वागीश्वरी परिवारको भेटघाट कार्यक्रम सम्पन्न

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
काभ्रे, २३ पुस

२१ औं शताब्दी समाजवादको युग हुने निश्चित–अध्यक्ष बिजुक्छेँ

 

वागीश्वरी मा.वि.÷कलेजको आयोजनामा बल्थली माउण्टेन रिसोर्ट, काभ्रेमा वागीश्वरी परिवारको भेटघाट कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
कार्यक्रममा मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभामा नेपाल मजदुर किसान पार्टीको तर्फबाट निर्वाचित सांसदहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।


कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का.नारायणमान बिजुक्छेँ(रोहित)ले २१ औं शताव्दी विश्वमै समाजवादी व्यवस्थाको विजय हुने बताए । विचार र सिद्धान्त नछोडी निस्वार्थ रुपमा काम गर्नु हाम्रो कर्तव्य बताउँदै उनले पूँजीवादी व्यवस्थामा धनीहरु नाफाका लागि जे पनि गर्ने औंल्याए । उनले २१औं शताब्दीमा विद्यार्थीहरुलाई भूगोल, इतिहाससँगै राजनीतिक रुपमा सचेत र संगठित गर्नुपर्ने बताए ।

अनैतिक सत्ता गठबन्धन गर्ने एमाले, माओवादी नाम अनुसार काम नगर्ने पार्टी भएको उनको ठहर छ । साथै उनले विद्यालय तहबाटै पोषण तत्वका बारेमा शिक्षा दिए रोग नलाग्ने बताउँदै सरकारले यस्तो कार्यक्रम कहिल्यै नल्याएको स्पष्ट पारे । धनीहरु गरिवका छोराछोरी पढ्ने त्रिभुवन विश्वविद्यालय ध्वस्त पारेको प्रति सचेत बन्नुपर्ने बताउँदै हाम्रो शिक्षा नीतिले वहुसंख्यक जनताको हित हुने काम गर्नुपर्ने औंल्याए ।
कार्यक्रमका विशेष अतिथि वागमती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले विद्यालयलाई नमूना बनाउन विद्यालयको पनि होल बडी चेक अप गर्नुपर्ने बताए । उनले शिक्षक प्राध्यापकहरुले वार्षिक रुपमा पठन संस्कृतिको आत्ममूल्यांकन गर्नुपर्ने बताए । खोज तथा अनुसन्धानमूलक कार्यका लागि शिक्षकहरु अघि बढ्नुपर्ने बताउँदै उनले नयाँ सोच र सृजनात्मक कार्यमा लाग्न प्रोत्साहित गर्नुपर्ने बताए । पूँजीवादले जन्माएका हरेक बेथिति, विसंगतिलाई वागीश्वरीले केलाउँदै जानुपर्ने बताउँदै उनले नेमकिपाको विचार र सिद्धान्तमा अडिग भई प्रदेश सभामा संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेश सभा सदस्य गीता काफ्लेले नेमकिपाको घोषणापत्र, माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधारा र पार्टीको निर्णयलाई आत्मसात गर्ने बताए ।


कार्यक्रममा वागीश्वरी प्लस टु र कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरीका हरेक पाइलामा परीक्षा भइरहेको भन्दै वागीश्वरीको प्रगति देख्न नचाहनेसँग खरो रुपमा प्रस्तुत हुनुपर्ने बताए । उनले वागीश्वरीका परिवारले इमान्दारिताका साथ काम गरेकै कारण नमूना बन्न सफल भएको बताउँदै शब्दले भन्दा काम र व्यवहारले देखाइरहेको बताए । साथै लोभ र पापको फोहोर लाग्न नदिन वागीश्वरीको क्रियाकलाप नियमित रुपमा गरिरहनुपर्ने औंल्याए ।
वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्यक्रमको सभापतित्व ग्रहण गर्दै आत्मनिर्भरताले हामीलाई अघि बढ्न हौसला प्रदान गरेको बताए । शर्तसहितको सहयोग नलिएको उल्लेख गर्दै उनले एनजीओ र आइएनजीओले आफ्नो नियन्त्रणमा राख्न खोजेकोप्रति सतर्क बन्नुपर्ने बताए । अल्छीले प्रगति गर्न नसक्ने विचार राख्दै उनले वागीश्वरी परिवारले कहिल्यै अल्छी नमानेको स्पष्ट पारे । साथै उनले देशको निर्वाचन परिणामले जनता अझै सचेत नभएको बताउँदै वागीश्वरीले देशैभरका लागि राम्रो सन्देश दिइरहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले विद्यालयको स्थापनाको इतिहास कसैले बिर्सन नहुने बताउँदै उनले वागीश्वरी देशभरकै शैक्षिक गन्तव्यका रुपमा रहेको बताए । अग्रजले पढाइसँगै राजनीतिक चेतना दिएको स्मरण गर्दै उनले नयाँ पुस्तालाई पनि यसका बारेमा सन्देश दिनुपर्ने बताए ।
प्रमुख अतिथि र कलेज व्यवस्थापन समितिका अध्यक्षबाट नेमकिपाका तर्फबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुलाई सम्मान गरेको उक्त कार्यक्रममा प्रधानाध्यापक कृष्ण प्रसाद धन्छा र कृष्ण प्रसाद कर्माचार्यले निर्वाचितलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *