अक्टोबर समाजवादी क्रान्ति दिवसबाट नेपालीले सिक्नुपर्ने

राजनीति विचार विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, ३ मंसिर


अक्टोबर क्रान्ति भन्ने बिटिक्कै हामीले रुसमा आज भन्दा १०३ वर्ष अगाडि सन् १९१७ मा भएको क्रान्तिलाई चिन्छौं । विश्व सर्वहारा वर्गको लागि महत्वपूर्ण क्रान्तिको रुपमा सो क्रान्तिलाई मान्न सकिन्छ । सोभियत संघ स्थापना हुने गरी भएको उक्त क्रान्तिले विश्वको तीन खण्डको एक खण्ड भूभागमा समाजवादको झण्डा फहराएको थियो । रुस वा सोभियत संघ त्यो बेला यूरोप र एशिया दुई महादेशमा फैलिएको अत्यन्तै विशाल देश हो । आज सोभियत संघ १५ गणराज्यमा विभक्त भएको छ । तैपनि रसिया विश्वको सबैभन्दा ठूलो देश छँदैछ । पृथ्वीको तीन भागमा दुई भाग पानी र एक भाग जमीन रहेको छ । त्यसमा पनि जमीनको भागलाई शत प्रतिशत मान्ने हो भने त्यसको ३३ प्रतिशत वा एक तिहाई भाग एउटै देश रुसले धाकेको छ । उक्त भूभागमा भएको क्रान्ति समाजवादी क्रान्ति हो ।

अक्टोबर समाजवादी क्रान्तिका प्रणेता भ्लादिमिर इलिच लेनिन हुन् । उनले बोल्सेभिक पार्टी मार्फत् रुसमा समाजवादी क्रान्तिको जग बसालेका थिए । सन् १९१७ को फेब्रुअरी क्रान्तिले त्यहाँको जार सरकारलाई पल्टाए लगतै क्रान्तिकारी पार्टी र उदारबादी पार्टीको रुपमा बोल्सेबिक पार्टी र मेन्सेविक पार्टी भनेर विभाजनको रेखा कोरियो । मेन्सेविकहरु सत्तामा जाने वा पूँजीवादी शासनमा गएर शासक बन्ने तरखरमा थिए । तर बहुमत भने त्यो बेला बोल्सेविकहरुले कायम गरिसकेको थियो । जसको कारण फेब्रुअरी क्रान्तिको आधारमा अदेर लेनिनको नेतृत्वमा पुनः क्रान्ति भयो र सोभियत संघ गठन गरी विश्वको एक तिहाई भूभागमा समाजवादी क्रान्ति सम्पन्न गरी समाजवादको झण्डा फहराउन सफल भयो । तर आज भन्दा तीस वर्ष अगाडि अर्थात् सन् १९९० मा आएर पूँजीवादीहरुले सोभियत संघलाई पतन गराउन सफल भयो । क्रान्तिकारी पार्टीभित्र रोग लाग्न शुरु गरेको केही समयमै विश्वभरका पूँजीवादीहरुले अनेकौं षडयन्त्र गरी समाजवादी क्रान्तिमा तकराब सिर्जना गरे । सोभियत संघका पूर्व शासकहरु मिखायल गोर्भाचोभ र बोरिस एल्सिन जस्ताले पूँजीवादी धार पक्रेसंगै समाजवादी झण्डा पतन हुन पुगे । नयाँ पुस्तालाई क्रान्तिकारी धारमा हिड्न लगाउन नसक्दा सो परिणति भोग्नु परेको थियो । क्रान्तिकारी भावना ह्रास भएका सोभियत युवाहरु पश्चिमा संस्कृतिमा रमाउन थाले । मेहनत गरी खाने र समाजवादी आचरणमा जिउने परिपातिको ह्रास भयो । जसले गर्दा केन्द्र र ग्राममा पनि समाजवाद पतनको दिशातिर अगाडि बढे । परिणाम आज रुस जस्तो महान नेता लेनिनको देशमा समाजवाद पतन भइसकेको छ ।

क्रान्ति गर्न त्यति सजिलो छैन । तर क्रान्तिलाई पतन गराउन भने केही षडयन्त्रकारीहरुकै कारण सफल भयो । आज विश्वभर समाजवादी देश रुसमा कसरी अक्टोबर क्रान्ति सफल भयो । र त्यसको सत्तरी वर्षमा कसरी पतन हुन पुग्यो भनी अध्ययन हुने गरेको छ । समाजवाद आएर पनि पुनः पूँजीवाद लागू हुन सक्दा रहेछन् भन्ने कुरा रुसमा ७० वर्ष पछि देखा पर्यो । त्यहाँ लेनिनको शालिक ढाल्यो । आज पुनः त्यहाँका सर्वहारा वर्गले खान, लाउन र बस्न धौधौ परिरहेको अवस्था छ । सुखमा रमाउने सोचमा कुथाराघात भएको छ । पश्चिमा जगतको प्रभावले झिलिमिलि र मोजमस्ति गरी हिड्ने सोचका कारण समाजवादी गणतन्त्र नै पतन भएकोमा अहिले पश्चाताप गरिरहेका छन् । दुई छाक खान कुनै समस्या नभएका बहुसंख्यक सोभियत रुसका जनताले अहिले पूँजीवादीलाई सरापिरहेको अवस्था छ ।
पहिलो विश्वयुद्ध लगतै रुसमा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएर कामदार वर्गको शासन र सर्वहारा वर्गको अधिनायकत्व स्थापना भयो । त्यसलाई निमित्यान्न पार्न भित्र भित्र निकै धेरै अगाडिदेखि खेल शुरु भयो । निर्वाचित राष्टपतिबाटै पेरिस्टोइका नीति लागू गरी उदारबादतर्फ देश अगाडि बढ्न थाल्यो । त्यसले पूँजीवाद हावी भयो र समाजवादी गणतन्त्र सखाप हुन पुग्यो । आज रुसमा समाजवाद पतन भएर जनता भोक भोकै मरिरहेको अवस्था छ । चीन, क्यूवा, उत्तर कोरिया, भियतनाम लगायतका समाजवादी राष्ट्रहरुमा कोही पनि खान नपाएर मर्ने स्थिति सिर्जना भएको छैन । कामको ग्यारेन्टी छ । रोजगार प्रत्येकलाई अनिवार्य छ । काम नगरी खाने मूर्ख ठहर्छ । रोगी, भोका, बेरोजगार, असहायहरु देख्न पाउँदैन । तर रुसमा त्यो अवस्था अब रहेन । पूँजीवादमा बलियोको न्याय हुने गरिन्छ ।
क्रान्तिको भावना अगाडि सारेर काम गर्न नसक्दा रुसमा समाजवाद पतन भएको हो । तर त्यसलाई अस्थायी हारको रुपमा लिने गरिएको छ । त्यो सदाको लागि पतन भएको नभएर जनता प्रशिक्षित भएर पुनः खान लाउन र बस्नको लागि नियमति संघर्ष गरेको खण्डमा अवश्य पनि देशमा क्रान्ति सफल हुन्छ भन्ने सिद्धान्त रुसमा पनि पुनः लागू हुन सक्दछ । बरु जनतालाई शिक्षित पार्न र पार्टी कार्यकर्ताहरुलाई क्रान्तिकारी काम कुरामा लगाउन सक्ने एक क्रान्तिकारी पार्टीको भने जहिले पनि खाँचो भइरहेको हुन्छ । सजिलो बाटो खोज्ने बानीका कारण मानिसहरु पतन हुने गर्दछन् । रुसमा भएको अस्थायी हारलाई पनि त्यही दर्जा दिन सकिन्छ । नेपालमा पनि नेकपा, एमाले, राप्रपा जस्ता पार्टीहरु परम्परागत वा पूँजीवादी पार्टी नै हुन् । उनीहरुले देशमा आमूल परिवर्तन चाहेका छैनन् । यदि नेकपा एमाले जस्तो बहुमत जनताले विश्वास गरेको पार्टी रुसको बोल्सेविक पार्टी जस्तै क्रान्तिकारी धारको पार्टी भइदिएको भए रुसमा फेब्रुअरी क्रान्ति पछि नै अक्टोबर समाजवादी क्रान्ति सफल भए जस्तै एमालेले पनि समाजवादी क्रान्तिको बाटोमा लाग्ने थिए । तर नामले कम्युनिष्ट भएपनि ती पार्टीहरु आखिर पूँजीवादी पार्टीको रुपमा आफूलाई सत्तामा लिप्त गर्न सफल भए ।

रुसमा अक्टोबर क्रान्ति सफल भएपछि रुसमा मात्रै होइन कि एशिया, ल्याटिन अमेरिका, यूरोप र अफ्रीकामा समेत समाजवादको लहर छाएको थियो । दोस्रो विश्व युद्ध पछि त सोभियत संघ संगसंगै चीन, उत्तर कोरिया, भियतनाम, क्यूवा र ल्याटिन अमेरिकी देशहरुमा पनि समाजवादको झण्डा फहरियो । समाजवादी ब्यवस्था मानव समाजको सर्वोत्तम ब्यवस्था हो । यो ब्यवस्थामा सबै जनताले काम, माम र शिक्षा स्वास्थ्यको ग्यारेन्टी हुने भएर नै यो ब्यवस्थालाई सर्वोच्च ब्यवस्था भनिएको हो । धनीले जति खाए पनि पुग्ने तर गरिब भोक भोकै मर्ने जस्तो असमान ब्यवस्था समाजवाद लागू भएको देशको ब्यवस्था भित्र पर्दैन । बरु पूँजीवादी ब्यवस्थामा असमान खालका धैरै चीजहरु हुन्छन् । योग्यता अनुसारको काम र काम अनुसारको ज्याला पाउने ब्यवस्था समाजवादी ब्यवस्था हो । पूँजीवाद र समाजवादको भेद छुत्याएर जननतालाई समाजवादी क्रान्तिको लागि तयार गर्न सकेको खण्डमा नेपालमा पनि समाजवादी क्रान्ति चाँडो सम्पन्न हुन सक्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *