्घ दम खोकी दिवसको अवसरमा बुधबार अनलाइनमार्फत प्रवचन कार्यक्रम भएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी दम रोगीहरुको उपचारको लागि भक्तपुरको च्याम्हासिंहमा श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालनको तयारी गरिरहेको बताए । कोभिड महामारीबीच पनि भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्रले दैनिक ५०० जनाको हाराहारीमा बिरामीहरुको उपचार गरिरहेको बताउँदै प्रमुख प्रजापतिले कोभिड न्युनीकरणको लागि सबैको सामूहिक भावना आवश्यक भएको बताए ।
धुम्रपान, वायु प्रदूषण, धुँवा र रसायन प्रदूषण गर्ने उद्योग, परम्परागत पेशा आदिका कारण दम रोगीहरुको संख्या दिनानुदिन बढिरहेको बताउँदै उनले भक्तपुर औद्योगिक क्षेत्रका धुँवा, धुलो तथा रसायन प्रदूषण गर्ने उद्योगहरु काठमाडौं उपत्यका बाहिर स्थानान्तरण गर्न आवश्यक पहल भइरहेको जानकारी दिए । प्रमुख प्रजापतिले शिक्षक—कर्मचारीहरुले असल व्यवहार र नागरिक भावना विद्यार्थीहरुलाई सिकाउनुपर्ने बताउँदै शिक्षकहरु सचेत, संगठित र अध्ययनशील हुनुपर्ने बताए ।
विशेष अतिथि वरिष्ठ दम रोग विशेषज्ञ डा. सन्तकुमार दासले दीर्घ दम रोगसम्बन्धी प्रस्तुतीकरण देखाउँदै विश्वभरिमा ६ देखि ७ प्रतिशत मानिसहरुमा दम खोकीको समस्या देखिएको तथ्यांक रहेकोमा भक्तपुर नगरपालिकाभित्र १९ प्रतिशत मानिसहरुमा यो रोगको समस्या देखिएको बताए । दम रोगको पहिचान समयमै हुन सके यसको नियन्त्रण र उपचार सम्भव भएको बताउँदै डा. दासले दीर्घ दम रोगीको जीवनयापनमा नकारात्मक असर पुग्नुका साथै आर्थिक नोक्सानी पनि हुने बताए । भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्याउने श्वासप्रश्वास पुनःस्थापना केन्द्रबाट दम खोकीका रोगीहरु लाभान्वित हुने उनले बताए ।
कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्र प्रमुख रत्नसुन्दर लासिवाले दीर्घ दम रोगले सामाजिक र आर्थिक पक्षमा दीर्घकालीन असर पुग्ने हुँदा समयमै यस रोगको पहिचान गरी उपचार गर्नुपर्नेमा जोड दिए ।