प्रमुख प्रजापतिद्वारा दुई दिने प्राथमिक उपचार तालिम उद्घाटन

विचार समाचार

भक्तपुर, १८ असार


भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिशु स्याहार तथा बालबालिका केन्द्रको आयोजनामा केन्द्रमा कार्यरत शिक्षिकाहरुको लागि दुई दिने प्राथमिक उपचारबारे तालिम सञ्चालन गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार उक्त तालिमको उद्घाटन गरे ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले तालिम सफलताको कामना गर्दै शिक्षालाई उच्च प्राथमिकतामा राख्दै सञ्चालित भक्तपुर भक्तपुर नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुले अरु संस्थाको तुलनामा गुणस्तरीय र सस्तोमा शिक्षा प्रदान गर्दै आइरहेको बताए । असल गुरु बन्न असल शिष्य बन्नुपर्छ भन्दै उनले प्राथमिक उपचार भनेको जीवन उपयोगी हुने हुँदा तालिमको व्यवहारिक प्रयोगको निम्ति जोड दिनुपर्ने बताए ।
भक्तपुर नपाको हरेक गतिविधिहरुमा भक्तपुरबासीहरुको स्वतःस्फूर्त साथ र सहयोग रहँदै आएको बताउदै नगर प्रमुख प्रजापतिले शिक्षिकाहरुमा समयअनुसारको प्राविधिक ज्ञानको खाँचो आवश्यक हुने बताए ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नपाद्वारा सञ्चालित शिशु स्याहार केन्द्रहरुको स्तरोन्नति गर्दै बालबालिकाहरुलाई असल व्यवहार र भाषाहरु सिकाउन अभिप्रेरित गरे । उनले भने अभिभावकले आफ्ना कलिलो बालबालिकाहरु हुर्काउने जिम्मा शिक्षिकाहरु दिएको हुन्छ । त्यसैले अभिभावकमा सकारात्मक छाप छोड्ने राम्रो माध्यम शिशुस्याहार केन्द्रहरु हुनुपर्छ । भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले शिशु स्याहार केन्द्र बालबालिकाको सर्वाङ्गीन विकास गर्ने थलो भएको हुँदा अभिभावकलाई नजिक राखेर काम गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्रका डा. बालकृष्ण चाँगुभारीले प्राथमिक उपचारबारे जानकारी दिए भने शिशु स्याहार तथा बालबालिका केन्द्र प्रमुख दिपेन्द्र प्रजापतिले पनि आफ्नो धाराणा व्यक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *