स्वास्थ्यकर्मी कुट्ने प्रहरीले मागे माफी

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

इटहरी, ६ बैशाख

धरान २० विष्णुपादुका स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट चन्द्रप्रकाश खनाललाई कुट्ने प्रहरीले माफी मागेका छन्। पानमारा चौकीका प्रमुख सई भेषबहादुर राउतले शुक्रबार दिउँसो धरान उपमहानगरमा माफी मागेका हुन्।

बिहीबार बिहान बिरामीको घरैमा नियमित ड्रेसिङ गर्न जाने क्रममा खनालमाथि सई राउतले कुटपिट गरेका थिए। आफू स्वास्थ्यकर्मी भएको जानकारी गराउँदै परिचयपत्र देखाउँदा समेत प्रहरीले कुटपिट गरको भन्दै उनी उपमहानगरको कार्यालय पुगेका थिए। बिहीबार ठोस निचोड निस्कन नसकेपछि शुक्रबार थप छलफल भएको थियो।

उपमहानगरपालिका कार्यलयमा भएको छलफलमा मेयर तिलक राई, उपमेयर मन्जु भण्डारी, इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेसहित पिडित र पीडक सहभागी थिए।

उपमहानगरका स्वास्थ्य शाखा प्रमुख उमेश मेहेताका अनुसार छलफलको क्रममा राउतले आफूबाट गल्ती भएको भन्दै माफी मागेका थिए। प्रहरीबाट गल्ती भएको र यस्तो विषम परीस्थितिमा एक अर्का बीच मिलेर जानुपर्ने भन्दै धरानका डिएसपी न्यौपानेले समेत क्षमायाचना गरेका थिए।

छलफलपछि स्वास्थ्यकर्मी खनाललाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य जाँच गराइएको मेहेताले बताए। स्वास्थ्य परीक्षण र औषधिको खर्च इलाका प्रहरी कार्यालय धरानले व्यहोरेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *