लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय, बैशाख १८ गतेसम्म सीमा नाका नखुल्ने

राजनीति विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्‍दै सरकारले चैत ११ देखि लकडाउन गरेकाे  हाे । सुरुमा एक हप्ताका लागि गरिएको लकडाउन बढाउँदै वैशाख ३ गतेसम्म  कायम राखिएको थियो ।

लकडाउन सकिनु एक दिनअघि बसेको मन्त्रिपरिषद बैठकले थप १२ दिन लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउनको समयमा खाद्यवस्तु किन्न र आकस्मिक कामले अस्पताल जान दिने तर अन्य कामका लागि बाहिर निस्कन प्रहरीले रोक्ने गरेको छ ।

नेपालमा हालसम्म १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो समय मंगलबार काठमाडौं पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सरकारले भारतसँगको सिमानामा अझ कडाई गर्ने भएको छ ।

मन्त्रिपरिषदको मंगलबारको बैठकमा भारतमा कोरोना भाइरस संक्रमण फैलिदो अवस्थामा रहेकाले सीमा क्षेत्रमा थप सुरक्षा तैनाथीसहित कडाई गर्ने बारेमा छलफल भएको हो । लकडाउनलाई आन्तरिक रुपमा थप कडाई गर्दै सीमा क्षेत्रमा अझ निगरानी गर्न लागिएको हो ।

एक मन्त्रीका अनुसार भारतमा महामारी अन्त्य भएर सामान्य अवस्थामा नफर्केसम्म सीमा नाका बन्द नै राख्ने र सुरक्षा तैनाथी बढाउने निर्णय भएको छ । सीमा नाबाट लुकिछिपी कसैलाई पनि आवतजावत गर्न नदिन विशेष सतर्कता अपनाइएको र त्यसमा थप शक्ति केन्द्रित गरिने ती मन्त्रीले बताए ।

उनले भने ‘अहिलेको अवस्थामा हामीलाई सबैभन्दा ठूलो खतरा भारतबाट आउनेहरुबाटै देखियो । आएकाहरुको पहिचान गरेर सबैको परीक्षण गराउने क्रम चलिरहेको छ । सीमा नाका वैशाख १८ सम्म बन्द गर्ने भनिएको छ तर त्यो भनेको भारत सामान्य अवस्थामा नपुगेसम्म जारी रहन्छ ।’

मन्त्रिपरिषद बैठकमा काठमाडौंबाट राति राति हिँडेर विभिन्न गन्तव्यमा गइरहेकाहरुको बारेमा पनि छलफल भएको थियो । अब त्यसमा पनि सरकारले कडाइ गर्ने भएको छ । जो जहाँ पुगेका छन् उनीहरुलाई स्थानीय तहमार्फत खाने बस्ने व्यवस्था गर्ने र अरुलाई निस्कन नदिने रणनीति सरकारले बनाएको छ ।

हिँडेर घर जानेमा खानै नपाएका र लकडाउन लम्बिन्छ भनेर आत्तिएका दुवैखाले मान्छे रहेको सरकारको विश्लेषण छ । काठमाडौंमा राहत वितरणलाई अझ व्यवस्थित बनाउन खानै नपाउने अवस्थामा पुगेकाहरुको पहिचान वडामार्फत अझ मिहिन ढंगले गर्नुपर्ने देखिएको ती मन्त्रीले बताए ।

मन्त्रिपरिषदमा विभिन्न विकास परियोजनामा कार्यरत श्रमिकहरुलाई सुरक्षित ढंगले काममा लगाउने र त्यस्ता परियोजनाहरु चालु राख्ने बारेमा छलफल भएको छ । त्यसो गर्दा विकास आयोजना सञ्चालन पनि हुने र मजदुरको व्यवस्थापन पनि हुने सरकारको विश्लेषण छ । जलविद्युत, सडक निर्माणलगायतका ठूला परियोजनाका काम सुरक्षा विधि अपनाएर जारी राखिने भएको छ ।

मन्त्रिपरिषद बैठकमा काठमाडौंका सनसिटी अपार्टमेन्टमा संक्रमित भेटिएपछिको अवस्थाका बारेमा पनि छलफल भएको छ ।

सनसिटी अपार्टमेन्ट सिल गरिसकेको र सबैलाई परीक्षण गरेर क्वारेन्टिनमा राखिने भएको छ । त्यस्तै परीक्षणको दायरा बढाउदै लगिएको र यसलाई अबका दुई सातामा हजारौंमा पुर्‍याउने सरकारको तयारी छ ।

सरकारले सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर २ कोरोना संक्रमणको उच्च जोखिममा रहेको ठहर गर्दै ती क्षेत्रमा एक्सन टिम पठाउने भएको छ । स्वास्थ्यकर्मीको संख्या पनि त्यहाँ थपिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *